अमेरिकामा देउसी–भैलोका साथ मनाइदै तिहार


प्रकाशित मिति : कार्तिक ६, २०८२ बिहीबार

नेपाली अमेरिकन कलाकार संघले न्युयोर्कको ज्याक्सनहाइटमा आयोजना गरेको देउसी भैलो । फोटो: राजन काफ्ले

नेपालीहरूको दोस्रो ठूलो चाड तिहार अमेरिकाका विभिन्न स्थानहरूमा देउसी–भैलो कार्यक्रमसहित मनाइदै छ । हिन्दू पात्रोअनुसार कार्तिक कृष्ण पक्ष त्रयोदशीका दिन काग तिहारबाट सुरु भएको तिहार कार्तिक शुक्ल पक्षको द्वितीयातिथिको भाइटीकासम्म गरी पाँच दिनसम्म मनाइन्छ।

देशभित्र रहेका नेपालीहरूले गाउँ–टोलमा जम्मा भएर तिहार मनाइरहँदा अमेरिकामा बस्ने नेपालीहरूले पनि यसलाई सामाजिक एकताको पर्वका रूपमा मनाइरहेका छन् । विशेष गरी तिहारमा खेलिने देउसी–भैलो देशबाहिर रहेका नेपालीहरूलाई एक ठाउँमा भेला गराउने अवशर बन्ने गरेको छ। त्यसैले व्यस्त दैनिकीका बीच पनि नेपालीहरूले देउसी–भैलोलाई विशेष महत्वका साथ समय दिने गरेका छन्।

नेपाली अमेरिकन कलाकार संघले न्युयोर्कको ज्याक्सनहाइटमा आयोजना गरेको देउसी भैलोमा अध्यक्ष बशन्ती राई, कलाकार निशा सुनार लगायत । फोटो:  राजन काफ्ले

यस वर्ष पनि अमेरिकाका विभिन्न राज्यमा रहेका नेपाली सम्बद्ध संघ–संस्थाहरूले सामूहिक रूपमा देउसी–भैलो कार्यक्रम गरेका छन् । साथै, अमेरिकामै जन्मिएका नयाँ पुस्तालाई पनि यसको सांस्कृतिक र सामाजिक महत्व बुझाउने प्रयास गरेका छन्।

अमेरिकाको न्यूयोर्कमा नेपाली अमेरिकन कलाकार संघले आयोजना गरेको देउसी–भैलो कार्यक्रममा न्यूयोर्क, न्यू जर्सी, पेन्सिलभेनिया र आसपासका क्षेत्रमा रहेका कलाकारहरूले सहभागिता जनाएका थिए। न्यूयोर्कको क्विन्समा आयोजित कार्यक्रममा विभिन्न कलाकारका एकल तथा सामूहिक प्रस्तुतीका साथ शुभकामना आदान–प्रदान गर्दै देउसी–भैलो खेलिएको थियो।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

नेपाली अमेरिकन कलाकार संघले न्युयोर्कको ज्याक्सनहाइटमा आयोजना गरेको देउसी भैलोमा न्युयोर्क राज्य संसद स्टीभन रागा, न्यूयोर्क सिटी मेयर एरिक एडम्सको कार्यालयका दक्षिण एसियाली समुदायका सम्पर्क अधिकारी सुकरानी धनपत लगायत नेपाली समुदायका सदस्यहरु । फोटो: राजन काफ्ले

कार्यक्रममा न्यूयोर्क राज्य संसद सदस्य स्टिभन रागा, न्यूयोर्क सिटी मेयर एरिक एडम्सको कार्यालयका दक्षिण एसियाली समुदायका सम्पर्क अधिकारी सुकरानी धनपत, विभिन्न संघ–संस्थाका प्रमुखहरुको सहभागिता थियो।

कार्यक्रममा राज्य सभा सदस्य स्टिभन रागाले आफू नेपालीहरूको अधिकांश पर्वसँग परिचित रहेको बताउँदै तिहार आफूलाई सबैभन्दा मनपर्ने चाड भएको बताए। नेपालीहरूको चाडपर्व मनाउने शैली अत्यन्त सुन्दर रहेको भन्दै उनले कार्यक्रममा सहभागी हुन पाएकोमा खुशी व्यक्त गरे।

कार्यक्रममा गायिका सपना श्री, गायक जगदीश समाल, गायक विमल डाँगी, गायिका सरिता डाँगी, कोरियोग्राफर गोविन्द राई, नृत्य निर्देशक शंकर बीसी, कलाकार पार्वती राई, कोरियोग्राफर शिव बीके र पार्कर कलाकार दिनेश सुनारलगायतले प्रस्तुति दिएका थिए।

स्याङ्जा समाज अमेरिकाले आयोजना गरेको देउसी भैलोमा प्रस्तुती दिदै कलाकारहरु । फोटो : राजन काफ्ले

त्यसैगरी, न्यूयोर्ककै क्विन्समा तमु परिवार न्यूयोर्क, स्याङ्जा समाज अमेरिका, सिन्धु यूएसए वेलफेयर सोसाइटी, म्याग्दी समाज न्यूयोर्कलगायतका संघ–संस्थाहरूले पनि देउसी–भैलो कार्यक्रम आयोजना गरेका छन्।

 

तमु परिवार न्यूयोर्कले आयोजना गरेको देउसी भैलो । फोटो : राजन काफ्ले

समूहगत रूपमा आयोजित यी कार्यक्रमहरूबाट संकलित सहयोग रकम संस्थागत उद्देश्यका साथै सामाजिक उत्तरदायित्व अन्तर्गत खर्च गरिने जनाइएको छ। आयोजकका अनुसार, देउसी–भैलोबाट उठेको रकम देशमा वा आफ्नै गाउँ–ठाउँमा आपत्–विपत् पर्दा सहयोगका लागि सदुपयोग गरिनेछ।

तमु परिवार न्यूयोर्कले आयोजना गरेको देउसी भैलो । फोटो : राजन काफ्ले

त्यस्तै, बोस्टनस्थित पशुपति बुद्ध फाउन्डेसन मन्दिर, टेक्सासमा रहेका नेपाली समुदायका विभिन्न संघ–संस्था, नर्थ क्यारोलाइना र साउथ क्यारोलाइनामा ग्रेटर शार्लोट नेपलिज एशोसिएसनलगायतका संघ–संस्थाहरूले पनि तिहारका अवसरमा देउसी–भैलो तथा शुभकामना आदान–प्रदान कार्यक्रम गरेका छन्।

तमु परिवार न्यूयोर्कले आयोजना गरेको देउसी भैलोमा प्रस्तुती दिदै कलाकार । फोटो : राजन काफ्ले
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com