अमेरिकाको विद्यार्थी भिसाका लागि हरेक महिना खोलिने नयाँ अप्वाइन्टमेन्ट स्लटको मिति घोषणा
प्रकाशित मिति : मंसिर २०, २०८१ बिहीबार
अमेरिकी दूतावास काठमाडौंले हरेक विद्यार्थी भिसाका नयाँ अप्वाइन्टमेन्ट स्टलहरु खोल्न जारी राखेको छ । प्रत्येक महिनाको एक मितिमा नयाँ विद्यार्थी भिसा अप्वाइनटमेन्टका स्लटहरु खोल्ने र ती मितिहरू अग्रिममा घोषणा गर्ने दूतावासको भनाई अनुशार जनवरी २२, मार्च १३, अप्रिल १७ र मे १५ मा क्रमशः अप्रिल, मे, जुन र जुलाईका लागि अप्वाइन्टमेन्ट स्लटहरु खोलिने भएको छ ।
ती मितिहरुमा अप्वाइन्टमेन्टहरु विहान ८ बजे खुल्ने अमेरिकी दूतावास काठमाडौंले जनाएको छ । अमेरिकी दूतावासहरुमा भिसा अप्वाइन्टहरु पाउन निकै लामो समय कुनुपर्ने बाध्यता रहेको अवस्थामा अमेरिकी दूतावास काठमाडौंले त्यसलाई सहज बनाउन नयाँ योजना ल्याएको हो । विगतमा पनि अमेरिकी दूतावासले बेलाबेलामा भिसाका अतिरिक्त नयाँ अप्वाइन्टमेन्ट स्टलहरु खोल्दै आएपनि मासिक रुपमा नियमित भने गरेको थिएन । दूतावासले आवेदकको चापलाई मध्यनजर गरेर बेलाबेलामा विदाको दिन आइतबार समेत भिसा अन्तरवार्ता लिने गरेको थियो ।
अमेरिकी दूतावास काठमाडौंमा विद्यार्थी भिसाका लागि अप्वाइन्टमेन्ट पाउन औषतमा ६ महिना र भिजिटर भिसाका लागि अप्वाइन्टमेन्ट पाउन औषतमा ९ महिना कुनुपर्ने बाध्यता रहेको छ । तर विद्यार्थी भिसाका लागि ६ महिनापछिको अप्वाइन्टमेन्ट लिंदा पढाई छुट्ने समस्या भएकाले उक्त अवधिलाई घटाउन दूतावासले नयाँ कदम चालेको हो । २०२५ मा अमेरिका अध्ययनका लागि आउन चाहनेहरुले अब थप भिसा अप्वाइन्टमेन्ट स्लटबाट फाइदा लिन सक्ने भएका छन् ।
अमेरिकाको विद्यार्थी भिसाका लागि आवेदन दिने नेपालीहरुको चाप पछिल्लो समयमा अत्यन्तै बढेको छ । यो चापसँगै विद्यार्थी भिसा पाउने नेपालीहरुको संख्यामा पनि ऐतिहासिक रेकर्ड कायम भएइसकेको छ । आर्थिक बर्ष २०२४ मा कुल १३ हजार ५ सय २४ जना नेपालीहरुले अमेरिकाको विद्यार्थी भिसा पाएका छन् भने भिसा पाउने उनीहरुका डिपेन्डेन्टहरुको संख्या अलग छ ।
आर्थिक बर्ष २०२३ मा ६ हजार २ सय ३ जना नेपालीहरुले अमेरिकाको विद्यार्थी भिसा पाएको रेकर्ड अमेरिकी सरकारको विदेश मन्त्रालय ब्यूरो अफ कन्सुलर अफेयर्सले जारी गरेको छ । उक्त संख्याको तुलनामा २०२४ मा जारी विद्यार्थी भिसा संख्या दोब्बरभन्दा पनि बढी हो ।
यद्यपी डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीले जारी गरेको तथ्यांक अनुशार आर्थिक बर्ष २०२३ मा १० हजार २ सय २० जना नेपाली विद्यार्थी र एक्सचेन्ज भिजिटरका रुपमा अमेरिका प्रवेश गरेका थिए । होमल्याण्ड सेक्युरिटीको तथ्यांक जारी भिसाका आधारमा नभई आई ९४ का आधारमा गणना गरिएकाले उनीहरु सबै २०२३ मा भिसा पाउनेहरु भने होइनन्, विगतमा भिसा पाएर २०२३ मा अमेरिकाबाहिर गएर फर्कनेहरु पनि यसमा समावेश छन् ।





