अमेरिकी दूतावासहरूबाट पनि डाइभर्सिटी भिसा जारी गर्ने प्रक्रिया स्थगित


प्रकाशित मिति : पुस ४, २०८२ शनिबार

US embassy Nepal

अमेरिकाको डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीअन्तर्गत युएससीआईएसले डाइभर्सिटी भिसा कार्यक्रम स्थगित गरेलगत्तै अमेरिकी दूतावासहरूबाट पनि डाइभर्सिटी भिसा जारी गर्ने प्रक्रिया रोकिएको छ। अमेरिकी विदेश मन्त्रालयले डाइभर्सिटी भिसा कार्यक्रमलाई अनिश्चितकालका लागि स्थगित गरिएको पुष्टि गरेको हो।

विदेशमन्त्री मार्को रुबियोका अनुसार, अमेरिकामा कस्ता व्यक्तिहरूलाई प्रवेश दिनु भन्ने विषयमा पूर्ण रूपमा निश्चित नभएसम्मका लागि डाइभर्सिटी भिसा जारी प्रक्रिया रोकिएको हो। यो निर्णयपछि अब डाइभर्सिटी भिसा अन्तर्वार्ता कुरिरहेका वा अन्तर्वार्तापछि भिसाको प्रतिक्षामा रहेका व्यक्तिहरूले तत्काल भिसा नपाउने भएका छन्।

डिभी–२०२६ का लागि भिसा प्रक्रियामा ३,९३३ जना नेपालीहरू चयन भएका छन्, जुन एशियामा तेस्रो स्थानमा पर्छ। एशियामा सबैभन्दा बढी अफगानिस्तानका ४,२०० र इरानका ४,१३७ जनाले डिभी लटरी पाएका छन्। फेब्रुअरीका लागि डिभी विजेता नेपालीहरूको केस नम्बर बढाएर ६,५०० बनाइएको छ, जसका कारण उनीहरू भिसा अन्तर्वार्ताको प्रतिक्षामा रहेका छन्।

शुक्रबार बिहान ‘खसोखास’लाई प्रतिक्रिया दिँदै विदेश मन्त्रालयका प्रवक्ताले अमेरिकी होमल्याण्ड सेक्युरिटीले डाइभर्सिटी भिसा कार्यक्रम अस्थायी रूपमा स्थगित गरेपछि विदेश मन्त्रालयले सो विषयमा होमल्याण्ड सेक्युरिटीसँग नजिकको समन्वयमा काम गरिरहेको बताएका थिए ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

प्रवक्ताले भनेका थिए, “यस हप्ता भएका भयानक घटनाहरूले डाइभर्सिटी भिसा कार्यक्रमले अमेरिकी सुरक्षा र सुरक्षामा निम्त्याउन सक्ने जोखिम स्पष्ट देखाएका छन्, जसलाई सुधार्न राष्ट्रपति ट्रम्प लामो समयदेखि प्रयासरत रहनुभएको छ। मन्त्रालयले अमेरिकालाई यस्ता खतराबाट जोगाउन आवश्यक सबै उपायअपनाउन होमल्याण्ड सेक्युरिटीसँग समन्वय गरिरहेको छ।”

लगत्तै अमेरिकी दूतावासहरूले डाइभर्सिटी भिसा जारी गर्ने कार्य रोकिएको विदेश मन्त्रालयले सार्वजनिक गरेको हो। तर पहिले नै भिसा प्राप्त गरेका व्यक्तिहरू अमेरिका प्रवेश गर्न पाउने वा नपाउने भन्नेबारे अझै स्पष्ट गरिएको छैन। ‘खसोखास’ले यसबारे अमेरिकी कस्टम्स एन्ड बोर्‍डर प्रोटेक्सन (CBP) सँग सोधपुछ गर्दा, सीबीपीले सीधा उत्तर नदिई युएससीआईएससँग सम्पर्क गर्न सिफारिस गरेको थियो।

युएससीआईएसले भने, “राष्ट्रपति ट्रम्प र सेक्रेटरी नोएमको निर्देशनमा अपराधी विदेशीहरूबाट अमेरिकीहरूलाई जोगाउन युएससीआईएसले डाइभर्सिटी भिसा कार्यक्रममा आफ्नो भूमिका तुरुन्तै स्थगित गरेको छ। यो कार्यक्रम सुरक्षा चिन्ताहरू बढाउँदै गएको छ, किनभने यसले सहभागी देशहरूबाट अनुपयुक्त व्यक्तिहरू आकर्षित गर्न सक्छ। अमेरिकाले यसमार्फत आतंकवादी, हत्यारा वा कानुन उल्लंघन गर्नेहरूलाई आवासन दिन सक्दैन।”

डिभी कार्यक्रम स्थगनसम्बन्धी आदेश बिहीबार होमल्याण्ड सेक्युरिटी सेक्रेटरी क्रिस्टी नोएमले जारी गरेकी थिइन्। उनले युएससीआईएसलाई कार्यक्रम तुरुन्तै रोक्न निर्देशन दिएकी थिइन्। यो निर्णय ब्राउन विश्वविद्यालयमा भएको घातक गोलीकाण्डपछि आएको हो, जहाँ संदिग्ध क्लाउडियो म्यानुएल नेभेस भ्यालेन्टे सन् २०१७ मा डिभी लटरीमार्फत अमेरिका प्रवेश गरी पछि ग्रिन कार्ड प्राप्त गरेका व्यक्ति थिए।

सेक्रेटरी नोएमले डिभी कार्यक्रमलाई “विनाशकारी” भन्दै अमेरिकी सुरक्षाका लागि खतराको रूपमा चित्रण गरेकी छन्। उनले पछिल्ला घटनालाई विगतका त्रासदीहरूसँग जोडेकी छन्, विशेष गरी २०१७ को न्यूयोर्क सहरको ट्रक आक्रमणलाई सन्दर्भ गर्दै भनिन्, “यस्ता जघन्य अपराधीहरूलाई हाम्रो देशमा कहिल्यै अनुमति दिनु हुँदैनथ्यो।” उनले थपिन्, “अर्को कुनै पनि अमेरिकीलाई हानि नपुगोस् भनेर म तुरुन्तै डिभी कार्यक्रम रोक्न निर्देशन दिँदैछु।”

नोएमका अनुसार, यो कदम राष्ट्रपति ट्रम्पको निर्देशनमा चालिएको हो, जसले लटरीमा आधारित आप्रवासन प्रणालीविरुद्धको प्रशासनको दीर्घकालीन विरोधलाई प्रतिनिधित्व गर्छ। पहिलो कार्यकालमै राष्ट्रपति ट्रम्पले योग्यतामा आधारित आप्रवासन प्रणालीको पक्षमा डिभी कार्यक्रम समाप्त गर्न माग गरेका थिए। २०१७ को न्यूयोर्क ट्रक हमलापछि उनले संसदलाई डिभर्सिटी भिसा कार्यक्रम समाप्त गर्न आग्रह गरेका थिए। उक्त घटनामा उज्बेकिस्तानका डिभी-मार्फत आएका २९ वर्षीय सेफुल्लो साइपोभ संलग्न थिए, जसबाट आठ जनाको ज्यान गएको थियो।

ट्रम्पले त्यस वर्ष रिपब्लिकन सिनेटर टम कटन र डेभिड पर्ड्युले प्रस्तुत गरेको “रेज एक्ट” विधेयकको समर्थन गरेका थिए। उक्त विधेयकले परिवार-आधारित आप्रवासन घटाउने, रोजगार-आधारित प्रणाली संशोधन गर्ने र डिभी कार्यक्रम खारेज गर्ने प्रस्ताव राखेको थियो, तर पारित हुन सकेको थिएन। २०१८ मा दर्ता गरिएको अर्को विधेयक पनि असफल भएको थियो।

राष्ट्रपति ट्रम्पले कार्यकारी आदेशमार्फत डिभी लटरी समाप्त गर्न सक्ने कानुनी अधिकार राख्दैनन्। उनले आफ्नो कार्यकालमा डिभी भर्नेहरूको लागि पासपोर्ट अनिवार्य गर्ने नियम ल्याएका थिए, तर अदालतले उचित प्रक्रिया नअपनाएको भन्दै त्यसलाई खारेज गरेको थियो। हाल सो प्रक्रिया फेरि अघि बढाइँदैछ। डिभी कार्यक्रम सन् १९९० को इमिग्रेशन एक्ट अन्तर्गत स्थापित भएको हो, जसले कम आप्रवासन दर भएका देशका नागरिकहरूलाई हरेक वर्ष ५५,००० भिसा उपलब्ध गराउँछ।

अघिल्लो कार्यकालमा ट्रम्पले लिएका प्रतिबन्धात्मक नीतिहरूले डिभी विजेताहरूमा उल्लेखनीय प्रभाव पारेका थिए। कानुनी विशेषज्ञहरूका अनुसार, यसपटक पनि डिभी कार्यक्रम स्थगन र अन्य कडाइका नीतिहरूले विजेताहरूलाई असर गर्न सक्छ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com