विराटनगर जुट मिल पुन सञ्चालनको तयारी


प्रकाशित मिति : श्रावण १२, २०७४ बिहीबार

मोरङ, १२ साउन । विराटनगर जुट मिल बन्द भएको चार वर्षपछि पुनः सञ्चालनमा ल्याइने भएको छ । आधुनिक औद्योगिक र राजनीतिक क्रान्तिको उद्गम भूमिका रुपमा रहेको सो मिल व्यवस्थापन पक्षले आगामी मंसिरदेखि सञ्चालनमा ल्याउने तयारी गरेको हो । विसं १९९३ मा स्थापित यो जुट मिल मुलुकको पहिलो उद्योग हो । यो उद्योग स्थापना भएसँगै मोरङ–सुनसरी औद्योगिक करिडोरमा मात्रै होइन मुलुकका अन्य क्षेत्रमा समेत उद्योग स्थापनाको लहर चलेको थियो ।

चरम राजनीतिक हस्तक्षेप र विद्युत्भार कटौतीका कारण जुट मिल पटक–पटक बन्द हुने र खुल्ने गरेको थियो । उद्योगको स्थापनासँगै नेपालमा औद्योगिक क्रान्ति सुरु भएको थियो । यो उद्योगबाट देशको राजनीतिक क्रान्ति पनि अगाडि बढेको हो । मजदुर हड्तालका नामबाट विसं २००३ मा यही उद्योगबाट सुरु भएको क्रान्तिले राणा शासनको अन्त्य गरेको थियो । पटक–पटक बन्द हुँदै खुल्दै आएको जुट मिल सञ्चालनको जिम्मा पछिल्लोपटक भारतीय कम्पनी विमसम इन्टरनेशनललाई दिइएको थियो ।

हरेक वर्ष नेपाल सरकारलाई रु एक करोड ३५ लाख बुझाउने गरी विमसमलाई सञ्चालन गर्न दिइए पनि विद्युत्भार कटौतीका कारण लामो समय सञ्चालन हुन सकेन । २०६९ सालबाट लिजमा २५ वर्षका लागि जुट मिल सञ्चालन गर्न पाएपनि विमसमले जम्मा एक वर्ष ३ महिना मात्रै सञ्चालन गरेको थियो । त्यसयता यो ऐतिहासिक उद्योग बन्द थियो ।

जुटमिल सञ्चालनका लागि प्रधानमन्त्री र मन्त्रीले विभिन्न आश्वासन दिएको भएपनि पूरा नभएको जुटमिल प्रशासनको गुनासो छ । जुट मिल बन्द हुँदा यसक्षेत्रका धेरै युवाहरूको रोजगारी गुमेको छ । “यो उद्योग विराटनगरको दक्षिण क्षेत्रका बासिन्दाका लागि प्राण नै थियो”–विराटनगर वडा नं १६ का नवनिर्वाचित वडाध्यक्षसमेत रहेका उद्योगका पूर्वमजदुर मनोज सुब्बाले भन्नुभयो, “अब जसरी भएपनि सञ्चालन हुनुपर्छ भनेर हामीले पनि दबाब दियौं, अब चाहिँ सञ्चालन हुने निश्चित भएको छ ।”

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

जुट मिलका निर्देशक राजेन्द्र कार्कीका अनुसार सरकारले धेरै पटक आश्वासन दिए पनि पूरा गर्न नसकेको र अब मिल प्रशासन आफैले पहलकदमी लिएर मंसिरदेखि सञ्चालन गर्ने र यसलाई अब निरन्तरता दिइने बताउनुभयो ।

“देशको औद्योगिक इतिहासमात्रै होइन राजनीतिक क्रान्तिसँग साइनो गाँसिएको यो उद्योग अब सञ्चालन हुन्छ”–उहाँले थप्नुभयो, “त्यसका लागि ३३ केभीए विद्युत् प्रशारण लाइन जडान गर्न विद्युत प्राधिकरणले अनुमतिसमेत दिइसकेको छ ।”

यसअघि ११ केभिए प्रशारण लाइनको विद्युत्ले काम नगरेपछि उत्पादन बन्द गरिएको हो । ११ केभीएमा कम भोल्टेज आउँदा उत्पादनमा समस्या भएको थियो । ३३ केभीए विद्युत् जडान भएपछि भोल्टेजको समस्या पनि नआउने र विद्युत्भार कटौती पनि कम हुनेछ । अबको हप्तादिन भित्रै मेसिनको मर्मत सुरु गर्ने निर्देशक कार्कीले जानकारी दिनुभयो ।

औद्योगिक संग्रहालय स्थापना गरिने 
कार्कीका अनुसार विराटनगर जुटमिल परिसरभित्रै छिट्टै नेपालको पहिलो औद्योगिक संग्रहालयसमेत स्थापना गरिनेछ । जुटमिल सञ्चालनले निरन्तरता पाउने र प्रतिदिन २० टनको दरले उत्पादन गर्दा वार्षिक २९ करोड नाफा गर्ने सञ्चालक समितिले अनुमान गरेको छ । जुट मिल पूर्णरुपमा सञ्चालन हुने हो भने तीन हजार ५०० ले रोजगारी पाउँछन् भने दैनिक ४५ टन जुटजन्य सामान उत्पादन हुन्छ ।

भारतको कोलकाताको विमसम इन्टरनेशनलले सरकारबाट व्यवस्थापकीय जिम्मा पाएको करिब एक वर्षपछि रु आठ करोड खर्च गरेर पुराना पार्टपुर्जा मर्मतपछि परीक्षण उत्पादन सुरु गरेको थियो । दैनिक आठ मेट्रिक टन जुट व्याग उत्पादन गरिरहेको मिल व्यवस्थापनले तयारी जुटवस्तु भारत निकासीसमेत गर्न थालेको थियो । तर विद्युत्मा देखिएको समस्याका कारण विमसमले समेत मिल सञ्चालन गर्न सकेन र व्यवस्थापकीय जिम्मेवारीबाट हात झिक्यो । त्यसयता लगातार उद्योग बन्द हुँदा स्थानीयसमेत चिन्तित थिए ।

मिल सञ्चालनको चर्चा सुरु भएसँगै स्थानीय उत्साहित भएका छन् । खासगरी मिल क्षेत्रका बासिन्दा बढी खुसी देखिएका छन् । मिल बन्द भएपछि मिल्सएरियाबाट थुप्रै व्यापारी पलायन भएका थिए ।

“अब मिल सञ्चालन भयो भने कम्तिमा मिल्स एरिया पहिलाकै लयमा फर्किन्छ कि भन्ने आशा गर्न सकिन्छ”–स्थानीय जसमान राई भन्नुहुन्छ, “मिल सञ्चालन हुँदा यो क्षेत्रमा होटल, व्यापार, व्यवसाय सञ्चालन मात्रै होइन, घर भाडासमेत सहजै लाग्ने गथ्र्यो । तर अहिले त्यस्तो छैन । सबै यो क्षेत्रबाट पलायन भएका छन् ।” विराटनगर जुटमिल पुनः सञ्चालन भयो भने घरमा दीप प्रज्वलन गर्ने उहाँले सुनाउनुभयो । उद्योग बन्द हुँदा जग्गाको समेत संरक्षण हुन नसकेको स्थानीय मणिराम कामतको भनाइ छ । रासस

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com