न्युयोर्क सिटीमा वर्षापछि बेसमेन्टमा बाढी पस्दा २ जनाको मृत्यु


प्रकाशित मिति : कार्तिक १४, २०८२ शुक्रबार

aerial view of city buildings during daytime

फोटो: फ्लोरियन वेहडे

न्युयोर्क सिटी प्रहरीका अनुसार बिहीबार साँझ न्युयोर्क सिटीमा वर्षापछि बेसमेन्टमा बाढी पस्दा २ जनाको मृत्यु भएको छ । न्युयोर्क सिटीको वाशिंगटन हाइट्सको बेसमेन्टमा बाढी पस्दा एक व्यक्तिको मृत्यु भएको थियो भने फ्ल्याटबुशको बेसमेन्टमा बाढी पस्दा अर्का एक व्यक्तिको मृत्यु भएको थियो ।

फ्ल्याटबुशको बेसमेन्टमा घरपालुवा कुकुर बचाउन बेसमेन्टभित्र पुनः पसेका व्यक्तिको बाढीबाट मृत्यु भएको हो । बिहिबार भारी वर्षाका कारण न्युयोर्क क्षेत्रमा बाढी आएको थियो, जसले गर्दा ब्रुकलिन र म्यानहट्टनमा कैयन बेसमेन्टहरू जलमग्न भएका थिए ।

फ्ल्याटबुश क्षेत्रको आफ्नो बेसमेन्टमा रहेको एउटा कुकुरलाई बचाउन फेरि पस्दा फसेका ३९ वर्षीय ती व्यक्तिलाई एक गोताखोरले बाहिर निकालेका थिए। उनलाई किंग्स काउन्टी अस्पताल लगिएको थियो, जहाँ उनको मृत्यु भयो। अधिकारीहरूले उनको मृत्युको कारण बाढी नै भएको पुष्टि गरेका छैनन् ।

अर्का ४३ वर्षीय पुरुष म्यानहट्टनको वाशिंगटन हाइट्समा रहेको एउटा भवनको बेसमेन्ट बोयलर कोठामा मृत भेटिएका थिए । उनलाई घटनास्थलमै मृत घोषणा गरिएको थियो। प्रहरीले दुवै मृतकको नाम पुष्टि गरेको छैन।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

बिहिबार न्युयोर्क क्षेत्रमा तीन इन्चसम्म पानी परेको थियो। यो वर्षाले महानगरीय क्षेत्रका तीन दैनिक वर्षाको रेकर्ड तोडेको छ। लागुअर्डिया एयरपोर्टमा बिहिबार दुई इन्चभन्दा बढी, नेवार्क लिबर्टी इन्टरनेशनल एयरपोर्टमा १ दशमलव ९ इन्च र सेन्ट्रल पार्कमा १ दशमलव ८ इन्च वर्षा रेकर्ड गरिएको थियो ।

यो वर्षा आठ घण्टाको अवधिमा हुने अनुमान गरिएको थियो। तर, यसको अधिकांश भाग दिउँसो करिब ३ बजेर ५० मिनेटमा सुरु भएको थियो भने २० मिनेटको तीव्र वर्षाका रूपमा भएको थियो ।

बाढीको सबैभन्दा खराब अवस्था दिउँसो ३ बजेदेखि ५ बजेको बीचमा भएको थियो। फ्ल्याटबुश र क्वीन्सको होलिस सबैभन्दा बढी प्रभावित क्षेत्रहरू थिए, जहाँ पानीको सतह झन्डै दुई फिट गहिरो थियो।

सन् २०२१ मा न्युयोर्कमा बाढीबाट एकैपरिवारका ३ जना नेपालीको मृत्यु भएको थियो । न्युयोर्कमा भएको बर्षा र बाढीका कारण १९ महिनाका बालक लोप्साङ लामा , उनका बुबा ४९ बर्षका आङ गेलु लामा र आमा मिङमा शेर्पाको निधन भएको थियो ।

सोलुखुम्बु जुनबेसीका उनीहरु झण्डै डेढ दशकदेखि अमेरिकामा बस्दै आएका थिए । न्युयोर्कको क्वीन्स उडसाइड ६४ स्ट्रीटमा रहेको घरको बेसमेन्टमा बस्दै आएका उनीहरुको घरमा बाढी बसेपछि तीनैजनाको मृत्यु भएको हो । उनीहरुको झ्यालबाट पानी पसेको थियो ।

न्युयोर्क सिटीमा रहेका झण्डै ५० हजार बेसमेन्ट अपार्टमेन्टमा झण्डै १ लाख व्यक्ति बस्छन् । न्युयोर्क सिटीमा अधिकांश बेसमेन्ट अपार्टमेन्टहरु गैरकानूनी रुपमा संचालित छन् । गैरकानूनी रुपमा रहेका बेसमेन्टमा बस्ने कागजपत्रविहिनहरु घरनिकाला हुनसक्ने वा देशनिकाला हुनसक्ने त्रासले सम्पर्कमा आउन डराउने गरेका छन् ।

बाढीबाट सन् २०२१ मा क्वीन्सको उडसाइडमा मृत्यु भएका एकैपरिवारका तीनजना नेपालीहरु पनि गैरकानूनी रुपमा रुपान्तरण गरिएको जमिनको स्तरभन्दा तलको अपार्टमेन्टमा बस्दै आएका थिए । सिटी अधिकारीहरुले बेसमेन्टमा बस्दै आएकाहरुलाई घरनिकाला हुने कुनै पनि त्रास विना कुनै समस्या हुँदा ३११ व ९११ मा फोन गर्न सुझाव दिएका छन् ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com