ख्यालठट्टासहित मृतात्माको शान्तिको कामना गर्ने पर्व गाईजात्रा


प्रकाशित मिति : श्रावण २४, २०७४ मंगलबार

(लक्ष्मी गारु)

भक्तपुर, २४ साउन । हास्यव्यंग्य र ख्यालठट्टासहित मृतात्माको शान्तिको कामना गर्दै आज काठमाडौँ उपत्यका र नेवार समुदायको बाक्लो उपस्थिति रहेका मुलुकका मुख्य मुख्य शहरमा धुमधामका साथ गाईजात्रा पर्व मनाइँदैछ ।

गाईजात्रा धार्मिक तथा सांस्कृतिक महत्व बोकेको पर्व हो । भक्तपुरमा गाईजात्राको औपचारिक शुरुवात जनैपूर्णिमाको साँझ नै गरिन्छ । गाईजात्राको पूर्व सन्ध्यामा जनैपूर्णिमाको साँझ गुठी संस्थानले सुकुलढोकास्थित नाट्येश्वरीको पूजा गरी निकालेको घिन्ताङ्घिसी नाचले नगर परिक्रमा गरेसँगै भक्तपुरमा गाईजात्रा शुरु भएको गुठी संस्थान भक्तपुरका प्रमुख हरिप्रसाद सुवेदीले जानकारी दिनुभयो ।

भक्तपुरमा गाईजात्रा जनैपूर्णिमाको साँझ शुरु भए पनि सर्वसाधारणले मुख्यरुपमा आजमात्र गाईजात्रा निकालिन्छ । सर्वसाधारणले गाईजात्रा निकाल्नुअघि आजै बिहान सबेरै दरबार स्क्वायरस्थित तलेजु भवानीको गाईजात्रा निकाल्ने परम्परा रहेको छ । सोअनुसार आज बिहान कुखुरा नबास्दै तलेजुको गाईजात्रा निकालिएको तलेजुका मूल नाइके नरेन्द्रप्रसाद जोशीले जानकारी दिनुभयो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

भक्तपुरको गाईजात्रालाई मुलुकका अन्य भागमा मनाउने गाईजात्राभन्दा भिन्न र मौलिक शैलीका रुपमा लिइन्छ । यहाँको मुख्य आकर्षण घिन्ताङ्घिसी नाच हो । त्यससँगै मृतात्माको प्रतीकस्वरुप नगर परिक्रमा गरिने तहामचा अर्को आकर्षण हो । तहामचा बाँसबाट बनाइन्छ । हरियो, करिब १५ फिट लामा चारवटा बाँसलाई ठाडो पारेर आयताकारमा बाँधेर त्यसलाई कपडाले बेरेर तहामचा बनाइन्छ ।

तहामचाको शिरमा गाईको चित्र, परालको सिङ राख्ने र त्यसलाई छाता ओढाइन्छ । तहामचालाई बाँसको नोल लगाएर मृतकका आफन्तले काँधमा बोकेर नगर परिक्रमा गराइन्छ । तहामचामा मृतकको तस्बिरसमेत राखिन्छ । त्यसले जात्रा हेर्न आएकाहरुलाई कसको तहामचा निकालेको त्यो स्पष्ट हुने गर्छ । तहामचालाई नगर परिक्रमा गराउनु पूर्व मृतकको घरको मूलढोका अगाडि पुरोहितले किरियापुत्रीद्वारा संकल्प गराई विधि बमोजिम पूजा गर्ने प्रचलन रहेको छ ।

भक्तपुरकै तालाकोस्थित कुमालेहरुले भने मृतात्माको शान्तिका लागि माटोको गाई बनाएर नगर परिक्रमा गराउँछन् । कुमालेहरुको पुख्र्यौली पेशा माटोका भाँडा बनाउनु हो । त्यसैले उनीहरुले आफ्नै मौलिक पुख्यौली पेशाअन्तर्गतको माटोको आकर्षक गाई बनाएर नगर परिक्रमा गराइने गरेको संस्कृतिकर्मी प्रा डा पुरुषोत्तमलोचन श्रेष्ठ बताउनुहुन्छ ।

गाईसँगै मृतकको स्मृति झल्काउने करुण रस प्रधान गीति लीला, रामायण र श्रीकृष्ण लीलासमेत प्रदर्शन गरिन्छ । साथै, केटाकेटीलाई आकर्षक तवरले महादेव–पार्वती, कृष्ण–राधिकाका रुपमा सिंगारी बाजागाजाका साथ ‘वासा लुइके’ गरेर प्रदर्शन गर्ने प्रचलनसमेत रहेको छ ।

गाईजात्राको दिन विधिवत्रुपमा गाईलाई नगर परिक्रमा गराएमा मृतात्माहरु सजिलैसित स्वर्गलोकमा पुग्छन् भन्ने धार्मिक विश्वास रहेको छ । गाईजात्राको दिन स्वर्गमा ढोका खुल्ने र मृतात्माले गाईको पुच्छर समातेर वैतरणी नदी पार गरी स्वर्गलोकमा पुग्छ भन्ने जनविश्वास रहेको छ ।

गाईजात्रा विशेष गरी नेवार समुदायले मनाउने पर्व हो । राजा प्रताप मल्लले गाईजात्रा पर्व चलाएको किंवदन्ती भएपनि नेवार समुदायबाहेकले गाईजात्रा गर्ने प्रचलन रहेको पाइँदैन ।

मल्लकालमा नेपाल मण्डल विशेष गरी काठमाडौँ उपत्यकामा नेवार समुदायको मात्र बसोबास भएको स्थान भएकाले गाईजात्रा नेवार समुदायले मात्र मनाउने पर्वका रुपमा विकास भएको प्रा डा श्रेष्ठ बताउनुहुन्छ । नेवार समुदायमा पनि भक्तपुरको गाईजात्रा भिन्न र विशेषखालको हुनुमा तत्कालीन नेपाल मण्डलको राजधानी भक्तपुर हुनु प्रमुख कारण भएको प्रा डा श्रेष्ठ बताउनुहुन्छ ।

किंवदन्तीअनुसार राजा प्रताप मल्लको छोराको मृत्युपश्चात् रानी धेरै शोकमा डुबेपछि उनलाई नगरका जनताका घरमा पनि कसै न कसैको मृत्यु भएको हुन्छ भन्ने देखाउन गाई निकाल्ने प्रचलन शुरु भएको मानिन्छ । यतिले पनि रानीको मन शान्त नभएपछि रानीको मनलाई शान्त पार्न हास्य व्यंग्य, ख्यालठट्टासमेत प्रदर्शन गर्न राजाले आदेश दिए बमोजिम गाईजात्राको अवसरमा हास्य व्यंग्यसमेत प्रदर्शन गरिन्छ ।

प्रा डा श्रेष्ठ भने राजा जयस्थिति मल्लभन्दा पहिल्यै भक्तपुरमा गाईजात्रा मनाउँदै आएको दाबी गर्नुहुन्छ । राजा जयस्थिति मल्लले सम्पादन गरेको गोपालवंशावलीमा साँःयात भन्ने उल्लेख भएको प्रमाण प्रस्तुत गर्दै लिच्छविकालको अभिलेखमा गौ युद्ध उत्सव भनी लेखिएको पाइएकाले लिच्छविकालमा पनि गाईजात्रा मनाइन्थ्यो भन्ने मान्न सकिने उहाँको भनाइ रहेको छ ।

उहाँले विक्रमको १४औँ शताब्दीभन्दा अगाडि लिच्छविकालको अन्त्यतिर गाईजात्रा पर्व शुरु भएको मान्न सकिने आधारहरु भएको बताउनुभयो ।

गाईजात्राकै अवसरमा भक्तपुरमा माक प्याखं, नागाचा प्याखं, लाखे प्याखं, देवी नाचलगायतका नाच प्रदर्शन गर्ने प्रचलन रहेको छ । यस वर्ष मध्यपुर थिमिमा लाय्कु भैल, अप्सरा नाच, सलँचा प्याखः महाकाली प्याखः प्रदर्शनको तयारी भइरहेको छ । आठदिने गाईजात्राकै अवसरमा मध्यपुरथिमिको बोडेमा निलबाराही नाचसमेत प्रदर्शन गरिन्छ । रासस

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com