दसैँका लागि चलनचल्तीकै सफा र सुकिलो नोट साट्न पाइने


प्रकाशित मिति : भाद्र २१, २०८१ शुक्रबार

नेपाल राष्ट्र बैंकले यसपटकको दसैँमा सर्वसाधारणका लागि हाल प्रयोग गरिरहेकै चलनचल्तीका योग्य नोट सटही दिने भएको छ । राष्ट्र बैंकले विगतका वर्षहरूमा नयाँ नोटको सटही दिने गरेको थियो । यसपटक भने प्रयोगमा आइसकेका सुकिलो वा सफा नोट साट्न पाइने नेपाल राष्ट्र बैंकका सहायक प्रवक्ता डा डिल्लीराम पोखरेलले जानकारी दिनुभयो ।

“नोट सटहीका लागि विगत वर्षहरूमा हामीले जसरी दिइरहेका छौँ, त्यसमा केही परिवर्तन भएको छैन । तर यस वर्ष नयाँ नोट नभई सफा र सुकिलो नोट सटही गर्ने निर्णय भएको छ”, पोखरेलले भन्नुभयो, “सुकिलो बैंक नोट कहाँ, कैले, कसरी, कति सटही पाइन्छ ? जस्ता विषयमा राष्ट्र बैंकले चाँडै सूचना सार्वजनिक गर्नेछ ।” सफा र सुकिलो नोटको मौज्दात रहुञ्जेलसम्म नयाँ नोटको सटही नदिने निर्णय राष्ट्र बैंक व्यवस्थापनले गरेको हो । सटही दिएका नोटको अधिक माग हुने र सटही व्यवस्थापनसमेत झण्झटिलो हुने गरेको थियो ।

दसैँको मुखमा सटही गरिएका नोट उक्त चाडबाड सकिएपछि बैंक तथा वित्तीय संस्थामा फिर्ता आउने र तत्पश्चात ती नोटको माग ज्यादै न्यून हुने भएकाले ढुकुटीमा लामो समय थन्क्याएरै राख्नुपर्ने अवस्था रहने नेपाल राष्ट्र बैंक मुद्रा व्यवस्थापन विभागका निर्देशक वासुदेव भट्टराई बताउनुहुन्छ । “विगतका दसैँमा सटही गरिएका नोटको दुईदेखि झण्डै तीन गुणासम्म सुकिला नोट राष्ट्र बैंक र बैंक तथा वित्तीय संस्थाका ढुकुटीमा छन् । ती नोट ढुकुटीमा राखिराख्दा गल्ने, सड्ने, बिग्रने तथा कुहिने अवस्था सृजना हुनुभन्दा तिनै नोटको सटही व्यवस्था गर्नु उपयुक्त हो”, उहाँले भन्नुभयो ।

नेपाली नोटकोे कागज ‘कटन बेस्ड’ हुने र लामो समय प्रयोगविहीन भई ढुकुटीमा भण्डारण हुँदा ती नोटमा चिसो, ओस तथा अपर्याप्त हावा र प्रकाशका कारण ढुसी आउने गर्दछ । यस्तो हुँदा नोटको आयुसमेत घट्दै जाने भई पुनःप्रयोग गर्न अयोग्य हुन सक्दछ । साथै, बजारमा कारोबारका लागि नगद नोट जति धेरैको हातहातमा पुगेर बैंकमा फिर्ता आयो त्यति नै नोटको प्रभावकारी उपयोग भएको मानिन्छ । यसकारण नोटको छपाइ, भण्डारण, ओसारपसार र धुल्याउनेजस्ता बैंक नोट व्यवस्थापनका आधारभूत कार्यहरूलाई मितव्ययी एवंं प्रभावकारी बनाउनसमेत सुकिलो नोटको उपयोग बढाउनु आवश्यक रहेको निर्देशक भट्टराईले बताउनुभयो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

चाडबाडका समयमा मुख्यतयाः रु ५, १०, २०, ५० र १०० दरका नोटहरूको माग अत्यधिक हुने गरेको छ । साना दरका यस्ता नोटको होल्डिङ लागतसमेत न्यून हुने हुँदा सर्वसाधारण तथा व्यावसायिक क्षेत्रले आवश्यकताभन्दा बढी नोट सटही गरी क्रमशः कारोबारको आवश्यकता पूरा गर्ने तथा घरमै राख्ने प्रचलन रहेको पाइन्छ । रु पाँच सय र एक हजार दरका नोटको हकमा भने बजारमा वृद्धि हुने चाडबाडलक्षित कारोबार अनुरुप माग हुने गरेको छ ।

देशभर नोटको आपूर्ति गर्ने र पुराना तथा मैला नोटहरुलाई खिचेर प्रतिस्थापन गर्दै जाने कार्य नेपाल राष्ट्र बैंकअन्तर्गतको मुद्रा व्यवस्थापन विभागबाट हुँदै आएको छ । मुलुकभर सफा नोट प्रचलनमा ल्याउने उद्देश्यले राष्ट्र बैंकले आर्थिक वर्ष २०६७/६८ को मौद्रिक नीतिमार्फत ‘सफा नोट नीति’ ल्याएको थियो । आार्थिक कारोबारको सिलसिलामा बजारमा सफा नोटमात्र प्रयोग गर्ने र कारोबारको क्रममा पुराना मैला नोट खिचेर जलान गर्ने नीतिगत व्यवस्था नै सफा नोट नीति हो । बैंक नोट छपाइको काम अन्तर्राष्ट्रिय टेण्डर प्रक्रियाबाट विदेशमा हुने गरेको छ । नोट छपाइमा विदेशी मुद्राको ठूलो राशि खर्च हुने भएकाले त्यसमा कमी ल्याउन पनि नोट सफा राखिराख्नु आवश्यक छ ।

चलनचल्तीमा गुणस्तरीय, विश्वस्त र सफा नोटमात्र चलनचल्तीमा ल्याउने तथा मक्किएका, च्यातिएका, गलेका पुराना तथा मैलो नोटहरु प्रशोधन तथा जलानमार्फत चलनचल्तीबाट हटाउँदै लैजाने काम राष्ट्र बैंकले गर्दै आएको छ । बैंक तथा वित्तीय संस्थामा रहेका नोटलाई गुणस्तर हेरी वर्गीकरण गरेर राख्नुपर्ने व्यवस्था रहेको र यसलाई कार्यान्वयन गरेरनगरेकोबारे राष्ट्र बैंकले अनुगमनसमेत गर्ने गरेको सहायक प्रवक्ता पोखरेलले बताउनुभयो ।

उहाँका अनुसार बैंक तथा वित्तीय संस्थाले आफ्नो संस्थामा प्राप्त हुन आएका नोटलाई एटिएमलगायतका मेसिनहरूको माध्यमबाट चलनचल्तीमा पठाउन योग्य, काउन्टरबाट भुक्तानी गरी चलनचल्तीमा पठाउनयोग्य र चलनचल्तीमा पठाउन अयोग्य गरी नोटलाई तीन वर्गमा छुट्याउनुपर्ने व्यवस्था छ । बैंक नोटको अवस्थाअनुसार त्यसलाई छुट्याएकोरनछुट्याएको विषयमा राष्ट्र बैंकले अनुगमन गर्ने गरेको सहप्रवक्ता पोखरेल बताउनुहुन्छ । एटिएमलायत मेसिनको माध्यमबाट चलनचल्तीमा पठाउन योग्य नोटको प्याकेटमा हरियो रङको, काउन्टरबाट भुक्तानी गरी चलनचल्तीमा पठाउनयोग्य नोटको प्याकेटमा सेतो रङ र चलनचल्तीमा पठाउन अयोग्य नोटको प्याकेटमा रातो रङको स्लिप प्रयोग गर्नुपर्ने व्यवस्था छ ।

झुत्रिएको, मक्किएको, जलेको, गलेको, लुलो भएको, कीराले खाएको, पानीले भिजेको, छपाइ बिग्रेको, नोटमा रहेका अक्षर अङ्क, चित्र तथा सुरक्षण विशेषताहरु नबुझिने वा बिग्रिने गरी रङ लागेको, लेखिएको, कोरिएको, मेटिएको, च्यातिएको वा पूर्वराजाको तस्बिरअङ्कित नोटलाई पुनः निष्काशन अयोग्य नोटका रुपमा वर्गीकरण गरी नेपाल राष्ट्र बैंकले नष्ट गर्ने गरेको छ ।

टीका लगाई दक्षिणा दिँदा, पूजाआजा गर्दा वा अन्य कुनै धार्मिक वा सांस्कृतिक कार्य गर्दा रङ लागेको वा मैलिएका हातहरूले नोट छुँदा त्यस्ता नोट चलनचल्तीमा आउँदैनन् । नोट राष्ट्रको सम्पत्तिसमेत भएकाले यसमा रङरू लगाउने, लेख्ने वा केरमेट गर्ने, नोटको आकार बिगार्नेजस्ता कार्य गरी नेपाली नोटको दुरुपयोग गर्ने/गराउनेउपर कारबाही गर्न सकिने व्यवस्था रहेको छ ।

मुलुकी अपराध संहिता, २०७४ मा परिच्छेद २२ मा मुद्रासम्बन्धी कसुरसम्बन्धी व्यवस्था गरिएको छ । दफा २६३ मा बैंक नोट वा सिक्का जलाउन, गाल्न, च्यात्न वा बैंक नोटमा लेख्न नहुने व्यवस्था रहेको छ । यदि त्यस्तो कसुर गरे वा गराएमा गर्ने र गराउने व्यक्तिलाई तीन महिनासम्म कैद र रु पाँच हजारसम्म जरिवाना हुने व्यवस्था रहेको छ । त्यस्तै, अपराध संहिताको दफा २६४ मा झुत्रो बैंक नोट दुरुपयोग गर्न नहुनेसम्बन्धी व्यवस्था रहेको छ ।

नोटको सुरक्षा गर्न नोटलाई सकभर वालेट वा पर्समा नपट्याइकन राख्ने, कुनै पनि प्रकारको रङ नलगाउने गर्नुपर्दछ । नोटमा जथाभावी लेख्नु हुँदैन । त्यस्तै, नोटमा केरमेट गर्ने, च्यात्ने, स्टिच गर्ने, टाँस गर्नेजस्ता नोटको क्षति हुने तथा आयु घट्ने कार्य गर्नु हुँदैन । यसमा आवश्यकतानुसार रबर, प्लास्टिक, पेपर बैण्ड प्रयोग गर्न सकिन्छ । रासस

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com