दक्षता नभएकालाई पनि रोजगारमा आधारित अमेरिकी ग्रिनकार्ड, तर प्रकृया र लाग्ने अवधि यस्तो छ!


प्रकाशित मिति : असार १९, २०८१ बुधबार

अमेरिकाका रोजगारमा आधारित विभिन्न श्रेणीका ग्रिनकार्डहरु रहेका छन्, जसमध्ये दक्ष र दक्षता नभएकाहरुका लागि तेश्रो श्रेणीको ग्रिनकार्डको प्रावधान रहेको छ । तर यो ग्रिनकार्ड प्राप्त गर्न अहिले झण्डै ५ बर्ष लाग्ने गरेको छ । जुलाईको भिसा बुलेटिन अनुशार लेबर सर्टिफिकेशन फाइल गरेको मितिले तेश्रो श्रेणीको दक्ष अर्थात् स्कील्ड श्रेणीमा ग्रिनकार्ड अर्थात् आप्रवासी भिसा प्राप्त गर्नका लागि कम्तीमा २ बर्ष ८ महिना लाग्ने गरेको छ भने दक्षता नभएका अर्थात् अनस्कील्डहरुलाई २ बर्ष ७ महिना लाग्ने गरेको छ ।

अमेरिकाभित्र हुनेहरुका सन्दर्भमा भिसा करेन्ट भइसकेपछि ग्रिनकार्ड आवेदन आई ४८५ फाइल गर्नका लागिमात्र लेबर सर्टिफिकेशन फाइल गरेको मितिले तेश्रो श्रेणीको दक्ष अर्थात् स्कील्ड श्रेणीमा  २ बर्ष ८ महिना कुनुपर्छ भने दक्षता नभएका अर्थात् अनस्कील्डहरुले २ बर्ष ७ महिना कुर्नुपर्छ । तर अमेरिकाभित्रै हुनेहरुले आई ४८५ फाइल गरिसकेपछि वर्क परमिट प्राप्त गर्न र एड्भान्स परोल डकुमेन्ट लिएर अमेरिबाहिर यात्रा गर्न समेत पाउँछन् । यद्यपी अमेरिकाभित्र हुनेहरु ग्रिनकार्ड आवेदन आई ४८५ फाइल गर्नुभन्दा अगाडि गैर कानुनी उपस्थीति भएको भने हुनुहुँदैन ।

आई १४० आवेदन स्वीकृत हुन दक्ष र पेशाकर्मीहरुका लागि नेब्रास्का सर्भिस सेन्टरमा साढे ७ महिना र टेक्सास सर्भिस सेन्टरमा ८ महिना लाग्ने गरेको छ । त्यस्तै दक्षता नहुनेका लागि नेब्रास्का सर्भिस सेन्टरमा साढे ८ महिना र टेक्सास सर्भिस सेन्टरमा ८ महिना लाग्ने गरेको छ । अमेरिकाभित्र हुनेहरुका लागि आई ४८५ आवेदन स्वीकृत हुन क्यालिफोर्निया सर्भिस सेन्टरमा साढे २० महिना, नेब्रास्का सर्भिस सेन्टरमा १५ महिना र टेक्सास सर्भिस सेन्टरमा ३२ महिना लाग्ने गरेको छ ।

रोजगारमा आधारित तेश्रो श्रेणीको ग्रिनकार्डका लागि लेबर सर्टिफिकेशन आवश्यक हुने भएकाले आई १४० आवेदन दिनुभन्दा अगाडिको प्रकृया झण्डै २ बर्ष लामो हुने गरेको छ । प्रचलित ज्याला निर्धारण र लेबर सर्टिफिकेशन लगायतका प्रकृयाहरु पूरा गर्नुपर्ने भएकाले यो प्रकृयाका लागि झण्डै २ बर्ष लाग्ने गरेको हो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

आई १४० आवेदन दिनुभन्दा अगाडिको अवधि २ बर्ष, भिसा करेन्ट हुन्जेल कुनुपर्ने थप अवधि झण्डै ६ महिना, आई १४० आवेदन स्वीकृत हुनका लागि लाग्ने अवधि झण्डै ८ महिना र त्यसपछि अमेरिकाबाहिर हुनेहरुका सनदर्भमा नेशनल भिसा सेन्टरमा आवेदन गइसकेपछि भिसाको अन्तरवार्ता आउनका लागि लाग्ने अवधि तथा अमेरिकाभित्र हुनेहरुको सन्दर्भमा आई ४८५ आवेदन स्वीकृत हुन लाग्ने अवधिको ब्याकलग समेत जोड्दा ५ बर्षको हाराहारीमा हुन आउँछ ।

यसरी समग्रमा रोजगारमा आधारित तेश्रो श्रेणीको ग्रिनकार्ड वा आप्रवासी भिसा पाउन अहिलेको अवस्था अनुशार झण्डै ५ बर्ष लाग्ने गरेको छ ।

यदि तपाईं दक्ष कामदार, व्यावसायिक वा दक्षता नभएको अन्य कामदार हुनुहुन्छ भने तपाईं यो श्रेणीको ग्रिनकार्डका लागि योग्य हुन सक्नुहुन्छ। यसमा दक्ष कामदार भन्नाले अस्थायी वा मौसमी प्रकृतिको नभई जागिरको अफर गरिएको काम न्यूनतम २ वर्षको तालिम वा अनुभव आवश्यक पर्ने खालको हुनुपर्छ । दक्ष कामदारले रोजगारीको अवसरको शैक्षिक, तालिम वा अनुभव आवश्यकताहरू पूरा गर्नुपर्छ। सान्दर्भिक पोस्ट सेकेन्डरी शिक्षालाई प्रशिक्षणको रूपमा मान्न सकिन्छ।

पेशेवर व्यक्तिका रुपमा यो श्रेणीको ग्रिनकार्डमा योग्य जागिरको अफर गरिएको काम कम्तिमा अमेरिकी स्नातक वा विदेशी समकक्ष डिग्री चाहिने प्रकारको हुनुपर्छ । व्यक्ति तोकिएको पेशाको सदस्य हुनुपर्छ । त्यस्तै तेश्रो श्रेणीको दक्षता नभएको श्रेणीका लागि अनुभव नचाहिने वा २ वर्ष भन्दा कमको अनुभव भए पुग्ने प्रकारको जागिरको अफर हुनुपर्छ । यो श्रेणीमा डिसवासर लगायतका कामहरु पनि योग्य हुनसक्छन् ।

यो श्रेणीमा ग्रिनकार्ड आवेदनका लागि सबैभन्दा पहिले अमेरिकी कम्पनीले रोजगारको अफर दिएको हुनुपर्छ । साथै उक्त कम्पनीले दिएको रोजगारको अफरका लागि काममा राख्ने व्यक्तिलाई अमेरिकी सरकारले तोकेको तलब दिनसक्ने गरी कम्पनीको आर्थिक स्थीति पनि बलियो भएको प्रमाणित गर्नुपर्छ । यो प्रकृयाका लागि लामो समय लाग्ने भएकाले रोजागारको अफर गर्ने कम्पनीले व्यक्तिलाई अमेरिका ल्याउनका लागि कम्तीमा ५ बर्षको प्रकृयामा निरन्तरता दिन सक्षम हुनुपर्छ ।

रोजगारदाताले उक्त काम गर्नका लागि अमेरिकामा योग्य कामदारहरू उपलब्ध नभएको प्रमाणित गर्न संचारमाध्यममा जागिर खुलेको विज्ञापनहरु प्रकाशित गर्नुपर्ने लगायतका अन्य प्रकृयाहरु पनि पूरा गर्नुपर्छ । यो प्रकृयामा रोजगारदाताले काम लगाउने वा ग्रिनकार्डको प्रकृया गर्ने कामदारबाट कानुनी रुपमा कुनै शुल्क लिन मिल्दैन । साथै यो आवेदन रोजगारका लागि आउने व्यक्तिले आफै फाइल गर्न पनि मिल्दैन, केबल रोजगारदाताका तर्फबाटमात्र फाइल गर्नुपर्छ । आवेदन स्वीकृत भएपछि दम्पत्ति र २१ वर्ष भन्दा कम उमेरका अविवाहित बच्चाहरूपनि आप्रवासी भिसा वा ग्रिनकार्डमा सँगै अमेरिका आउनका लागि योग्य हुन्छन् ।

थप जानकारीका लागि युएससीआईएसको वेवसाइट हेर्न वा कानुनी सल्लाहका लागि लाइसेन्स प्राप्त कानुन व्यवसायीलाई सम्पर्क गर्न सकिन्छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com