दाहालको प्रस्ताव ‘बकवास’: सुजाता कोइराला


प्रकाशित मिति : ९ श्रावण २०७४, सोमबार

श्रावण ९, २०७४- कांग्रेस नेतृ सुजाता कोइरालाले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले पुन: अघि सारेको प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखको एजेण्डालाई ‘बकवास’ भनेका छन् ।

कोइरालाले फेरि मुलुकलाई अस्थिरतातर्फ धकेल्न दाहालले प्रत्यक्ष निर्वाचित कार्यकारीको प्रस्ताव अघि सारेको बताइन् । ‘प्रधानमन्त्रीय पद्धती नै उचित छ, तल्लो सदनमा समानुपातिक हुनुहुँदैन थियो,’ रिपोर्टर्स क्लवमा सोमबारको साक्षात्कारमा कोइारलाले भनिन्, ‘माओवादीले जिद्दि गरेर राखिएको हो, त्यसैले अहिले आएर अन्ट सन्ट कुरा गर्नुहुँदैन्।’

माओवादी केन्द्रले आफ्नो विस्तारित बैठकबाट पुन: प्रत्यक्ष निर्वाचित कार्यकारीसहितको शासकीय स्वरुपको मुद्दा अघि सार्ने निर्णय गरेको थियो ।

कोइरालाले हालै कोइराला परिवारका नेताहरु क्रमश: महामन्त्री शशांक कोइराला, शेखर कोइराला र आफूवीचको भेटघाट पार्टीलाई कसरी मजबुद बनाउने र एकतावद्ध गर्ने भन्नेमा मात्रै केन्द्रित रहेको समेत उनले स्पष्ट पारिन् । उनले भनिन्, ‘हामीलाई पार्टीबारे चिन्ता छ, कसरी पार्टीलाई एकताबद्ध बनाउन सकिन्छ भन्ने नै हाम्रो मुल चिन्ता हो, पार्टी एकता नै हाम्रो जोड हो।’ उनले आफूहरुको लञ्च तथा डिनर नियमित भइरहेकोले यसलाई आश्चर्यको विषय नमान्न समेत आग्रह गरिन् । उनले भनिन्, ‘हामी तीन जना नेताले सँगै लञ्च गरेको कुरालाई ठूलो इस्यु बनाउनुहुँदैन्।’

कोइरालाले पार्टीभित्रको ६०/४० को भागबण्डा अन्त्य हुनुपर्ने बताएकी छिन् । उनले पार्टीभित्र गुटबन्दी हुनु दु:खदायी कुरा भएको उल्लेख गर्दै भनिन्,‘पार्टीभित्र देखिएको ६० र ४० को भागबण्डा दुर्भाग्य हो, ग्रुपिज्म अन्त्य भएन भने पार्टी समाप्त हुन्छ, त्यसैले पार्टीभित्र अब सक्षम, इमानदार, त्यागी, संघर्ष गरेका र क्षमतावान नेताहरुलाई स्थान दिनुपर्छ, मन्त्रिमण्डल विस्तार गर्दा पनि त्यही अनुसार गर्नुपर्छ, फलानोको र ढिस्कानोको मान्छे भनेर मन्त्रिमण्डल र पार्टीका पदाधिकारी तथा केन्द्रीय कार्यसमितिमा नियुक्ति गर्नु उचित हुँदैन् ।’

कोइरालाले पार्टीभित्र महिलालाई पनि उपसभापति दिनुपर्ने बताउँदै त्यसको लागि आफू योग्य रहेको जिकिर गरिन् ।

कोइरालाले संसदको म्याद थप्नेबारे आफूलेपनि हल्ला सुनेको उल्लेख गर्दै यसको पछि लागे कांग्रेसले प्रदेश नम्बर २ को निर्वाचनमा पनि हार व्यहोर्ने ठोकुवा गरिन् । ‘यस्तो गल्ती कांग्रेसले नगरोस्, अब माघ ७ गतेभित्रै चुनाव गराउनुपर्छ, यसबाट एक इन्चपनि पछाडि हट्नुहुँदैन,’ उनले भनिन् ।

 

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com