आइसका एजेन्टहरू आएमा जान्नुपर्ने अधिकारबारे न्युयोर्क सिटीबाट नेपालीमा जानकारी जारी
प्रकाशित मिति : कार्तिक १७, २०८२ सोमबार
न्युयोर्क सिटीमा नयाँ मेयरका लागि निर्वाचनपछि अमेरिकी अध्यागमनको छापा बढ्ने अनुमानहरु भइरहँदा अमेरिकी अध्यागमन एजेन्सी आइसका एजेन्टहरू आफूलाई खोज्दै आएमा जान्नुपर्ने अधिकारबारे न्युयोर्क सिटीको मेयर कार्यालय अन्तरगत अध्यागमन मामिलाले नेपालीमा जानकारी जारी गरेको छ । आइसका एजेन्टहरू घरको ढोकामा आइपुगेमा के गर्ने? घरभित्रै आएभने के गर्ने? कार्यस्थलमा आएभने के गर्ने? हिराशतमा लिइयो वा पक्राउ परेमा के गर्ने? लगायतका विषयमा नेपाली भाषामा श्रोत सामाग्री तयारी पारिएको हो ।
आइसका एजेन्टहरु ढोकामा आइपुगेमा ढोका खोल्नैपर्छ भन्ने नहुने र मौन रहने अधिकार समेत रहेको प्रष्ट पारिएको छ । यदि आइसका एजेन्टहरु ढोकामा आइपुगेमा बन्द ढोका पछाडि बाट तपाईंले ‘उनीहरू को हुन्?’ भनेर सोध्न सकिने तथा झ्याल वा चियाउने प्वालबाट उनीहरूको ब्याज, आईडी वा व्यावसायिक कार्ड देखाउन वा बन्द ढोका मुनिबाट छिराउन पनि भन्न सकिने सूचनामा उल्लेख छ ।
तपाईंलाई ढोकामा आईस नै आएको भन्ने यकिन भएमा ‘उनीहरूसँग न्यायिक पक्राउ पुर्जी छ कि छैन?’ भनेर सोध्न सुझाव दिइएको छ । न्यायिक पक्राउ पुर्जी भनेको न्यायाधीशद्वारा हस्ताक्षर गरिएको कागजात हो, जसले पक्राउ गर्न अनुमति दिन्छ। उनीहरूले आफूहरुसँग वारेन्ट नभएको बताएमा उनीहरूलाई भित्र आउन दिनैपर्छ भन्ने नहुने तथा ‘म तपाईंसँग कुरा गर्न चाहन्नँ’ भन्न सकिने पुस्तिकामा उल्लेख छ ।
उनीहरुले वारेन्ट भएको बताएमा ढोकामुनि छिराउन भन्न सकिनेछ । कागजात न्यायाधीशद्वारा हस्ताक्षर गरिएको छ भने तपाईंले पालना गर्नुपर्ने हुन्छ । पुस्तिकामा भनिएको छ, “तपाईंको घरमा नभएको कोही व्यक्तिलाई खोजिरहेका छन् भने, तपाईंले जवाफ दिनैपर्छ भन्ने छैन । तपाईं जवाफ दिन चाहनुहुन्छ भने, तपाईं आइसलाई सम्पर्क विवरण छोड्न अनुरोध गर्न सक्नुहुन्छ। तपाईंले आइसलाई खोजिएको व्यक्ति कहाँ छन् भनेर बताउन त आवश्यक छैन, तापनि झूटो विवरण प्रदान गर्नाले तपाईं जोखिममा पर्नुहुने छ।”
आपत्कालीन अवस्थामा, जस्तै सार्वजनिक सुरक्षाको खतरा वा कसैको जीवन खतरामा छ भने आइस तपाईंको अनुमति विना भित्र आउन सक्छन्। यदि यस्तो भएमा तपाईंलाई चुप लाग्ने अधिकार भएको पुस्तिकामा उल्लेख छ ।
“तपाईंको घरमा अनुमति विना आइस प्रवेश गरेमा उनीहरूलाई सिधै यसो भन्न सक्नुहुन्छ – ‘म तपाईंहरूलाई मेरो घरमा पस्न अनुमति दिन्न। कृपया गइहाल्नुहोस्।’ यसो भन्दैमा उनीहरू सधैं रोकिन्छन् नै भन्ने छैन, तर यसले भविष्यको कुनै पनि कानुनी मुद्दामा मद्दत गर्न सक्छ,” पुस्तिकामा सुझाव दिइएको छ ।
“आइसले तपाईंको घरमा कोठा वा सामानहरूको खोज गर्न थालेमा तपाईंले उनीहरूलाई भन्न खोज गर्ने कार्यमा सहमत नभएको बताउन सक्नुहुनेछ । उनीहरूले सहमति विना खोजतलास जारी राखे भने तपाईंले यही कुरा दोहोर्याइरहन सक्नुहुन्छ। तपाईंको घरमा बच्चा वा अन्य कमजोर सदस्य बसोबास गरिरहेका छन् भने तपाईं उनीहरूलाई बताउन सक्नुहुन्छ,” पुस्तिकामा भनिएको छ – “तपाईं कानुन प्रवर्तन अधिकारीहरूसँग शारीरिक झगडामा संलग्न हुनु हुँदैन।”
त्यस्तै आइस कार्यस्थलमा आएमा के गर्ने भन्नेबारे पनि सुझाव दिइएको छ । आइस कुनै पनि कार्यक्षेत्रको सार्वजनिक स्थानमा कुनै पनि प्रकारको पुर्जी विना प्रवेश गर्न सक्छ।
सार्वजनिक स्थानहरूमा कार्यालयको लबी, सुपरमार्केट, खुद्रा पसल वा रेस्टुरेन्टको भोजन क्षेत्र पर्नसक्छन् । उनीहरूसँग तपाईंको रोजगारदाताको अनुमति वा न्यायिक पुर्जी नभएसम्म आइस कानुनी रूपमा कार्यस्थलको निजी स्थान मा प्रवेश गर्न सक्दैनन्।
निजी स्थानहरू कर्मचारी मात्र प्रवेश गर्न सक्ने स्थानहरू हुन् जहाँ विश्राम कक्ष वा कार्यस्थलको भण्डारण कोठा पर्न सक्छन्। सार्वजनिक सुरक्षाको खतरा वा कसैको जीवन खतरामा परेको जस्ता आपत्कालीन अवस्थामा आइस तपाईंको अनुमति विना भित्र आउन सक्छन्। पुस्तिकामा भनिएको छ – ” यदि यस्तो भएमा, याद गर्नुहोस्, तपाईंलाई चुप लाग्ने अधिकार छ।”
रोजगारदाताले आइसलाई उनीहरूको पहिचानजन्य कागजात देखाउन र आइससँग न्यायिक पुर्जी देखाउन अनुरोध गर्न सक्ने छन्। सबै सार्वजनिक स्थलहरूमा जस्तै, कार्यस्थलमा आइस एजेन्टहरूले सम्पर्क गरेमा, तपाईंले उनीहरूको प्रश्नहरूको जवाफ दिनुपर्छ भन्ने छैन र तिनलाई तपाईंको रोजगारदाताकहाँ पठाउन सक्नुहुन्छ। अधिकार पुस्तिकामा भनिएको छ,”सधैं झैँ आइस एजेन्टहरूले तपाईंको खल्ती वा सामान खोज्ने कोशिश गरेमा तपाईंले म खोजतलास गर्न अनुमति दिन्न भनेर भन्न सक्नुहुन्छ।”
जे भए पनि उनीहरूले तपाईंको खोजतलास गर्न थालेमा तपाईंले शारीरिक रूपमा उनीहरूलाई रोक्न सक्नुहुन्न, तर स्पष्ट रूपमा तपाईं सहमत हुनुहुन्न भनेर भन्नाले भविष्यमा हुने कुनै पनि कानुनी मामिलाहरूमा महत्वपूर्ण हुन सक्छ। यस्तो अवस्थामा पनि तपाईं कानुन प्रवर्तन अधिकारीहरूसँग शारीरिक झगडामा संलग्न हुनु हुँदैन।
यदि आइसले हिरासतमा लियो वा पक्राउ परेमा तपाईंसँग मौन रहने अधिकार भएको र तपाईंलाई वकिलसँग कुरा गर्ने अधिकार रहेको पुस्तिकामा उल्लेख छ । पुस्तिकामा भनिएको छ -“यदि तपाईंमा मेडिकल समस्याहरू छन् वा बाल स्याहारको व्यवस्था गर्नुपर्ने छ भने तपाईंले आइसलाई भन्न सक्नुहुन्छ।”
“आइस एजेन्टहरूले तपाईंले चाहेको भाषा नबोल्न सक्छन् । तपाईंलाई आइससँगको कुनै पनि कुराकानी वा तपाईंलाई दिइएको कुनै पनि अपोइन्टमेन्ट वा सुनुवाइका लागि दोभासे अनुरोध गर्ने अधिकार छ। तपाईं भन्न सक्नुहुन्छ, मलाई दोभासे चाहिन्छ,” पुस्तिकामा भनिएको छ -“तपाईंलाई वकिलसँग कुरा गर्ने अधिकार छ। तपाईंले वकिलसँग कुरा गर्नु अघि कुनै पनि कागजातमा हस्ताक्षर गर्नु वा कुनै पनि प्रश्नको उत्तर दिनुपर्दैन।”
हिरासतमा परेपछि, तपाईंसँग आफ्नो परिवार, साथीभाइ, समुदायका नेता वा वकिललाई फोन कल गर्ने अवसर हुने छ। हिरासतमा, तपाईं आफ्नो परिवार, साथीभाइ, समुदायका नेता र वकिल लगायत आगन्तुकहरूसँग भेट गर्न सक्नुहुन्छ। पुस्तिकामा भनिएको छ -“ध्यान दिनुहोस्, प्रत्येक जेलको आफ्नै नियम हुन्छ, आगन्तुकहरूले ती नियमहरू पहिले नै समीक्षा गर्नुपर्ने छ।”
“आइस एजेन्टहरूले तपाईंसँग कुरा गर्न वा पक्राउ गर्न खोजिरहेका छन् भने रेकर्ड गर्न सुरु गर्नाले वा उक्त कार्य जारी राख्नाले तपाईंलाई जोखिममा पार्न सक्छ। तथापि, समुदायका मानिसहरूले आइसको रेकर्ड गर्न सक्छन्, तर तिनले अधिकारीहरूलाई हस्तक्षेप भने गर्न मिल्दैन,” पुस्तिकामा सजग गराइएको छ ।
तपाईंले तपाईं पक्राउ पर्दाको आफूसँग रहेको वा तपाईं पक्राउ परेको देख्ने व्यक्तिबाट प्राप्त कुनै पनि अडियो, भिडियो वा लिखित नोटहरू तपाईंको वकिललाई प्रदान गर्न सक्नुहुन्छ। पुस्तिकामा सामान्य जानकारी मात्र प्रदान गरिएको छ र यो कानुनी सल्लाह नभएको तथा कानुनी सल्लाहका लागि वकिलसँग परामर्श गर्न सुझाव समेत दिइएको छ ।
तपाईं वा तपाईंको प्रियजन देश निकालाको जोखिममा हुनुहुन्छ भने कुनै योजना बनाउन सुझाव दिइएको छ । अध्यागमन कानुन जटिल हुने भएकाले झुटा बाचाहरु संकेत गर्न सक्ने अध्यागमन, कानुनी ठगी वा छलकपट गरी सेवा दिने व्यक्तिहरुबाट सावधान रहन सचेत गराइएको छ । पुस्तिकामा भनिएको छ -“वकालतका लागि अनुमतिपत्र प्राप्त नगरेका पब्लिक नोटरीले तपाईंको तर्फबाट अध्यागमन फारामहरू भर्न वा दायर गर्न मिल्दैन। उनीहरूले तपाईंलाई कानुनी सल्लाह पनि दिनु हुँदैन।”
देशनिकालाको जोखिममा हुनेले आफ्नो पारिवारिक योजना बनाउन सुझाव दिइएको छ । पुस्तिकामा भनिएको छ -“एक जना आपत्कालीन सम्पर्क व्यक्ति छनोट गर्नुहोस् र तिनको फोन नम्बर याद गर्नुहोस्। आपत्कालीन सम्पर्क व्यक्ति तपाईंले विश्वास गर्ने व्यक्ति हुन सक्छन्, जस्तै परिवारका सदस्य, साथीभाइ, समुदायको नेता वा वकिल। आफ्ना कागजातहरू मिलाउनुहोस् र तिनलाई तपाईंका आपत्कालीन सम्पर्क व्यक्तिहरूले भेटाउन सक्ने सुरक्षित ठाउँमा राख्नुहोस्।”
“तपाईंलाई हिरासतमा पर्नुभएको खण्डमा तपाईंको बच्चाको स्याहार गर्न तपाईंले विश्वास गर्ने व्यक्तिलाई एकजना वैकल्पिक अभिभावक छनोट गर्नुहोस् । वैकल्पिक अभिभावकहरूसँग तिनको हेरचाहमा रहेका बच्चाका लागि प्रमुख मेडिकल निर्णयहरू र बच्चालाई कुन स्कुलमा पढाउने भन्ने निर्णयहरू लगायत महत्त्वपूर्ण निर्णयहरू गर्ने अधिकार हुन्छ,” पुस्तिकामा भनिएको छ ।
पुस्तिका नेपालीमा पढ्न यहाँ क्लीक गर्नुहोला ।






