छोरी जन्मेपछि घर निकाला


प्रकाशित मिति : श्रावण १५, २०७४ आईतबार

– मनोज पौडेल

श्रावण १५, २०७४- छोरी जन्माएको ओरापमा कुटपिट गर्दै यहाँकी एक महिलालाई घर निकाला गरिएको छ। कपिलवस्तु नगरपालिका–५ श्रीरामपुरकी २२ वर्षीया सविना खातुनलाई पति र ससुराले कुटपिट गरेका हुन्। ‘छोरी जन्माएको आरोप लगाउँदै निर्घात कुटपिट गरे,’ खातुनले दु:खेसो पोखिन्।

तीन महिनाअघि छोरी जन्माएपछि यातना दिन थालेको उनले सुनाइन्। ‘बच्चा जन्मनुअघिदेखि नै छोरी जन्मिए गाह्रो हुन्छ, तँलाई पनि दु:ख हुन्छ भन्दै मानसिक तनाव दिन्थे,’ उनले भनिन्, ‘छोरी जन्मिएमा तँ सुखले बस्न पाउँदिनस् भन्थे।’ गत बुधबार साँझ गाउँको विवाह कार्यक्रममै श्रीमान् दिलसार र ससुरा इजाहार खाँले मिलेर निर्घात कुटपिट गरेको उनका बाबु लइस पठानले बताए। लाठी, मुक्का र खुट्टाले कुटपिट गरी सख्त घाइते बनाएको उनले बताए। सविनाको दायाँ गाला सुन्निएको छ। कानमा चोट छ। ढाड, पिठयुँ र शरीरका विभिन्न भागमा डाम छन्। सख्त घाइते उनलाई माइतीले तत्कालै तौलिहवा अस्पतालमा भर्ना गराएको थियो। अस्पतालको रिफरमा भैरहवास्थित मेडिकल कलेजमा उपचार गराइएको थियो। अहिले उनी माइतीमा छिन्। ‘सुरुमा भनेजति दाइजो नपाएको भन्दै यातना दिने गरेका थिए, पछि छोरी जन्मिएपछि कुटपिट गर्न थालियो,’ उनले भनिन्। तीन महिनाकी छोरीलाई समेत आमाबाट अलग्याएर बाबुले आफैं राखेका थिए। शनिबार प्रहरीले छोरीलाई आमाकै जिम्मा लगाएको छ।
१४ महिनाअघि दिलसारसँग उनको मागी बिहे भएको थियो। बेहुलालाई ११ लाख ५० हजार भारतीय रुपैयाँ, टाटा महेन्द्रा गाडी, ४० हजारको घडी र ५ तोला सुन दिएको भए पनि दाइजो कम भयो भन्दै छोरीलाई यातना दिने गरेको आरोप सविनाका बाबु लइसले लगाए। ‘अब फेरि जानीजानी छोरीलाई मृत्युको मुखमा पुर्‍याउन दिन्नँ,’ उनले भने, ‘मलाई न्याय चाहिएको छ, यातना दिनेमाथि कडा कारबाही होस्।’ स्थानीय तहको निर्वाचनमा यशोधरा गाउँपालिका–५ को वडाध्यक्ष निर्वाचित भएका उनले बिहीबार जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका छन्। तर कारबाही प्रक्रिया अघि नबढाइएकाले आक्रोश व्यक्त गरे।
ससुरा इजाहारले पनि बुहारीविरुद्ध प्रहरीमा जाहेरी दिएका छन्। केही दलका प्रतिनिधिले भने दबाब दिएर घटना मिलाउन लागेका पीडित परिवारको आरोप छ। प्रहरी नायब उपरीक्षक प्रह्लाद अधिकारीले घटनाबारे अनुसन्धान भइरहेको बताए। कुटपिटको आरोप लागेका ससुरा इजाहारलाई प्रहरीले पक्राउ गरेको छ। पति दिलसारले भने सामान्य घर झगडा भएको बताए। ‘खाना पकाउन भनेका थियौं, नमानेपछि सामान्य झैझगडा भएको हो,’ उनले भने।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com