मलेसियामा आर्थिक कूटनीति प्रवद्र्धन


प्रकाशित मिति : श्रावण १३, २०७४ शुक्रबार

काठमाडौँ, १३ साउन । मलेसियाको राजधानी क्वालालम्पुरस्थित नेपाली दूतावासले आर्थिक कूटनीति प्रवद्र्धनात्मक कार्यक्रम सञ्चालन गरेको छ ।

नेपालको व्यापार, पर्यटन र कला संस्कृतिको प्रचारप्रसार गर्ने उद्देश्यले बिहीबारदेखि त्यहाँ त्रिदिवशीय ‘मिस्टिक नेपाल’ प्रदर्शनी जारी छ ।

नेपाल हस्तकला महासंघसँगको सहकार्यमा आयोजित उक्त प्रदर्शनीमा २५ वटा बिक्री कक्षमार्फत नेपाली उत्पादनको प्रवद्र्धन भइरहेको नेपाली दूतावासले जनाएको छ ।

क्रयविक्रयसमेतको व्यवस्था मिलाइएको उक्त प्रदर्शनीमा हस्तकलाका सामग्री, जैविक चिया तथा कफी, नेपाली चित्र, नेपाली कपडा, गरगहना र पश्मिनाका सामान राखिएको छ ।

प्रदर्शनीको उद्घाटन गर्दै मलेसियाका लागि नेपाली राजदूत निरञ्जनमानसिंह बस्न्यातले मातृभूमिको कला, संस्कृति र उत्पादन प्रवद्र्धनमा दूतावास प्रतिबद्ध भएर लागेको बताउनुभयो । उहाँले निकट भविष्यमा यस्तै अन्य कार्यक्रम मलेसियाका अन्य शहरमा पनि आयोजना गरिने बताउनुभयो ।

उक्त दूतावासका अनुसार उद्घाटन समारोहमा त्यहाँस्थित कूटनीतिक नियोगका प्रमुख, पदाधिकारी, मलेसियाली सरकारका उच्च अधिकारी, उद्यमी व्यवसायी र सञ्चारकर्मीको बाक्लो उपस्थिति रहेको थियो । रासस

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com