बालबालिकाले अमेरिकी नागरिकता लिने प्रावधानबारे नीति अपडेट, जान्नैपर्ने ८ बुँदा


प्रकाशित मिति : श्रावण ३, २०८१ बिहीबार

युएससीआईएसले बालबालिकाले अमेरिकी नागरिकता कसरी लिने भन्ने प्रावधानबारे नीति अपडेट गरेको छ । यी परिवर्तनहरू सार्वजनिक प्रतिक्रिया, भर्खरको सर्वोच्च अदालतको निर्णय र विद्यमान नीतिहरूमा थप स्पष्टीकरणको आवश्यकताका कारण गरिएको युएससीआईएसले जनाएको छ ।

आप्रवासन र राष्ट्रियता ऐनले निश्चित परिस्थितिहरूमा अमेरिकी नागरिकका अमेरिका बाहिर जन्मेका छोराछोरीहरूले अमेरिकी नागरिकता प्राप्त गर्नसक्ने व्यवस्था गरेको छ। अमेरिकी नागरिकका अमेरिकाबाहिर जन्मेका बच्चाहरुले जन्मजात अमेरिकी नागरिकता प्राप्त गर्न सक्छन् । बच्चाहरुले जन्मेपछि तर १८ बर्ष अगाडि पनि अमेरिकी नागरिक भएका बुबाआमा मार्फत अमेरिकी नागरिकता प्राप्त गर्न सक्छन् । यी सन्दर्भहरुमा युएससीआईएसले नीति अपडेट गरेको हो ।

पहिलो, नयाँ मार्गदर्शनले नागरिकताको प्रमाणपत्रको लागि पहिले नै आवेदन दायर गरेका र अस्वीकार गरिएका आवेदकहरूले नीतिमा यो परिवर्तन पछि योग्य भएको खण्डमा पहिले अस्वीकार भएको आवेदनलाई पुनः खोल्न प्रस्ताव पेश गर्न सक्ने सुनिश्चित गरेको छ । दोश्रो, अमेरिकी नागरिकका बच्चाको जन्म हुनु अघि बुबाआमाले कुनै अध्यागमन स्टाटसमा भएको वा कुनै पनि स्टाटस नभएको सन्दर्भमा समेत अमेरिकामा शारीरिक उपस्थितिको आवश्यकता पूरा गर्नसक्ने प्रष्ट पारिएको छ ।

तेश्रो, दुई अमेरिकी नागरिक आमाबाबुको विवाहभन्दा बाहिरबाट बच्चा जन्मेको अवस्थामा र बुबाबाट अमेरिकी नागरिकता प्राप्त गर्न नसक्ने अवस्थामा आमाले बच्चा जन्मनुअगाडि अमेरिकामा १ वर्षको निरन्तर शारीरिक उपस्थिति प्रदर्शन गरेर बच्चालाई अमेरिकी नागरिकता दिलाउन सक्नेछन् । चौथो, जन्मजात नागरिकता प्राप्त गर्ने उद्देश्यका लागि बच्चाको जन्मको समयमा सम्बन्धित क्षेत्राधिकारद्वारा आमाबाबुलाई बच्चाको कानुनी अभिभावकको रूपमा मान्यता दिन आवश्यक हुने सुनिश्चित गरिएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

पाँचौं, बच्चाको १८ औं जन्मदिनको दिनसम्म पनि अन्तिम सर्त पूरा भएमा बच्चा १८ वर्ष मुनिको हुँदाका सबै सर्तहरू पूरा गर्न आवश्यक पर्ने कानूनहरू अन्तर्गत नागरिकता प्राप्त गर्न योग्य हुने स्पष्ट पारिएको छ । त्यसैगरी युएससीआईएसले आवेदन स्वीकृत गरेमा र बच्चाको १८ औं जन्मदिनको दिनसम्म बच्चाले शपथ लिनसकेमा पनि बच्चा अमेरिकी नागरिकता प्राप्त गर्न योग्य हुने प्रष्ट पारिएको छ ।

छैठौं, युएससीआईएसले अमेरिकी नागरिकताको प्रमाणको रूपमा वैध र म्याद नसकिएको अमेरिकी राहदानी वा कन्सुलर रिपोर्ट अफ बर्थ अब्रोड स्वीकार गर्ने प्रष्ट पारेको छ । यद्यपि युएससीआईएसले आवेदकले उचित रूपमा अमेरिकी नागरिकता प्राप्त गरे नगरेको पनि निर्धारण गर्नेछ । आवश्यक भएमा युएससीअाँईएसले नागरिकताको प्रमाणपत्रको लागि आवेदनबारे निर्णय गर्नु अघि विदेश मन्त्रालय समक्ष अमेरिकी राहदानी रद्द गराउन अनुरोध गर्न सक्छ।

सातौं, युएससीआईएसले आवेदकको अमेरिकी नागरिकताको दाबीका अतिरिक्त आवेदकका आमाबुवा वा हजुरबा हजुरआमाको लागि अमेरिकी नागरिकताको दाबीबारे पनि निर्णय गर्छ । नागरिकताको प्रमाणपत्रको लागि आवेदनहरू निर्णय गर्दा यदि आवेदकको आमाबाबु वा आमाबाबुको अमेरिकी नागरिकता अज्ञात वा अस्पष्ट भएमा अधिकारीले आवेदकको नागरिकता आवेदनमा निर्णय गर्नु अघि आवेदकको आमाबाबुको वा हजुरबा हजुरआमाको अमेरिकी नागरिकता स्थिति निर्धारण गर्नेछ ।

आठौं, बाबुआमाको क्रुरताबाट प्रभावित अमेरिकी नागरिकका बच्चाहरूले उक्त नियमको अधीनमा रहेर दायर गरेको नागरिकता आवेदनका लागि आवेदनको समयमा अमेरिकी नागरिक सौतेनी आमाबाबुसँग सौतेनी सन्तानको सम्बन्ध अवस्थित हुन आवश्यक नभएको पनि नीतिमा प्रष्ट पारिएको छ ।

यो अपडेट तुरुन्तै लागु हुने युएससीआईएसले जनाएको छ । साथै अपडेट प्रकाशनको मिति वा पछि पेन्डिङ रहेका वा दायर गरिएका आवेदनहरूमा पनि लागू हुने प्रष्ट पारिएको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com