अमेरिकाको अध्यागमन अदालतमा एसाइलम स्वीकृतिको दर आधा घट्यो
प्रकाशित मिति : मंसिर ८, २०८२ सोमबार
पछिल्लो बाह्र महिनामा अमेरिकाको अध्यागमन अदालतमा एसाइलम स्वीकृतिको दर आधाले घटेको तथ्यांक ट्रान्जेक्शनल रेकर्डस एक्सेस क्लियरिंगहाउसले सार्वजनिक गरेको छ। सबैभन्दा पछिल्लो एसाइलम डेटा अगस्ट २०२५ सम्मको उपलब्ध रहेकोमा अगस्ट २०२५ को अवधिमा, केवल १९ दशमलव २ प्रतिशत आवेदककोमात्र एसाइलम स्वीकृत गरिएको छ । एक वर्षअघि अगस्ट २०२४ मा एसाइलम स्वीकृतिको दर ३८ दशमलव २ प्रतिशत थियो।
ट्रम्प प्रशासनकै बेलामा एसाइलमका नियममा कडाईबारे ठूलो चर्चा भए तापनि सबैभन्दा पछिल्लो गिरावट भने पूर्व राष्ट्रपति बाइडेनको पालामै सुरु भएको घट्दो दरको निरन्तरता देखिएको छ । प्रशासन परिवर्तन हुँदा पनि यी प्रवृत्तिहरूमा कुनै स्पष्ट फेरबदल वा ब्रेक नभई स्वीकृति दरमा निरन्तर गिरावट देखाएको छ । गत वर्षको वार्षिक प्रतिवेदन अनुसार एसाइलम खोज्नेहरूले अध्यागमन न्यायाधीशसमक्ष व्यक्तिगत सुनुवाइमा पहिलेदेखि नै कम सफलता पाइरहेका थिए। सफलताको यो घट्दो दर राष्ट्रपति ट्रम्पको पालामा पनि तलतिर ओरालो लागिरह्यो।
ट्रम्प प्रशासनले एसाइलम सम्बन्धी निर्णयहरू सुनाउने गतिलाई निकै बढाएको छ । अप्रिल र मे २०२५ को अवधिमा एसाइलम सम्बन्धी निर्णयहरूको संख्या १२ हजारभन्दा बढी केस सम्पन्नतामा पुग्यो, जबकि पूर्व राष्ट्रपति बाइडेनको पालामा यो संख्या लगभग ६ देखि ७ हजारको बीचमा थियो। त्यसपछि मासिक एसाइलम निर्णयहरूको संख्या यो उच्च बिन्दुबाट २५ प्रतिशतले घटेको छ। अगस्ट २०२५ मा कुल ९ हजार २ सय ६९ एसाइलमका मुद्दाहरू सम्पन्न भए।
राष्ट्रपति ट्रम्पले अध्यागमन न्यायाधीशहरूलाई बर्खास्त पनि गरिरहेका छन्। बर्खास्त गरिएकाहरूको सही संख्या अनिश्चित छ। यद्यपि हालसालै सार्वजनिक विवरण अनुशार कम्तिमा ७० अध्यागमन न्यायाधीशहरू लाई बर्खास्तीको सूचना प्राप्त भएको थियो। यसका अतिरिक्त राष्ट्रपति ट्रम्पले आर्थिक वर्ष २०२५ मा एउटै पनि नयाँ अध्यागमन न्यायाधीशलाई नियुक्ति गरेका छैनन् । तर, एसाइलम मुद्दा सम्पन्नताको वृद्धिमा आर्थिक वर्ष २०२५ को पहिलो त्रैमासिकमा राष्ट्रपति बाइडेन सत्तामा हुँदा १८ नयाँ अध्यागमन न्यायाधीशहरूको नियुक्तिले सहयोग गरेको थियो।
पछिल्लो रिपोर्टमा धेरै अदालतहरूमा अध्यागमन न्यायाधीशको एसाइलम स्वीकृतिको दरमा फेरि पनि फराकिलो भिन्नताहरू देखिएका छन्। यी नयाँ रिपोर्टहरूले अगस्ट २०२५ सम्मको पछिल्लो छ वर्षको अवधिमा प्रत्येक न्यायाधीशको एसाइलम सम्बन्धी निर्णयहरूलाई देखाएको छ ।
यसमा एसाइलम स्वीकृतिको दरहरूबीचको सबैभन्दा ठूलो भिन्नता सान फ्रान्सिस्को अध्यागमन अदालतमा पाइएको थियो। त्यहाँ कोही न्यायाधिसले ९७ दशमलव १ प्रतिशत सम्म त कोही न्यायाधिसले ४ दशमलव ८ प्रतिशतसम्ममात्र एसाइलम स्वीकृत गरेका थिए । न्युयोर्क शहरमा कोही न्यायाधिसले ९२ दशमलव ४ प्रतिशतसम्म एसाइलम स्वीकृत गरको थिए भने कोहीले २ दशमलव ६ प्रतिशतमात्र स्वीकृत गरेका थिए








