अमेरिकी नागरिकले दोश्रो देशको नागरिकता राख्न नपाउने बिलले नेपाली अमेरिकनलाई कस्तो प्रभाव?
प्रकाशित मिति : मंसिर १७, २०८२ बुधबार
अमेरिकामा रिपब्लिकन सिनेटर बर्नी मोरेनोले संसदमा पेश गरेको विधेयक पारित भएर लागु भएमा अमेरिकीहरूको दोहोरो नागरिकतालाई प्रभावकारी रूपमा समाप्त गर्नेछ। यसले अमेरिकन नागरिकता लिइसकेका नेपाली मूलका अमेरिकनलाई समेत प्रभाव पार्नेछ ।
एकातिर नेपालले अमेरिकन नागरिकता लिएका नेपाली मूलका व्यक्तिका लागि एनआरएन नागरिकताको व्यवस्था गरिसकेको अवस्थामा कैयन नेपाली अमेरिकनहरुले नेपालको एनआरएन नागरिकता लिइसकेका छन् भने अर्कोतर्फ अमेरिकाको नागरिकता लिएका केही नेपालीहरुले नेपालको वंशजको आधारको नागरिकता नै कायम हुनुपर्ने माग समेत गरिरहेका छन् । यो सन्दर्भमा मारेनोको विधेयक पारित भएमा एनआरएन नागरिकता लिनेहरुलाई व्यवहारिक रुपमा नै प्रभाव पार्नेछ भने वंशजको आधारको नागरिकताको निरन्तरताको माग गर्नेहरुको एजेण्डालाई कमजोर बनाउनेछ ।
खसोखासले संयोजन गरेको तथ्यांक अनुशार अमेरिकी नागरिकता लिइसकेका पहिलो पुस्ता र अमेरिकामा जन्मिएका दोश्रो पुस्तागरी झण्डै १ लाख २५ हजार नेपाली मूलका अमेरिकनहरु रहेका छन् । अमेरिकी सरकारको डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीको तथ्यांक अनुशार ९५ हजार भन्दा बढी नेपालीहरूले अंगीकृत रुपमा अमेरिकाको नागरिकता प्राप्त गरेका छन् भने अमेरिकामा जन्मिएका दोश्रो पुस्ताका नेपालीहरुलाई समेत जोड्दा यो संख्या १ लाख २५ हजारको हाराहारीमा छ ।
गतबर्षको एसियन अमेरिकन रिसर्च सेन्टरको तथ्यांक अनुशार पनि १८ बर्ष काटेका नेपाली अमेरिकनको संख्या अमेरिकामा ९१ हजार ९ सय ९ रहेको थियो । जसमध्ये २४ हजार ५ सय ६१ जना नर्थइस्टमा, १६ हजार ६ सय ४५ मिडवेष्टमा, ३१ हजार ९ सय ५३ जना साउथमा र १८ हजार ७ सय ५० जना वेष्टमा रहेका थिए । तर यो बर्ष अमेरिकी नागरिकता लिने नेपालीहरुको संख्यासँगै उक्त संख्या पनि बढेको छ ।
सन् २०१४ सम्ममा २० हजारभन्दा बढी नेपालीहरूले अमेरिकी नागरिकता प्राप्त गरेका थिए। सन् २०१५ देखि २०२३ सम्ममा ५६ हजारभन्दा बढी नेपालीहरूले अमेरिकी नागरिकता प्राप्त गरेका थिए। सन् २०२४ र २०२५ को संख्या समेत जोड्दा यो संख्या लगभग ७५ हजार पुग्छ । यसरी कुला संख्या जोड्दा ९५ हजार नाघ्छ । सन् २०२३ को आर्थिक वर्षमा ९ हजार ३ सय नेपालीहरूले अमेरिकी नागरिकता प्राप्त गरेका थिए। जसमध्ये ४८३० जना महिला, ४४४० जना पुरुष र २० जना अन्य रहेका थिए । उनीहरुमध्ये ६ हजार ५ सय ८० जना विवाहित थिए भने २४१० जना अविवाहित थिए । २८० जनालाई अन्य र ४० जनालाई अज्ञातमा राखिएको छ ।
सन् २०२२ मा अमेरिकी नागरिकता लिने नेपालीहरुको संख्या ९,४०८ थियो, भने सन् २०२१ मा ७,२३२ जना नेपालीहरूले अमेरिकी नागरिकता प्राप्त गरेका थिए। पछिल्ला बर्षहरुमा लगभग १० हजारको हाराहारीमा नेपालीहरुले अमेरिकी नागरिकता लिइरहेका छन् ।
अमेरिकी जनगणना ब्यूरोले प्रकाशित गरेको अनुमान अनुसार २०२३ मा अमेरिकामा अनुमानित २,२५,००० मानिसहरूलाई नेपालीको रूपमा पहिचान गरिएको थियो। जसमध्ये ४६ प्रतिशत ले १० वर्षभन्दा बढी समयदेखि अमेरिकामा बसोबास गरिरहेका र ४७ प्रतिशतले अमेरिकी नागरिकता लिएका प्यु रिसर्च सेन्टरको तथ्यांक रहेको छ । यो तथ्यांकले झण्डै १ लाख ५ हजार नेपालीहरुले अमेरिकन नागरिकता लिएको बताउँछ भने डिपार्टमेन्ट होमल्याण्ड सेक्युरिटीको तथ्यांक पनि यसैसँग मिल्दोजुल्दो नै रहेको छ ।
मोरेनोले विधेयकले कुनै पनि व्यक्तिलाई अमेरिकाको नागरिकतासँगै अन्य कुनै पनि देशको नागरिकता एकैसाथ राख्न बन्देज लगाउनेछ। यसबाट कति जना मानिसहरू प्रभावित हुन सक्छन् भन्ने कुरा निश्चित छैन। किनभने अहिलेसम्म अमेरिकी कानुनले अमेरिकी नागरिकहरूलाई अर्को देशको नागरिकता रिपोर्ट गर्न आवश्यक गर्दैन भने संघीय सरकारले दोहोरो नागरिकहरूको विस्तृत दर्ता राख्दैन।
विज्ञहरूले दोहोरो नागरिकता भएका अमेरिकीहरूको संख्या ५ लाखदेखि ५७ लाखसम्म हुन सक्ने अनुमान गरेका छन्। फोर्ब्सको एक रिपोर्टले करिब ४० प्रतिशत अमेरिकीहरू दोहोरो नागरिकताका लागि योग्य हुन सक्ने सुझाव दिएको थियो, यद्यपि योग्यताको अर्थ उनीहरूले वास्तवमा दोस्रो देशको नागरिकता लिएका छन् भन्ने होइन।
राष्ट्रिय नागरिकताको अखण्डता कायम राख्न अमेरिकाप्रतिको वफादारी अविभाजित हुनुपर्ने तर्क विधेयकमा गरिएको छ । अमेरिकी नागरिकको रूपमा विदेशी नागरिकता कायम राख्दा हितहरूको द्वन्द्व र विभाजित वफादारी सिर्जना गर्नसक्ने तर्क समेत गरिहेको छ । यो प्रस्ताव अन्तर्गत दोहोरो वा बहु नागरिकता सीधै प्रतिबन्धित हुनेछ। कुनै पनि व्यक्तिले एकैसाथ कुनै विदेशी नागरिकता धारण गर्दा अमेरिकाको नागरिक हुन नसक्ने प्रष्ट पारिएको छ ।
कानुन लागू भएको एक वर्ष भित्र अर्को राष्ट्रियता पनि भएका अमेरिकी नागरिकहरूले अमेरिकी नागरिकता वा अर्को देशको नागरिकतामध्ये एउटा छनौट गर्नुपर्नेछ । जस अन्तरगत या त आफ्नो विदेशी नागरिकताको लिखित त्याग अमेरिकी विदेश मन्त्रालयमा पेश गर्नुपर्नेछ या त अमेरिकी नागरिकताको लिखित त्याग डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटी समक्ष पेश गर्नुपर्नेछ । समयमै पालना गर्न नसक्नेहरूलाई स्वेच्छाले अमेरिकाको नागरिकता त्याग गरेको मानिने विधेयकमा उल्लेख छ ।
कानुन लागू भएपछि स्वेच्छाले विदेशी नागरिकता प्राप्त गर्ने कुनै पनि अमेरिकी नागरिकको अमेरिकाको नागरिकता त्याग गरेको मानिनेछ। विधेयकले विदेशमन्त्रीलाई विशेष अमेरिकी नागरिकता घोषणा गर्न, प्रमाणित गर्न र रेकर्ड गर्नका लागि नियम र प्रक्रियाहरू सिर्जना गर्न निर्देशन दिन्छ। राष्ट्रपति डोनाल्ड ट्रम्पको समर्थनमा २०२४ मा सिनेट सीट जितेका मोरेनो कोलम्बियामा जन्मेका थिए र उनले पहिले नै आफ्नो कोलम्बियाली नागरिकता त्याग गरिसकेका छन्।
उनको यो प्रस्ताव कानुन बनेमा राष्ट्रपति डोनाल्ड ट्रम्पकी पत्नी प्रथम महिला मेलानिया ट्रम्पलाई असर गर्नसक्छ । किनभने उनी अमेरिका र स्लोभेनियाकी दोहोरो नागरिक हुन् । साथै उनका छोरा ब्यारोन ट्रम्पलाई पनि यसको असर पर्नसक्छ । सिनेटर मोरेनोले भने अब दोहोरो नागरिकतालाई सधैंका लागि अन्त्य गर्ने समय आएको बताएका छन् ।
मोरेनोको विधेयकले संसदमा कति समर्थन पाउँछ भन्ने कुरा अझै स्पष्ट छैन। यो विधेयक पारित भए पनि यसले महत्वपूर्ण कानूनी चुनौतीहरूको सामना गर्न सक्छ। अमेरिकी सर्वोच्च अदालतले दोहोरो नागरिकतालाई कानुनमा लामो समयदेखि मान्यता प्राप्त स्थितिको रूपमा स्वीकार गरेको छ । साथै अमेरिकी नागरिकले स्वेच्छाले नछोडेसम्म उनीहरूको नागरिकता गुमाउन नसक्ने व्याख्या गरेको छ ।








