ग्रिनकार्डका लागि आप्रवासी भिसा आवेदन फारम अद्यावधिक गरिँदै, १५ वर्षको यात्रा इतिहास मागिने
प्रकाशित मिति : मंसिर ४, २०८२ बिहीबार
अमेरिकी विदेश मन्त्रालयले ग्रिनकार्डका लागि आप्रवासी भिसा आवेदन फारम डीएस–२६० संशोधन गर्ने प्रस्ताव व्यवस्थापन र बजेट कार्यालयमा पेस गरेको छ। अघिल्लो फेडरल रजिस्टरमा प्रकाशित सूचना अन्तर्गत सेप्टेम्बर ८, २०२५ मा समाप्त भएको ६० दिने टिप्पणी अवधिलाई पछ्याउँदै यो नयाँ सूचना बुधबार फेडरल रजिस्टरमा प्रकाशित भएको हो। अब अन्तिम स्वीकृतिको लागि पेस गर्नु अघि सार्वजनिक टिप्पणीको लागि ३० दिने अन्तिम अवधि खुलेको छ।
अमेरिकी विदेश मन्त्रालयले नोभेम्बर १, २०२५ देखि बन्द भएको डीएस–२३० कागजी फारमलाई पनि पुनः नवीकरण नगर्ने योजना बनाएको छ। डीएस–२३० आप्रवासी भिसाका लागि प्रयोग हुने आवेदन हो, जुन हालसम्म डाइभर्सिटी भिसा र क्युबाली परिवार पुनःमिलन प्यारोल आवेदनहरूमा मात्र लागु हुँदै आएको थियो। यो इलेक्ट्रोनिक फारम डीएस–२६० कै कागजी संस्करण हो।
विदेश मन्त्रालयले डीएस–२६० फारमको स्पष्टता र उपयोगिता बढाउन अमेरिकन इमिग्रेशन लयर्स एसोसिएसन र अन्य टिप्पणीकर्ताहरूबाट प्राप्त सुझावलाई सम्बोधन गरेको छ। एक प्रमुख परिवर्तन यात्रा इतिहास सम्बन्धी प्रश्नमा गरिएको छ। विगत ५ वर्षभित्र कुनै देश वा क्षेत्र भ्रमणबारे सोधिने प्रश्नलाई परिमार्जन गरी पछिल्ला १५ वर्षभित्र अमेरिका बाहेक अन्य देश वा क्षेत्रमा यात्रा गरेको/नगरेको विवरण मागिएको हो। अर्थात्, १५ वर्षको अवधिमा अमेरिकाको यात्रा विवरण समावेश गर्नुपर्ने छैन।
विगतको ठेगाना इतिहासका लागि पूर्ण ठेगाना र मितिहरू मात्र आवश्यक पर्नेछन्। यस सन्दर्भमा, विस्तृत ठेगाना जानकारी प्रदान गर्न केही आवेदकहरू, विशेष गरी वृद्ध उमेर समूहका व्यक्तिहरू, कठिनाइमा पर्न सक्ने भएकाले “अज्ञात” विकल्प राख्ने सुझाव प्राप्त भएको थियो। तर उक्त सुझाव अमेरिकी विदेश मन्त्रालयले अस्वीकार गरेको छ। विगतका ठेगानाहरू धोखाधडी रोकथाम र परिष्कृत जाँचमा प्रयोग हुने तथा प्रहरी प्रमाणपत्र आवश्यकताभन्दा बाहिरका उद्देश्यहरूका लागिसमेत उपयोग हुने बताउँदै मन्त्रालयले भविष्यमा अमेरिकी राष्ट्रिय सुरक्षामा असर नपरोस् भनी अज्ञात विकल्प थप्ने सम्भावनाबारे जाँच साझेदारहरूसँग पुनः छलफल सुरु गर्ने उल्लेख गरेको छ।
यसबाहेक, परिवारका सदस्यहरूको अध्यागमन मनसायसम्बन्धी प्रश्नहरू अझ विशिष्ट बनाइनेछन्, जसमा “अध्यागमन गर्दै” भन्ने शब्दको सट्टा “अमेरिकी अध्यागमन भिसाका लागि आवेदन गर्दै” भन्ने वाक्यांश प्रयोग गरिनेछ। फारममा परिमार्जन गरी तुच्छ एसाइलम आवेदन निर्धारणको सन्दर्भमा “अमेरिकाको होमल्यान्ड सेक्युरिटी सेक्रेटरी” को सट्टा “अध्यागमन न्यायाधीश वा अध्यागमन पुनरावेदन बोर्ड” उल्लेख गरिनेछ। अर्थात् युएससीआईएसले आवेदन तुच्छ ठहर गरे मात्र समावेश गर्नुपर्ने होइन; केबल अध्यागमन अदालतले तुच्छ ठहर गरेको अवस्थामा मात्र विवरण समावेश गर्नुपर्नेछ। तुच्छ एसाइलम आवेदन भन्नाले अमेरिकामा बसाइ र वर्क परमिट प्राप्त गर्ने मात्र उद्देश्यले पेश गरिने कमजोर वा आधारविहीन आवेदन बुझिन्छ।
त्यस्तै, आधुनिकीकरण प्रयासस्वरूप केही साना संशोधनहरू समावेश गरिए पनि विदेश मन्त्रालयले स्रोत र समयको अभावका कारण केही जटिल सुझावहरूलाई भविष्यको ठूलो स्तरको आधुनिकीकरण परियोजनाका लागि स्थगित गरेको जनाएको छ। यी बाँकी रहेका अपडेटमा जटिल सुरक्षा प्रश्नको भाषा सरल बनाउने, प्रणाली टाइमआउट र लगइन त्रुटि जस्ता प्राविधिक समस्या सम्बोधन गर्ने, र हस्ताक्षर तथा पेश गर्ने पृष्ठको भाषा परिमार्जन गर्ने कामहरू समावेश छन्।
विदेश मन्त्रालयले सादा भाषामा पुनर्लेखन समावेश भएको आधुनिकीकरण परियोजना चालु नवीकरण चक्रभित्र पूरा गर्न कठिन हुने उल्लेख गरेको छ। मन्त्रालयले स्पष्टीकरणका लागि कागजी फारमको ओभरफ्लो पानाको जस्तै अनलाइनमा विकल्प थप्ने सुझाव पनि अस्वीकार गरेको छ। इलेक्ट्रोनिक फारमले आवेदकलाई आवश्यक परेको खण्डमा जानकारी थप्न दिने तथा व्यक्तिगत अन्तर्वार्ताको समयमा विस्तृत स्पष्टीकरण प्रदान गर्न सक्ने भएकाले यस्तो विकल्प आवश्यक नपर्ने भनिएको छ।
विदेश मन्त्रालयले लागत अनुमान र डेटा गोपनीयता स्पष्ट गर्न यो सूचना प्रयोग गरेको हो। मन्त्रालयका अनुसार डीएस–२६० प्रशोधनको लागत १५६ बिलियन नभई संघीय सरकारको खर्चमा ९४ मिलियन रहेको छ। काउन्सुलर शुल्कहरू पूर्ण लागत पुनःआर्जनका लागि निर्धारण गरिएकाले अमेरिकी करदाताको रकम खर्च नहुने स्पष्ट गरिएको छ। साथै मन्त्रालयले नयाँ “चिकित्सा परीक्षण खुलासा र सहमति” उपखण्ड पनि थपेको छ। यो प्रस्तावित संशोधनमा डिसेम्बर १९, २०२५ सम्म सार्वजनिक टिप्पणी बुझाउन सकिनेछ।






