रोजगारमा आधारित कुनै पनि श्रेणीमा ग्रिनकार्ड फाइल गर्ने मिति भएन टसमस, पाउने मिति थोरै हलचल
प्रकाशित मिति : कार्तिक २९, २०८२ शनिबार
अमेरिकी सरकारको विदेश मन्त्रालयबाट जारी डिसेम्बरको भिसा बुलेटिन अनुशार रोजगारमा आधारित पहिलो श्रेणीको ग्रीनकार्ड फाइल गर्ने र आप्रवासी भिसा पाउने मिति करेन्ट नै रहेको छ। डिसेम्बर महिनामा पनि अमेरिकाभित्रै रहेकाहरूको हकमा पहिलो श्रेणीको आवेदन आई १४० सँगै ग्रीनकार्ड आवेदन आई ४८५ फाइल गर्न सकिने भएको छ भने अमेरिकाबाहिर रहेकाहरूले भिसा करेन्ट रहेसम्म कुर्नु पर्दैन। यद्यपि दूतावासहरूमा रहेको भिसा ब्याकलगका कारण अमेरिकाबाहिर रहेकाहरूलाई आप्रवासी भिसा अन्तर्वार्ताका लागि भने लामो समय लाग्न सक्छ।
रोजगारमा आधारित दोश्रो श्रेणीमा ग्रीनकार्ड फाइल गर्ने मितिमा हलचल भएको छैन भने आप्रवासी भिसा पाउने मितिमा २ महिनाको अग्रता कायम भएको छ । १ फेब्रुअरी २०२४ भन्दा अगाडि प्राथमिकता मिति भएकाहरुले डिसेम्बरमा विदेशमा हुनेले आप्रवासी भिसा अन्तरवार्ता प्राप्त गर्न सक्नेछन् । त्यस्तै १५ जुलाई २०२४ भन्दा अगाडि प्राथमिकता मिति भएका अमेरिकाभित्र हुनेले डिसेम्बरमा ग्रिनकार्ड आवेदन आई ४८५ फाइल गर्नसक्नेछन् ।
त्यस्तै तेश्रो श्रेणीमा पनि ग्रीनकार्ड फाइल गर्नेमितिमा हलचल भएको छैन भने आप्रवासी भिसा पाउने मितिमा १५ अग्रता कायम भएको छ । तेस्रो श्रेणीको स्किल्ड ग्रीनकार्ड आवेदकहरूका लागि १ जुलाई २०२३ भन्दा अगाडि लेबर सर्टिफिकेशन फाइल गरेका आवेदकहरूको लेबर सर्टिफिकेशन स्वीकृत भइसकेको भएमा उनीहरूले डिसेम्बर महिनामा ग्रीनकार्ड आवेदन आई ४८५ फाइल गर्न सक्नेछन्। अमेरिकाबाहिर हुनेहरुका सन्दर्भमा भने १५ अप्रिल २०२३ भन्दा अगाडि लेबर सर्टिफिकेशन स्वीकृत भइसकेकाहरुले डिसेम्बरमा भिसा अन्तरवार्ता पाउन सक्नेछन् ।
अनस्किल्ड कामदारहरूको हकमा पनि ग्रीनकार्ड फाइल गर्नेमितिमा हलचल भएको छैन भने आप्रवासी भिसा पाउने मितिमा १५ अग्रता कायम भएको छ । १ डिसेम्बर २०२१ अगाडि लेबर सर्टिफिकेशन फाइल गरेकाहरूले लेबर सर्टिफिकेशन स्वीकृत भइसकेको भएमा डिसेम्बर महिनामा ग्रीनकार्ड आवेदन आई ४८५ फाइल गर्न सक्नेछन्। अमेरिकाबाहिर हुनेहरुका सन्दर्भमा १ अगस्त २०२१ अगाडि लेबर सर्टिफिकेशन फाइल गरेकाहरूले लेबर सर्टिफिकेशन स्वीकृत भइसकेको भएमा डिसेम्बरमा भिसा अन्तरवार्ता पाउन सक्नेछन् ।
विशेष आप्रवासी चौथो श्रेणीको हकमा पनि ग्रीनकार्ड फाइल गर्ने मितिमा हलचल भएको छैन भने आप्रवासी भिसा पाउने मितिमा २ महिनाको अग्रता कायम भएको छ । १५ फेब्रुअरी २०२१ अगाडि प्राथमिकता मिति हुनेहरुले डिसेम्बर महिनामा ग्रीनकार्ड आवेदन आई ४८५ फाइल गर्न सक्नेछन्। अमेरिकाबाहिर हुनेहरुका सन्दर्भमा १ सेप्टेम्बर २०२० अगाडि प्राथमिकता मिति भएकाहरुले डिसेम्बरमा भिसा अन्तरवार्ता पाउन सक्नेछन् ।
त्यस्तै धार्मिक कामदारका सन्दर्भमा नोभेम्बरमा भिसा अनुपलब्ध रहेकोमा डिसेम्बरमा भने भिसा उपलब्ध भएको छ । यद्यपी उनीहरुले भिसा पाएको खण्डमा जनवरी २९ भित्र अमेरिका आइसक्नुपर्नेछ । १ सेप्टेम्बर २०२० भन्दा अगाडि प्राथमिकता मिति भएकाहरुले डिसेम्बरमा भिसा पाउन सक्नेछन् भने अमेरिकाभित्र हुनेहरुका सन्दर्भमा १५ फेब्रुअरी २०२१ भन्दा अगाडि प्राथमिकता मिति हुनेले डिसेम्बरमा ग्रिनकार्ड आवेदन दिन सक्नेछन् ।








