एनपिएलमा जनकपुरको लगातार दोस्रो जित, कर्णाली याक्स ८ विकेटले पराजित


प्रकाशित मिति : १७ मंसिर २०८१, सोमबार

ब्याटिङ गर्दै जनकपुर बोल्ट्सका क्याप्टेन साह काठमाडौँ, १७ मङ्सिरः कीर्तिपुर किक्रेट मैदानमा जारी नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट प्रतियोगितामा कर्णाली याक्सविरूद्ध ब्याटिङ गर्दै जनकपुर बोल्ट्सका क्याप्टेन अनिलकुमार साह । तस्बिरः प्रदीपराज वन्त÷रासस

नेपाल प्रिमियर लिग (एनपिएल) मा जनकपुर बोल्ट्सले लगातार दोस्रोे जित निकालेको छ ।

सोमबार त्रिवि क्रिकेट मैदान, कीर्तिपुरमा भएको एनपिएलकोे तेस्रो खेलमा कर्णाली याक्सलाई ८ विकेटले हराउँदै जनकपुरले दोस्रो जित हासिल गरेको हो । टस जितेर पहिले ब्याटिङ रोजेको कर्णालीले जितको लागि जनकपुरसामु एक सय ४२ रनको लक्ष्य प्रस्तुत गरेको थियो ।

जवाफी ब्याटिङमा उत्रिएको जनकपुरले १५ दशमलव १ ओभरमा उक्त लक्ष्य पूरा गर्यो ।।

जनकपुरको लागि कप्तान अनिल शाहले अर्धशतकीय पारी खेले । उनले ४२ बलमा तीन छक्का र ६ चौकाप्रहार गर्दै अविजित ६२ रन बनाए । जनकपुरको लागि आशिफ शेखले ३६ रनको योगदान दिए । उनले २९ बलमा दुई चौका र दुई छक्काका मद्धतले ३६ रन बनाएका हुन् । लाहिरु मिलन्थाले २४ रनको योगदान दिए भने जेम्स निशमले अविजित १६ रन बनाए ।

जनकपुर बोल्ट्सले अतिरिक्त ४ रन पायो ।

कर्णाली याक्सको लागि जिशान मकसूद र मौसम ढकालले समान एक/एक विकेट लिए ।

त्यसअघि, कर्णालीले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै एक सय ४१ रन बनाएको थियो ।

कर्णालीका लागि गुल्सन झाले सर्वाधिक ३६ रन बनाए । उनले २७ बलमा ३ छक्का र एक चौकाको मद्धतले ३६ रन बनाएका हुन् । अर्जुन घर्तीले २२ बलमा दुई छक्का र दुई चौकाको मद्धतले ३३ रन बनाए भने सोमपाल कामीले १३ बलमा एक छक्का र तीन चौका प्रहार गर्दै २९ रनको योगदान दिए ।

त्यस्तै, कर्णालीका लागि शिखर धवनले १४ बलमा १४ रन बनाए । उनले सो क्रममा तीन चौका समेत प्रहार गरे । बाबर हायातले १२, चाडविक वाल्टनले ८, देव खनालले ५ बलमा एक रन बनाए । कर्णाली याक्सबाट खेलेका ओमानका जिशान मक्सुदले एक रन पनि जोड्न सकेनन् ।

कर्णालीले अतिरिक्त ८ रन पायो ।

जनकपुरको लागि मोहम्मद मोहसिनले सर्वाधिक दुई विकेट लिए । किशोर महतो, ललित राजवंशी, हर्ष ठाकर र जेम्स निशमले समान एक/एक विकेट लिए ।

जनकपुरको यो लगातार दोस्रो जित हो । यसअघि, शनिबार भएको उद्घाटन खेलमा जनकपुरले विराटनगर किङ्सलाई ८ विकेटले पराजित गरेको थियो ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com