अर्का ‘सिरियल किलर’


प्रकाशित मिति : श्रावण १२, २०७४ बिहीबार

– आरएन विश्वास

राजविराजबाट झन्डै २५ किलोमिटरको दूरीमा रहेको जन्डौल–८ स्थित महुली नदीको किनारमा २७ वैशाखमा प्रहरी पुग्दा स्थानीयलाई लागेको थियो, गाउँमा कुनै चोरी वा अपराधको घटना भएछ ।

गाडीबाट उत्रेका प्रहरी जवानले दायाँबायाँ कतै नहेरी खेतमा गैँती र बेल्चा चलाए । एकैछिनमा मानव कंकाल फेला पर्‍यो । हातमा भेटिएका बालाका आधारमा प्रहरीले निष्कर्ष निकाल्यो, कंकाल ३० वर्षीया दुलारीदेवी साहकै हो ।

हरिपुर–६ की दुलारीदेवी तिनै महिला थिइन्, जसको ०६८ साउनमा घरमै बलात्कार भएको थियो । बलात्कारपछि चलेको मुद्दा र त्यस क्रममा उब्जिएका अनेकन् किचलोको दुई वर्षपछि अर्थात् ०७० को मंसिर पहिलो साता उनको रहस्यमय हत्या भएको थियो र शव बेपत्ता पारिएको थियो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

दुलारीदेवीको कंकाल फेला परेको १३ दिनपछि अर्थात् ९ जेठमा प्रहरीले उस्तै शैलीमा कल्याणपुर–२, जन्डौलको ग्रामीण सडकछेउको खेतमा अर्को कंकाल फेला पार्‍यो । कंकालको हातमा मारिएका स्टिलको टाँचाबाट प्रहरीले निक्र्यौल गर्‍यो, कंकाल पर्टेवा–१ का सहबुँद मियाकै हो ।

बुहारी सगिरा खातुन, २७, सहित १० असोज ०६९ मा बेपत्ता थिए मिया । ससुराको कंकाल फेला परेसँगै हराएकी बुहारीको कंकाल खोज्ने अर्को जिम्मेवारी आइलाग्यो प्रहरीलाई । अभियुक्तको लगातारको बयानपश्चात् थाहा लाग्यो, सगिराको शव पनि सहबुँद फेला पारेको ठाउँनजिकै गाडिएको छ । प्रहरीले ४ असारमा उसै गरी जमिन खोतल्दा सगिराको पनि कंकाल फेला पर्‍यो ।

असोज ०६९ देखि मंसिर ०७० सम्मको १५ महिने अवधिमा भएका तीन अनुद्घाटित घटना फरक–फरक स्थान र फरक–फरक समयमा भए पनि त्यसको मुख्य अभियुक्त एकै जना रहेको तथ्य पनि प्रहरीले फेला पार्‍यो । तत्कालै जिल्ला प्रहरी कार्यालय सप्तरीले ‘अप्रेसन साइरा किलो’ सुरु गर्‍यो । अनौठो त के भने तीनै घटना आर्थिक प्रलोभनकै कारण भएका थिए । जसले मधेसको समाजमा व्याप्त व्यक्ति हत्या र बेपत्ताको शृंखलाको कारणलाई बुझ्न सघाउँछ ।

सबै हत्याका मुख्य योजनाकार थिए, सप्तरीको कुशाहा–६ का मोहम्मद सकिल हुसेन, ३५ । सकिल २४ वैशाख ०६४ मा सप्तरी मल्हनिया–४ का आरुल मियाँ, २४, को हत्या अभियोगमा ४ मंसिर ०६४ मा पक्राउ परेका थिए । जिल्ला अदालत सप्तरीको आदेश अनुसार २ जेठ ०७० मा रिहा भएपछि हुसेन गाउँ फर्केका थिए ।

हत्या भएका तीनै व्यक्तिसँग हुसेनको चिनजान जेलमा रहेका बेला नै भएको थियो । बलात्कारको घटनापछि उब्जेको किचलो र यहीबीचमा बलात्कार घटनामा रामचलरित शाह दोषी रहेको प्रत्यक्ष बयान दिने छिमेकी जन्डौल–८ का डम्बर भट्टराई र उनकी पत्नी कौशल्याको हत्या भएपछि दुलारीका पति धीरेन्द्र पक्राउ परेका थिए ।

जेलमा रहेका पतिलाई भेट्न दुलारीदेवी बारम्बार कारागार पुग्थिन् । त्यही बेला उनको चिनजान सकिलसँग भयो । सोही जेलमा फरक हत्या अभियोगमा जेल परेका सगिराका पति मोहम्मद आलम पनि थिए । धीरेन्द्रलाई रिहा गराउने प्रलोभनमा हुसेनले दुलारीदेवीसँग ६ लाख रुपियाँ र आलमलाई रिहा गराउने सर्तमा उनका बाबु सहबुँदसँग तीन लाख रुपियाँ असुल्न भ्याए ।

पैसा असुले पनि रिहा गराउन नसकेपछि हुसेन भागी भागी हिँडिरहेका थिए भने सहबुँद र दुलारी उनलाई खोजिरहेका थिए । पैसा फिर्ता गर्न पनि नसक्ने र मान्छे जेलबाट छुटाउन पनि नसक्ने भएपछि हुसेनले बेपत्ता पार्ने र हत्या गर्ने योजना बुने । सहबुँद र दुलारीलाई छोरा आलमलाई छुटाउन भन्दै काठमाडौँ जानुपर्ने बताए ।

सप्तरीको बिसनपुरबाट १० असोज ०६९ मा काठमाडौँ हिँडेका तीन जना त्यसपछि गाउँ फर्किएनन् । दुई महिनासम्म बेपत्ता पारेर हुसेनले सहबुँद र सगिराको हत्या गरी दुवैको शव जन्डौलस्थित कल्भर्ट छेउमा गाडिदिए ।

अप्रेसन साइरा किलोको नेतृत्वकर्ता एवं जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रमुख एसपी शिशिरकुमार कर्माचार्य आर्थिक प्रलोभनका कारण हत्याको जघन्य शृंखला चलेको बताउँछन् । भन्छन्, “सुन्दा अपत्यारिलो जस्तो लागे पनि कामै नगरी लाखौँ रुपियाँ असुल्न पल्केका हुसेन हत्याको खुनी खेलमा अभ्यस्त बनेका देखिन्छन् ।”

हुसेनले अदालत र जेल आउजाउका क्रममा अर्को खुनी खेलको योजना पनि सफल पारेको प्रहरी अनुसन्धानले देखाएको छ । हत्या मुद्दाको तारेख खेपिरहेका हुसेन र जेठाजुसँगको अंश मुद्दामा अदालत धाइरहेकी त्रिकौलकी निर्मलादेवीबीच चिनजान अदालत जाँदा आउँदा नै भयो ।

उनको समस्यालाई बुझेका हुसेनले उनलाई ऋण तिर्न बाँकी रहेको फर्जी कागज बनाउन सके अशंबन्डामा त्यसको पनि भाग लाग्ने लोभ मात्रै देखाएनन्, एक करोड रुपियाँ ऋण आफूसँग लिएको कागज पनि बनाइदिए ।

फर्जी कागज बनाउँदा लागेको खर्च दिन इन्कार गरेपछि निर्मलादेवी र हुसेनबीच कटुता बढ्दै गयो । हुसेनले निर्मलाका छोरा दीपकलाई विदेश पठाइदिने प्रलोभन देखाएर पटकपटक गरेर डेढ लाख रुपियाँ असुले । निर्मलाले छोरालाई विदेश पठाइदिन बारम्बार ताकेता गरेपछि हुसेनले ठगी धन्दा लुकाउन घरभित्रै निर्मलाको हत्या गरे ।

हत्याका फरक–फरक घटनाको अनुसन्धान गर्दै प्रहरीले पत्तो पायो, सुनसरीको इनरुवाबाट बेपत्तापछि हत्या भएका तीन व्यक्तिको हत्या अभियोगका प्रमुख नाइके पनि यिनै थिए ।

०७० पुसमा पत्नी सैरुल खातुन, १८, ससुरा इद्रिस खालिफा र सासू जैतुन खातुन, ५५, को हत्या पनि हुसेनले नै गरेको प्रहरीको निष्कर्ष छ । उपचार गर्ने नाममा ०७० पुसमा सुनसरीको इनरुवास्थित डेरामा बोलाएर उनले आफ्नी सासूको हत्या गरेका थिए । अचम्म त के भने पत्नी, सासू र ससुराको हत्या पनि हुसेनले पैसाकै निम्ति गरेका थिए ।

हत्या शृंखला

२६ वैशाख ०६४     आरुल मियाँको हत्या

४ मंसिर ०६४     मोहम्मद सकिल हुसेन पक्राउ

१० असोज ०६९      सहबुँद मिया र बुहारी सगिरा खातुन बेपत्ता

१७ पुस ०६९     जन्डौल–८ का डम्बर भट्टराई र उनकी पत्नी कौशल्याको हत्या

९ माघ ०६९     रामचलरित शाह पक्राउ

१० असोज ०६९      सहबँुद र बुहारी सगिराको हत्या

२ जेठ ०७०     मोहम्मद सकिल हुसेन अदालतद्वारा रिहा

मंसिर ०७०     दुलारीदेवीको हत्या

पुस ०७०         पत्नी सैरुल खातुन, ससुरा इद्रिस खालिफा र सासू जैतुन खातुनको हत्या

२ चैत ०७०     निर्मलादेवी साहको हत्या

यसरी खुल्यो रहस्य

१ वैशाखबाट प्रहरीले थालेको अप्रेसनलाई तीन चरणमा बाँडिएको थियो । वर्षांै पुरानो घटनाको फाइल पल्टाएर प्रहरीले सिराहा, सोनामती–६ का मोहम्मद मजलुम मियाँ र कन्चरूप नगरपालिका–१० का  समिना खातुन, २६, र नगिना खातुन, ३०, लाई पक्राउ गरियो ।

जिल्ला प्रहरी कार्यालय सप्तरीका अनुसन्धान अधिकृत लालध्वज सुवेदीका अनुसार लामो अनुसन्धान र तारन्तारको बयानपछि के पत्तो लाग्यो भने विभिन्न समयका फरक–फरक घटनाका मुख्य अभियुक्त एकै जना थिए, मोहम्मद सकिल हुसेन, ३५ ।

फरक–फरक बयानपछि प्रहरीले चारै हत्या प्रकरणमा सहयोगीको भूमिका खेल्ने शम्भुनाथ नगरपालिका–२ का मेदी मिया, ५५, सारस्वर–४ का नजामुद्धिन मियाँ, ४८, जन्डौल–५ की हजरुन खातुन, २६, कन्चरूप नगरपालिका–१० का समिना खातुन, २६, र नगिना खातुन, ३०, पर्टेवा–५ का गुल्जार मियाँ, ४५, सारस्वर–७ का मोहम्मद मस्तकिम, ३०, र सिराहा, सोनामतीका मोहम्मद मजलुम मिया, ४०, सहित नौ जनालाई पक्राउ गरिसकेको छ ।

प्रहरीले दुलारीदेवी, सबँुद र सागिराको हत्याका बेला हातखुट्टा समात्न र हत्यापछि खाल्डो खन्ने कार्यमा सहयोग गर्नेमा हजरुत खातुन रहेको निष्कर्षसमेत निकालेको छ । हत्या अभियोगका मुख्य अभियोगकर्ता हुसेनलाई भने प्रहरीले अहिलेसम्म पक्रिन सकेको छैन । शृंखलाबद्ध हत्या गरेर मुख्य अभियुक्त हुसेन कतार पुगेका छन् । उनलाई पक्रिन इन्टरपोलले ६ जेठमा रेडकर्नर नोटिस नै जारी गरिसकेको छ । सप्तरी प्रहरी प्रमुख एसपी शिशिरकुमार कर्माचार्य भन्छन्, “घटनाको पर्दाफास भइसकेको छ, मुख्य अभियुक्त जसरी पनि पक्राउ पर्छन् ।”

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com