कामदार भिसाको लोटरी प्रणालीमा परिवर्तन, सयौं नेपालीहरु प्रभावित हुनसक्ने
प्रकाशित मिति : पुस ७, २०८२ मंगलबार
ट्रम्प प्रशासनले वार्षिक ८५ हजार कामदार भिसा एचवान बी भिसाको लोटरी प्रणालीमा उल्लेखनीय परिवर्तन गरेको छ । नयाँ व्यवस्था अनुसार सरकारले दशकौँदेखि चल्दै आएको लोटरी प्रणालीलाई हटाएर बढी तलब हुनेलाई प्राथमिकता दिने नयाँ लोटरी प्रणाली लागू गर्ने भएको छ।
आगामी सोमबार अर्थात् डिसेम्बर २९ मा फेडरल रजिष्ट्ररमा प्रकाशित हुने र फेब्रुअरी २७ देखि लागु हुने तय भएको यो अन्तिम नियम अनुशार उच्च सीप भएका र धेरै तलब पाउने विदेशी कामदारहरूलाई प्राथमिकता दिन भिसा छनोट पारिश्रमिकको तहका आधारमा गरिने भएको छ । यसलाई टायर्ड प्रोब्याबिलिटी सिस्टम भनिएको छ ।
सबैभन्दा उच्च तलब हुनेहरु चौथो तहमा पर्नेछन् भने लोटरीमा उनीहरुको नाम ४ पटक समावेश गरिनेछ जसका कारण छनोट हुने सम्भावना धेरै हुनेछ । त्यस्तै तेस्रो तहमा ३ पटक, दोस्रो तहमा २ पटक र सबैभन्दा कम तलब हुने पहिलो तहमा १ पटक मात्र नाम समावेश हुनेछ । यो प्रणालीले उच्च तलब पाउनेहरूलाई फाइदा गर्ने भएपनि सरकारले कम तलब हुने कामदारहरूका लागि पनि लोटरीमा समावेश हुने मौका भने दिनेछ ।
पुरानो गोलाप्रथा प्रणालीको दुरुपयोग गर्दै कतिपय रोजगारदाताहरूले सस्तोमा विदेशी कामदार भित्र्याउने गरेका युएससीआईएसको भनाई छ । अब रोजगारदाताहरूले दर्ता प्रक्रियामा सही पहिचान र पेशागत विवरण अनिवार्य उपलब्ध गराउनुपर्नेछ। यदि कुनै रोजगारदाताले छनोट हुने सम्भावना बढाउन तलब वा कामको विवरण ढाँटेको पाइएमा त्यस्तो निवेदन रद्द गर्ने अधिकार युएससीआईएसलाई दिइएको छ।
वार्षिक ६५ हजार साधारण भिसा र अमेरिकी विश्वविद्यालयबाट उच्च शिक्षा हासिल गरेकाहरूका लागि थप २० हजार भिसाको कोटा यथावत रहनेछ। यो नयाँ नियम फेब्रुअरी २७, २०२६ देखि लागू हुने भएकाले आर्थिक वर्ष २०२७ को एच वान बी दर्ता सिजनमा पूर्ण रूपमा कार्यान्वयनमा आउनेछ। यसअघिको राष्ट्रपतीय घोषणा अनुसार केही निश्चित रोजगारदाताहरूले प्रति भिसा १ लाख डलर शुल्क तिर्नुपर्ने व्यवस्था समेत यस सुधारको हिस्सा रहेको छ।
नयाँ नियमले नेपालीहरुलाई पनि उल्लेख्य प्रभाव पार्नेछ । किनभने बार्षिक सयौं नेपालीहरुले ८५ हजारको कोटा अन्तरगत र बार्षिक सिमा नलाग्ने छुट अन्तरगत कामदार भिसा एचवानबी प्राप्त गर्दै आएका छन् । यो छुट कामको प्रकारमा नभई संस्थाको प्रकारमा भर पर्छ। मुख्यतया मान्यता प्राप्त सार्वजनिक वा गैर नाफामूलक विश्वविद्यालय र कलेजहरू, विश्वविद्यालयसँग आबद्ध गैर नाफामूलक संस्थाहरू, अस्पताल वा अनुसन्धान केन्द्रहरू, मुख्यतया वैज्ञानिक वा शैक्षिक अनुसन्धानमा केन्द्रित गैर नाफामूलक अनुसन्धान संस्थाहरू, सरकारी अनुसन्धान संस्थाहरूका लागि बार्षिक कोटा लाग्दैन । अर्थात् उनीहरुलाई लोटरीमा समेत समावेश हुनु पर्दैन ।
तर ठूलो संख्यामा नेपालीहरु अमेरिकामा विद्यार्थी भिसाको ओपीटीबाट कामदार भिसा एच वान बीमा जाने भएकाले उनीहरुका लागि समस्या हुनसक्ने कानुन व्यवसायी केशव सेडाईले जानकारी दिनुभएको छ । चौथो वा तेश्रो श्रेणीमा पर्नका लागि तलब बार्षिक २ लाखदेखि साढे २ लाख डलरभन्दा माथि हुनुपर्नेगरी तय गरिने भएकाले धेरै नेपाली विद्यार्थीहरुका लागि उच्च तलबका काम पाउन गाह्रो हुनसक्ने सेडाईले बताउनुभयो । अमेरिकी कम्पनीहरूले उच्च तलबमा केबल आइभी लिगका स्नातकहरूलाई काममा राख्नखोज्ने र साना कम्पनीहरुले कामदारको उच्च खर्च वहन गर्न सक्षम नहुने अवस्था आउनसक्ने समेत सेडाईको भनाई छ ।
यो भिसाको अवधि ३ बर्ष हुन्छ र ६ बर्षसम्म थप्न सकिने प्रावधान रहेको छ । त्यसपछि भिसावाहकले यहीभिसामा रहनका लागि पुन आवेदन दिनुपर्ने हुनसक्छ । यो भिसा सन् १९९० को अध्यागमन ऐन अन्तरगत श्रृजना गरिएको हो । यद्यपी अमेरिकामा सन् १९५२ को अध्यागमन तथा राष्ट्रियता ऐनले नै एच वान भिसाको श्रृजना गरेको थियो । तर पनि सन् १९९० पछि नर्सहरुका लागि एचवान ए र अन्यका लागि एचवान बी छुट्याइएको थियो ।
हरेक बर्ष कति नेपालीको कामदार भिसा एचवानबी पिटिसन स्वीकृत हुन्छ?
युएससीआईएसको तथ्यांक अनुशार आर्थिक बर्ष २०२४ मा २१५७ जना नेपालीहरुको कामदार भिसा एचवानबी पिटिसन स्वीकृत भएको थियो, जसमा ६०१ महिला र १५५४ पुरुषहरु थिए । २१५७ जनामध्ये सुरुवाती जागिर खानेहरु १२३३ जना थिए भने ९२४ जना रोजगारलाई निरन्तरता दिनेहरु थिए । यद्यपी यीमध्ये कतिजना लोटरीबाट छनौट भएका थिए र कतिजनाले कोटा छुट अन्तरगत विना लोटरी कामदार भिसा पाएका थिए भन्ने स्पष्ट छैन । कुल संख्या र सुरुवाती जागिर खानेमा नेपालीहरु विश्वका विभिन्न देशका नागरिकमा ११ औं नम्बरमा थिए भने रोजगारलाई निरन्तरता दिनेमा विश्वका विभिन्न देशका नागरिकमा १० औं नम्बरमा थिए ।
त्यस्तै आथिक बर्ष २०२३ मा १९६२ जना नेपालीहरुका कामदार भिसा एच वान बी पिटिसनहरु स्वीकृत भएका थिए । उक्त बर्ष कामदार भिसा एचवान बी पिटिसन स्वीकृत हुनेमा नेपालीहरु विश्वमा दशौं नम्बरमा थिए । स्वीकृत १९६२ पिटिसनमध्ये ५५४ महिला र १४०५ पुरुष थिए । त्यसमध्ये नयाँ रोजगारी सुरु गर्नेहरु १०२६ जना थिए भने रोजगारीलाई निरन्तरता दिनेहरु ९३६ जना थिए । कुल नम्बर, नयाँ रोजगारी सुरु गर्ने र रोजगारीलाई निरन्तरता दिनेमा नेपालीहरु टपटेनमा परेका थिए ।
आर्थिक बर्ष २०२२ मा पनि नेपालीहरु एचवान बी पिटिसन स्वीकृत हुनेमा टपटेनमा परेका थिए । उक्त बर्ष कुल २०५७ जना नेपालीहरुको कामदार भिसा एचवान बी पिटिसन स्वीकृत भएको थियो भने त्यसमध्ये ११९५ जना नयाँ रोजगारी सुरु गर्नेहरु र ८६२ जना रोजगारीलाई निरन्तरता दिनेहरु थिए । आर्थिक बर्ष २०२१ मा पनि नेपालीहरु एचवान बी पिटिसन स्वीकृत हुनेमा टपटेन दशौं नम्बरमा परेका थिए । उक्त बर्ष कुल १५८४ जना नेपालीहरुको कामदार भिसा एचवान बी पिटिसन स्वीकृत भएको थियो भने त्यसमध्ये ८४८ जना नयाँ रोजगारी सुरु गर्नेहरु र ७३६ जना रोजगारीलाई निरन्तरता दिनेहरु थिए ।
आर्थिक बर्ष २०२० मा भने एचवान बी पिटिसन स्वीकृत हुनेमा नेपालीहरु ११ औं नम्बरमा थिए । उक्त बर्ष कुल १६०५ जना नेपालीहरुको कामदार भिसा एचवान बी पिटिसन स्वीकृत भएको थियो भने त्यसमध्ये ९१५ जना नयाँ रोजगारी सुरु गर्नेहरु र ६९० जना रोजगारीलाई निरन्तरता दिनेहरु थिए । त्यस्तै आर्थिक बर्ष २०१९ मा कुल १४०७ जना नेपालीहरुको कामदार भिसा एचवान बी पिटिसन स्वीकृत भएको थियो भने त्यसमध्ये ७८० जना नयाँ रोजगारी सुरु गर्नेहरु र ६२७ जना रोजगारीलाई निरन्तरता दिनेहरु थिए । आर्थिक बर्ष २०१८ मा कुल १२०७ जना नेपालीहरुको कामदार भिसा एचवान बी पिटिसन स्वीकृत भएको थियो भने त्यसमध्ये ५९७ जना नयाँ रोजगारी सुरु गर्नेहरु र ६१० जना रोजगारीलाई निरन्तरता दिनेहरु थिए ।
आर्थिक बर्ष २०१७ मा कुल १२७९ जना नेपालीहरुको कामदार भिसा एचवान बी पिटिसन स्वीकृत भएको थियो भने त्यसमध्ये ४६२ जना नयाँ रोजगारी सुरु गर्नेहरु र ८१७ जना रोजगारीलाई निरन्तरता दिनेहरु थिए । आर्थिक बर्ष २०१६ मा कुल १५०१ जना नेपालीहरुको कामदार भिसा एचवान बी पिटिसन स्वीकृत भएको थियो भने त्यसमध्ये ६०३ जना नयाँ रोजगारी सुरु गर्नेहरु र ८९८ जना रोजगारीलाई निरन्तरता दिनेहरु थिए । आर्थिक बर्ष २०१५ मा कुल १३८५ जना नेपालीहरुको कामदार भिसा एचवान बी पिटिसन स्वीकृत भएको थियो भने त्यसमध्ये ६६६ जना नयाँ रोजगारी सुरु गर्नेहरु र ७१९ जना रोजगारीलाई निरन्तरता दिनेहरु थिए ।
आर्थिक बर्ष २०१४ मा कुल १७३५ जना नेपालीहरुको कामदार भिसा एचवान बी पिटिसन स्वीकृत भएको थियो भने त्यसमध्ये ७६९ जना नयाँ रोजगारी सुरु गर्नेहरु र ९६६ जना रोजगारीलाई निरन्तरता दिनेहरु थिए । आर्थिक बर्ष २०१३ मा कुल १६५२ जना नेपालीहरुको कामदार भिसा एचवान बी पिटिसन स्वीकृत भएको थियो भने त्यसमध्ये ८४४ जना नयाँ रोजगारी सुरु गर्नेहरु र ८०८ जना रोजगारीलाई निरन्तरता दिनेहरु थिए ।
आर्थिक बर्ष २०१२ मा कुल १६३६ जना नेपालीहरुको कामदार भिसा एचवान बी पिटिसन स्वीकृत भएको थियो भने त्यसमध्ये ९३२ जना नयाँ रोजगारी सुरु गर्नेहरु र ७०४ जना रोजगारीलाई निरन्तरता दिनेहरु थिए । आर्थिक बर्ष २०११ मा कुल १५६६ जना नेपालीहरुको कामदार भिसा एचवान बी पिटिसन स्वीकृत भएको थियो भने त्यसमध्ये ७१९ जना नयाँ रोजगारी सुरु गर्नेहरु र ८४७ जना रोजगारीलाई निरन्तरता दिनेहरु थिए ।
आर्थिक बर्ष २०१० मा कुल १०७२ जना नेपालीहरुको कामदार भिसा एचवान बी पिटिसन स्वीकृत भएको थियो भने त्यसमध्ये ५०० जना नयाँ रोजगारी सुरु गर्नेहरु र ५७२ जना रोजगारीलाई निरन्तरता दिनेहरु थिए । आर्थिक बर्ष २००९ मा कुल १२३१ जना नेपालीहरुको कामदार भिसा एचवान बी पिटिसन स्वीकृत भएको थियो भने त्यसमध्ये ६६८ जना नयाँ रोजगारी सुरु गर्नेहरु र ५६३ जना रोजगारीलाई निरन्तरता दिनेहरु थिए ।
आर्थिक बर्ष २००८ मा कुल १४०६ जना नेपालीहरुको कामदार भिसा एचवान बी पिटिसन स्वीकृत भएको थियो भने त्यसमध्ये ७८३ जना नयाँ रोजगारी सुरु गर्नेहरु र ६२३ जना रोजगारीलाई निरन्तरता दिनेहरु थिए । आर्थिक बर्ष २००७ मा कुल १२७४ जना नेपालीहरुको कामदार भिसा एचवान बी पिटिसन स्वीकृत भएको थियो भने त्यसमध्ये ७२९ जना नयाँ रोजगारी सुरु गर्नेहरु र ५४५ जना रोजगारीलाई निरन्तरता दिनेहरु थिए । यसरी आर्थिक बर्ष २००७ देखि नेपालीहरु अमेरिकाको कामदार भिसा एचवान बी पिटिसन स्वीकृत हुनेमा टप २० भित्र पर्दै आएका छन् ।






