मौसमविदको अनुमानभन्दा उल्टो मनसुनी वर्षा


प्रकाशित मिति : श्रावण १६, २०७४ सोमबार

– अब्दुल्लाह मियाँ

श्रावण १६, २०७४- चार महिनाअघि भुटानको थिम्पुमा भेला भएका दक्षिण एसियाली मौसमविद्ले यो वर्ष नेपालका सुदूर र मध्य भेगका जिल्लामा औसतभन्दा कम वर्षा हुने अनुमान गरेका थिए । उनीहरूको अनुमान थियो, ‘पश्चिम र मध्यपश्चिममा भन्दा मध्य र पूर्वी भागमा बढी वर्षा हुनेछ ।’

मनसुनका दुई महिनामा देशभर परेको वर्षाको तथ्यांक केलाउने हो भनेचाहिँ उनीहरूको अनुमान ठीक उल्टो देखिन्छ । पूर्वी भागका जिल्लामा भन्दा पश्चिम र मध्य भागकै जिल्लामा बढी वर्षा भएको छ ।

आगामी अगस्ट महिनामा पनि सुदूर र मध्यकै जिल्लामा बढी वर्षा हुने विश्लेषण जल तथा मौसम पूर्वानुमान महाशाखाका मौसमविद्हरूको छ । मनसुनका जुन र जुलाई महिनामा सुदूरपश्चिमको डडेलधुरामा औसतभन्दा झन्डै दोब्बर वर्षा भएको छ । औसत ३२९.२ मिलिमिटर वर्षा हुनुपर्नेमा जुलाईको १ दिन बाँकी छँदै आइतबारसम्म ६३६.८ मिमि वर्षा भएको महाशाखाकी मौसमविद् शान्ति कँडेलले बताइन् । दिपायलमा पनि त्यस्तै छ । औसत २३८.७ वर्षा हुनुपर्नेमा ३११.६ मिमि वर्षा भएको छ । धनगढीमा ५६५.९ वर्षा हुनुपर्नेमा ६३९.४ मिमि वर्षा भयो । सुर्खेतमा पनि औसतकै हाराहारी वर्षा भएको छ । औसत ४७१.९ वर्षा हुनुपर्नेमा ४३०.२ मिमि वर्षा भएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

जुम्ला, दाङ र पोखरामा पनि औसतभन्दा बढी वर्षा भएको छ । जुम्लामा १८०.२ हुनुपर्नेमा २७२, दाङमा ३८८.२ हुनुपर्नेमा ४३७ र पोखरा ९४०.३ हुनुपर्नेमा ९०९.५ मिमि वर्षा भएको छ । मौसमविद्हरूका अनुसार सरदर वर्षाको ९० देखि ११० प्रतिशतसम्मको वर्षालाई औसत वर्षा भनिन्छ । मध्य भागमा पर्ने सिमरामा भने जुलाईमा औसतभन्दा कम वर्षा भएको छ । त्यहाँ ५८०.२ वर्षा हुनुपर्नेमा २५३.१ मिमि वर्षा भएको कँडेलले बताइन् ।

जुलाई महिनामा मध्य भेगको काठमाडौंसहित पूर्वी भागका सबैजसो वर्षा मापन केन्द्रले औसतभन्दा कम वर्षा भएको देखाएको छ । विराटनगरमा औसत ५३०.८ वर्षा हुनुपर्नेमा जम्मा १८६.९ मिमि मात्र वर्षा भएको छ । ‘यो औसतको जम्मा ३५ प्रतिशत मात्र हो,’ मौसमविद् कँडेलले कान्तिपुरसित भनिन्, ‘यो मनसुनमा सबैभन्दा कम वर्षा भएको विराटनगर र ओखलढुंगामा हो ।’ ताप्लेजुङमा ४१६.३ हुनुपर्नेमा ३२५.३, ओखलढुंगा ७७२ हुनुपर्नेमा २५४.८, धनकुटामा २५६.२ हुनुपर्नेमा १८६.१, काठमाडौंमा ३६३.४ हुनुपर्नेमा २८५.४ मिमि वर्षा भएको छ ।

देशभरका २० वटा वर्षा मापन केन्द्रले मापन गरेको तथ्यांक हेर्ने हो भने जुन महिनामा पनि सुदूरपश्चिमी जिल्लामै बढी वर्षा भएको छ । जुन १२ मा मनसुन प्रवेश भएको थियो । दिपायलमा १६१.३ वर्षा हुनुपर्नेमा १८९, जुम्लामा ७४.१ हुनुपर्नेमा ९३.२, सिमरामा २८२ हुनुपर्नेमा २७९.५ मिमि वर्षा भएको छ । जुन महिनामा मध्यपश्चिमका जिल्लामा भने औसतभन्दा केही कम वर्षा भएको छ । नेपालगन्जमा १९९.४ वर्षा हुुनुपर्नेमा ९२.७, दाङमा २७० हुुनुपर्नेमा १६९ र सुर्खेतमा २५२.३ हुुनुपर्नेमा १८२ मिमि वर्षा भएको छ ।

मुलुकको पूर्वी भाग हुँदै मनसुन प्रवेश गरेको भए पनि जुन महिनामा पूर्वी पहाड र तराईका जिल्लामा औसत वर्षा पनि भएन । ताप्लेजुङमा औसत २९५ वर्षा हुनुपर्नेमा १४२.७, धनकुटामा १४७.३ हुुनुपर्नेमा ११५.३, विराटनगरमा ३०२.४ हुनुपर्नेमा २४७.९ र ओखलढुंगामा २९८.३ हुुनुपर्नेमा २१०.५ मिमि मात्र वर्षा भएको छ । नेपालमा सामान्यतया जुन १० देखि सेप्टेम्बर २३ सम्मको अवधिलाई मनसुनको अवधि भनिन्छ । त्यही अवधिलाई विश्लेषण गर्दै थिम्पुमा भेला भएका दक्षिण एसियाली मौसमविद्ले नेपाल, भारत, भुटानलगायतका मुलुकको मनसुनी वर्षाको अवस्था आकलन गरेका थिए ।

जल तथा मौसम विज्ञान विभागका महानिर्देशक डा. ऋषिराम शर्मा मनसुनको दुई महिना बाँकी भएकाले अझै पनि आकलन मिल्न सक्ने बताउँछन् । ‘अगस्ट र सेप्टेम्बरमा पर्ने वर्षाले पूर्वी क्षेत्रको आँकडालाई परिपूर्ति गर्न सक्छ,’ उनले भने । सन् २०१० देखि मनसुन सुरु हुनुभन्दा अघि नै ‘दक्षिण एसियाली जलवायु दृष्टिकोण मञ्च’ को बैठक हुने गरेको छ । उक्त बैठकले यो वर्ष मनसुनको अन्तिमतिर बढी वर्षा हुनेसमेत आकलन गरेकाले पूर्वी भागमा औसत वर्षा हुन सक्ने महानिर्देशक शर्माको अपेक्षा छ ।

काठमाडौं विश्वविद्यालयमा मौसम विज्ञानका अध्यापक मणिरत्न शाक्यले मनसुनका चार महिनामध्ये जुलाई सबैभन्दा बढी पानी पर्ने महिना भए पनि पूर्वमा निकै कम वर्षा हुँदा मौसमविदको अनुमान नमिल्ने सम्भावना बढेको टिप्पणी गरे । ‘मुख्य पानी पर्ने बेलैमा पानी नपर्दा मलाई पनि अचम्म लागेको छ,’ उनले भने, ‘तैपनि अगस्ट र सेप्टेम्बर बाँकी नै भएकाले अहिले नै आकलन मिलेन भन्नु अलि छिटो हुन्छ कि ?’

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com