पर्वतारोही र विश्व यात्री नवराजको प्रेरणादायी यात्रा


प्रकाशित मिति : पुस ५, २०८१ शुक्रबार

नवराज बास्तोलाको जीवन कथा केवल हिमाल चढ्ने र संसार घुम्ने मात्र होइन, यो एक सङ्घर्ष र आत्मबलको कथा हो । उनले आफ्नो जीवनका अनेकौँ कष्ट र चुनौतीलाई अवसरको रूपमा लिई, नेपाली समाजलाई संसारभर गर्वित बनाएका छन् । आज उनी एक प्रसिद्ध पर्वत आरोही र विश्व यात्रीका रूपमा परिचित छन् । उनले सगरमाथा, मनास्लु र अन्नपूर्ण प्रथम हिमाल लगायतको आरोहण गरेका छन् ।

बास्तोला भन्छन्, ‘जीवनमा सफलता प्राप्त गर्न, हामीले आफूलाई सधैँ सक्षम ठान्नुपर्छ र कहिल्यै हार मान्नु हुँदैन । यो उनको जीवनयात्राले नयाँ पुस्ताको लागि सिकाएको सुन्दर पाठ पनि हो ।’

हिमाल आरोहण गर्न आएका विदेशी पाहुनाहरूले छोडेको प्रभाव नवराजको जीवनको पहिलो प्रेरणा बन्यो । उनीहरूले दिएको चकलेट र देखाएको मायाले उनको मनमा हिमाल चढ्ने सपना रोप्यो । उनले पहिलो पटक डाँडाबाट हिमाल देख्दा त्यसले उनको जीवनको उद्देश्य निर्धारण गर्‍यो । मामाघरबाट देखिएको मनास्लु हिमालको दृश्यले अभिप्रेरित बालक नवराजको जीवनले कस्तो मोड लियो भन्ने कुरा प्रेरणादायी रहेको छ ।

बास्तोलाको जन्म कास्की जिल्लाको एक गाउँमा भएको हो, जहाँ हिमालको प्रत्यक्ष दृश्य देखिदैनथ्यों । एक दिन डाँडामा पुगेर हिमाल देख्दा उनको जीवनको पहिलो लक्ष्य तय भयो— हिमाल आरोहण गर्ने । गाउँमा विदेशी गोरा मान्छेहरू टेन्टमा बसेको देख्दा बालक नवराजले पनि भविष्यमा हिमाल चढ्ने सपना देख्न थाले ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

उनी भन्छन्, ‘जब मैले पहिलो पटक हिमाल देखेँ, त्यसले मेरो जीवनको उद्देश्य निर्धारण गर्‍यो ।’ बाल्यकालमा देखेको यो सपनापछि उनले एउटा ठुलो लक्ष्य बनाए—हिमाल चढ्न र संसार घुम्ने । नवराज बास्तोला, गाउँले परिवेशमा हुर्केका साहसिक योद्धा हुन,जसले संसारका सात महादेश र १ सय ५० भन्दा बढी देशको यात्रा गरेर नेपाली साहसको परिचय संसारभर फैलाएका छन् ।

सङ्घर्षको यात्रा :
नवराज आफ्नो सपना पुरा गर्नका लागि १३ वर्षको उमेरमा घर छोडेर निस्किएँ । आफै कमाएर सपना साकार पार्ने उनको हुटहुटीले भारत र पाकिस्तानको सिमानामा पुर्यायो । उनी भन्छन्, ‘मैले पहिलो पटक गोरखपुरमा ट्रक सहायकको काम गरे ।’

जहाँ उनले निकै सङ्घर्ष गरे । उनी भन्छन्, ‘पहिलो पटक पाकिस्तान जान खोज्दा मलाई थाहा भयो कि पासपोर्ट चाहिन्छ, मेरो त पासपोर्ट नै थिएन ।’ तर, यी असफलताले उनलाई रोक्न सकेन । उनले भारतमा दिनभर पढाइ र रातभर काम गरेर जीवनको आधार तयार गरे । अध्ययन पुरा गरेँ । भाँडा माझ्नेदेखि रेस्टुरेन्ट खोल्नेसम्म, उनले धेरै सङ्घर्ष गरेर आफ्नो सपना पुरा गर्ने बाटो बनाउँदै गए ।

उनले जीवनमा आएका हरेक चुनौतीको सामना गर्दै गरेको सङ्घर्षलाई अवसरको रूपमा लिएका थिए ।

सात महादेशको यात्रा र ऐतिहासिक उपलब्धि :

नवराज बास्तोलाको जीवनको महत्त्वपूर्ण मोड २०१७ को मे २१ तारिखमा आयो, जब उनले सगरमाथाको चुचुरोमा नेपाली झन्डा फहराए । यस उपलब्धिपछि उनले सात वटा महादेश र १५० भन्दा बढी देशको यात्रा पूरा गरेर विश्वमा नेपाली साहसको परिचय दिएका छन् ।

“अन्टार्कटिकामा नेपाली झन्डा फहराउने म पहिलो नेपाली हुँ”, उनी गर्वपूर्वक बताउँछन् ।

कठिनाइ र चुनौतीहरू :
नवराजले विश्व भ्रमण गर्दा नेपाली पासपोर्टका कारण धेरै कठिनाइहरूको सामना गरे । उनले भने, ‘नेपाली पासपोर्ट बोकेका कारण हामीलाई धेरै ठाउँमा हेपिन्छ, होटेल बुकिङदेखि भिसा प्रक्रियासम्म ।’

तर, यी चुनौतीहरूले उनको आत्मबललाई कहिल्यै कमजोर बनाउन सकेन । ‘हामीलाई अन्तर्राष्ट्रिय स्तरमा अझ बढी मान्यता दिलाउन राज्यले विदेश नीति सुधार गर्नुपर्छ’, उनी सुझाव दिन्छन् । साथै, उनले नेपाली नागरिकलाई हिमाल चढ्न लाग्ने रोयल्टी हटाउनुपर्ने र सगरमाथा तथा बुद्धको प्रचारप्रसार गर्नुपर्ने आवश्यकता औँल्याएका छन् ।

सगरमाथा चढ्ने र अन्टार्कटिकामा नेपालको झन्डा फहराउने साहसिक यात्रा उनका लागि ठुलो उपलब्धि थियो । उनले भने, ‘आत्मबल र परिश्रमले कुनै पनि लक्ष्य हासिल गर्न सक्छ ।’

जीवनभर हिमाल चढ्दा उनले आफ्नो सम्पत्ति र समयको धेरै हिस्सा खर्च गरेका छन् । उनले सबै हिमालको आरोहण आफ्नै खर्चमा गरेको सुनाएँ । ‘अहिले त मेरो अवस्था कमजोर हुँदै छ, सबै सम्पत्ति विश्व यात्रा र हिमाल चढ्दा सके ।’, उनी भन्छन् ।

शारीरिक र मानसिक बल :
हिमाल चढ्ने क्रममा आउने प्राकृतिक चुनौती, हिम पहिरो, र मौसम परिवर्तनले ज्यानको जोखिम मोल्नुपर्छ । ‘हिमाल चढ्दा शारीरिक र मानसिक रूपमा बलियो हुनु आवश्यक छ’, नवराज बताउँछन् ।

उनको जीवन-खुसी र दुःखको मिश्रण-यात्रा गर्ने क्रममा विभिन्न कठिनाइहरूसँग लडेर सिकेका पाठहरूले भरिएको छ ।

जीवनका स्मरणीय पल :
चीनको ४८ घण्टाको रेल यात्रा नवराजका लागि सबैभन्दा अविस्मरणीय यात्रामध्ये एक हो । त्यस क्रममा उनले विविध संस्कृतिको अनुभव गरे । मानिसहरूको सोचलाई नजिकबाट बुझे । रुसको सीमा प्रहरीदेखि मेक्सिकोको कडा नियमहरूसम्म उनले धेरै चुनौतीहरूको सामना गरे । घुम्दा खाना नपाउँदा पानीको भरमा बाँचेको सुनाउँदै भने, ‘भोक लागेको बेला पानी पनि निकै मिठो हुने रहेछ ।’

उनले दक्षिण अफ्रिकामा स्थानीयसँग बिताएको समय र अमेजनको वर्षा वनमा देखेको प्राकृतिक सौन्दर्यलाई आफ्नो यात्राका विशेष अनुभवका रूपमा उल्लेख गरेका छन् । यी अनौठा अनुभवले उनलाई जीवनको विविधता र प्रकृतिसँगको नजिकको सम्बन्धबारे थप सजग बनायो ।

उनले ट्रान्स साइबेरिएन रेलमार्गको ९,२८९ किलोमिटर यात्राको अद्वितीय अनुभव बटुलेका छन् । नेपालदेखि लन्डनसम्मको स्थल मार्ग यात्रा, अझ रोमाञ्चक रहेको बताए । यो यात्रा उनले बिना हवाई सम्पन्न गरेका हुन । यात्रा भारत, पाकिस्तान, इरान, अफगानिस्तान, टर्की, बुल्गेरिया, रोमानिया, हंगेरी, अस्ट्रिया, जर्मनी, फ्रान्स हुँदै लन्डनसम्मको यात्रामा उनले धेरै अप्ठाराहरुको सामना गरेका थिए । तर उनले आफ्नो लक्ष्यलाई कुनै पनि अवस्थामा पुरा गरि छोड्ने अठोट कायम नै थियो ।

जीवनको दर्शन :
नवराज भन्छन्, ‘बिहान उठ्नु बित्तिकै ऐनाको अगाडी उभिएर मुस्कुराउँदै आफैँलाई भन्नुपर्छ, ‘आई.एम.द. वेस्ट’, अनि दिनको सुरुवात गर्नुपर्छ । आफ्नो आत्मबल र मेहनतले सबै सम्भव छ, असम्भव भन्ने केही हुँदैन ।’

नयाँ पुस्ताका लागि प्रेरणा :
नवराज बास्तोलाको सङ्घर्ष, धैर्य, र समर्पणले नयाँ पुस्तालाई जीवनका सबै चुनौतीहरूलाई अवसरका रूपमा लिन सिकाउँछ । ‘जीवनमा सफलता प्राप्त गर्न, हामीले आफूलाई सधैँ सक्षम ठान्नुपर्छ र कहिल्यै हार मान्नु हुँदैन’, नवराजको यो भनाइले जीवनको सही मार्गदर्शन दिन्छ । उनी नेपाली साहसको प्रतीक हुन ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com