हरेक अमेरिकीलाई २ हजार डलर दिने ट्रम्पको योजना के हो ?


प्रकाशित मिति : कार्तिक २५, २०८२ मंगलबार

100 US dollar banknotes

फोटो: भियाचेस्लाभ बुब्लिक

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हरेक अमेरिकीहरूलाई २ हजार डलर दिने योजना सार्वजनिक गरेपछि यसले चर्चा पाएको छ । अमेरिकाले लगाएका उच्च भन्सारले अमेरिकी उद्योगहरूको रक्षा गर्ने, अमेरिकामा कारखानाहरू आकर्षित गर्ने, संघीय सरकारको लागि पैसा जुटाउने र अमेरिकालाई कूटनीतिक लाभ दिने बताउँदै आएका ट्रम्पले अब त्यसले अमेरिकी परिवारहरूका लागि पनि आर्थिक लाभ जुटाउन सक्ने दाबी गर्दै ट्यारिफ लाभांशवापत २ हजार डलर दिने वाचा गरिरहेका छन् ।

उच्च जीवनयापन खर्चबाट आक्रान्त भएका मतदाताको असन्तुष्टिको कारणले ट्रम्पको रिपब्लिकन पार्टीले भर्जिनिया, न्यु जर्सी र अन्य ठाउँहरूमा हारेको पाँच दिनपछि आइतबार ट्रम्पले सामाजिक सञ्जालमा हरेकलाई २ हजार डलर दिने प्रस्ताव सार्वजनिक गरेका हुन् । उनले उच्च आय भएका मानिसहरू बाहेकलाई २ हजार डलर भुक्तानी गरिने बताएका हुन् ।

आयको सीमा कति हुनेछ र भुक्तानी बालबालिकालाई पनि जानेछ कि छैन भन्ने लगायतका विवरणहरू कम छन्। ट्रम्पका अर्थमन्त्री स्कट बेसेन्टपनि यो लाभांश योजनाबाट अचम्ममा परेको देखिएका थिए । आइतबार एउटा टेलिभिजन कार्यक्रममा बेसेन्टले राष्ट्रपतिसँग लाभांशको बारेमा छलफल नगरेको बताएका थिए । यसको मतलब अमेरिकीहरूले सरकारबाट चेक पाउने कुरा पुष्टी भइसकेको छैन । यसको सट्टा २ हजार डलरको छुट कर कटौतीको रूपमा हुनसक्ने बेसेन्टले बताएका छन् ।

ट्रम्पको उच्च भन्सार दरले अमेरिकामा पैसा भने जुटाइरहेको छ । सेप्टेम्बर ३० मा समाप्त भएको बजेट वर्षमा १९५ बिलियन डलर संकलन भएको छ जुन आर्थिक वर्ष २०२४ मा ७७ बिलियन तुलनामा १५३ प्रतिशत बढी हो। तर यो अझै पनि संघीय राजस्वको ४ प्रतिशत भन्दा कम छ र संघीय बजेट घाटालाई कम गर्न खासै काम गर्न सकेका छैन । जुन आर्थिक वर्ष २०२५ मा १ दशमलव ८ ट्रिलियनको अवस्थामा छ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

ट्रम्पको भन्सारले वार्षिक २०० देखि ३०० बिलियन राजस्व ल्याउने विज्ञहरुको अनुमान छ । तर २ हजार डलरको लाभांश बालबालिका सहित सबै अमेरिकीहरूलाई गएमा ६०० बिलियन डलर खर्च हुनेछ। अर्थात् आउने राजस्व २ हजार डलर बाँड्नका लागि प्रयाप्त हुनेछैन । साथै ट्रम्पले आफ्नै पहलमा लाभांश भुक्तानी गर्न नसक्ने र त्यसका लागि संसदबाट कानुन बनाउन आवश्यक पर्ने जनाइएको छ ।

यसबाहेक संसारका लगभग हरेक देशबाट हुने आयातमा दोहोरो अङ्कको कर अमेरिकी सर्वोच्च अदालतमा पुगेको कानुनी चुनौतीमा टिक्न नसक्ने सम्भावना छ। गत हप्ताको सुनुवाइमा न्यायाधीशहरूले भन्सारलाई जायज ठहराउन राष्ट्रिय आपतकाल घोषणा गर्ने व्यापक शक्तिमा ट्रम्प प्रशासनको दाबीप्रति शङ्का व्यक्त गरेका थिए। ट्रम्पले संसदलाई छलेर यो कदम चालेका छन्, जससँग संविधान अन्तर्गत भन्सार सहित कर लगाउने अधिकार छ।

यदि अदालतले ट्रम्पको भन्सार दरलाई खारेज गरेमा ट्रम्प प्रशासनले अमेरिकी परिवारहरूलाई लाभांश चेक पठाउनुको सट्टा तिर्ने आयातकर्ताहरूलाई पैसा फिर्ता गर्नुपर्ने हुन सक्छ। यद्यपी ट्रम्पले सर्वोच्च अदालतमा हारे पनि भन्सार लगाउने अन्य तरिकाहरू खोज्न सक्ने अनुमान गरिएको छ । तर यो झन्झटिलो र समय खपत गर्ने हुन सक्छ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com