रवि लामिछानेको नागरिकताबारेको फैसलाले यसकारण झस्किए विदेशमा बस्ने नेपाली


प्रकाशित मिति : माघ १५, २०७९ आईतबार

खसोखास टिप्पणी

रवि लामिछानेले अमेरिकी नागरिकता परित्याग गरेपछि नेपाली नागरिकता लिंदा नागरिकता ऐनले व्यवस्था गरे अनुशारको प्रकृया पूरा नभएको सर्बोच्च अदालतले फैसला गरेपनि लामिछानेले नागरिकता ऐनमा भएको व्यवस्था अनुशार आवेदन दिएर आफ्नो नागरिकता पुन प्राप्त गरिसकेका छन् । तर सर्वोच्च अदालतको फैसलाले विदेशमा बस्ने नेपालीहरुलाई भने नराम्रोसँग झस्काएको छ ।

रवि लामिछानेको राजनीतिक भविश्य के होला भन्ने चिन्ताले विदेशमा बस्ने नेपालीहरु झस्किएका होइनन् । बरु विदेशमा बस्ने नेपालीहरुले नेपालमा गएर केही राम्रो गर्ने चाहना राख्दा वा सफलताको शिखरमा पुग्दै गर्दा कुनै न कुनै ऐनका कुनै कुनै कुनै धारा लगाएर डाउनसाइज वा निरुत्साहित गरिनसक्ने सम्भावनाप्रति आशंकित भएका हुन् । कानुनको पालना सबैले गर्नुपर्ने कुरामा कुनै दुईमत नभएपनि विदेशको नागरिकता त्यागेर वा नत्यागेरै नेपालमा केही राम्रो गर्ने उद्देश्यले आउनेहरुमाथि राज्यका संयन्त्रहरुबाट दुराग्रह राखिने हो कि भन्ने कुराले विदेशमा बस्ने नेपालीहरु सशंकित भएका हुन् ।

सामान्यरुपमा हेर्दा सर्वोच्चको फैसला वर्तमान कानुनमा आधारित रहेर गरिएको एउटा अर्को फैसलामात्र देखिनसक्छ । यसभित्र विदेशमा बस्ने नेपालीहरुप्रति दुराग्रह लुकेको आशंका सही छ वा आशंकामात्र हो भनेर नाप्ने कुनै कसी छैन । यो त आगामी भविश्यले देखाउने कुरा हो । तर यो फैसलासँगै अब बन्ने नागरिकता ऐनमा थप स्पष्टता ल्याउनुपर्ने आवश्यकतालाई भने उजागर गरिदिएको छ ।

समयमै नागरिकता ऐन बन्न नसक्दा विदेशको नागरिकता लिएका लाखौं नेपालीहरुले एनआरएन नागरिकता लिन पाएका छैनन् । विदेशको नागरिकता लिंदा नेपालको नागरिकता स्वत रद्द हुने प्रावधान भएपनि त्यसका लागि नेपाली निकायहरुमा लिखित रुपमा जानकारी दिन अनिवार्य नभएका कारण विदेशको नागरिकता लिएकाहरुसँग पुरानो नेपाली नागरिकता पनि साथमै रहेको छ । पुरानो नागरिकता सरकारले खिचेर लिने प्रावधान नभएका कारण वा पुरानो नागरिकता रद्द भएको कुनै छाप समेत उक्त नागरिकतामा नहुने भएकाले विदेशको नागरिकता लिने नेपालीहरुको पुरानो नेपाली नागरिकता पनि कुनै न कुनै रुपमा प्रयोग भइरहेको पाइन्छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

विदेशको नागरिकता नलिदै खोलिएका बैंक एकाउन्टहरु, बनाइएका लालपुर्जाहरु वा संचालन गरिएका व्ययवसायहरुमा पनि पुरानै नेपालको नागरिकता प्रयोग भइरहेको छ । विगत सातबर्षदेखि एनआरएन नागरिकता बन्ला र ती निकायहरुमा आफ्नो विवरण अपडेट गरौंला भनेर कुरिरहेकाहरु पनि अहिले थप शशंकित र अन्यौलग्रस्त बनिरहेका छन् । विदेशको नागरिकता लिएपछि आफूसँग भएको पुरानो नेपाली नागरिकता प्रयोग गरेर पनि बैंक एकाउन्ट खोल्ने, सम्पत्तिको कारोबार गर्ने, व्यवसायहरु संचालन गर्नेहरुको संख्या दशौं हजार छ । उनीहरु पनि नागरिकता दुरुपयोगको सन्दर्भमा फसिने हो कि भनेर थप शशंकित भएका छन् ।

किनभने विदेशको नागरिकता नलिदै नेपाली नागरिकता प्रयोग गरेर खोलिएका बैंक एकाउन्टहरु, व्यवसायहरु र बनाइएका लालपुर्जाका सन्दर्भमा विदेशको नागरिकता लिएपछि के हुने भन्ने स्पष्ट कानुनी प्रावधान छैन । त्यस्तै विदेशको नागरिकता लिइसकेपछि स्वत रद्द भएको पुरानो नेपाली नागरिकताको प्रयोग गरेर बैंक एकाउन्टहरु, व्यवसायहरु खोल्नु र सम्पत्तिको कारोबार गर्नु विद्यमान नेपालको कानुन अनुशार गैर कानुनी हो । तर यस्ता समस्याहरुको सम्बोधन विदेशमा बस्ने नेपालीहरुलाई एकएक गरेर कारवाही गरेर होइन, बरु नागरिकता ऐनमा समावेश हुने एनआरएन नागरिकताले गर्नसक्छ ।

अब बन्ने नागरिकता ऐनमा विदेशमा बस्ने नेपालीहरुका लागि दोहोरो नागरिकताको व्यवस्था वर्तमान संविधान अनुशार सम्भव छैन । त्यसका लागि संविधान संसोधन आवश्यक हुन्छ । तर अब बन्ने नागरिकता ऐनमा हुने एनआरएन नागरिकताको विषय प्रभावकारी कार्यान्वयनका लागि र भविश्यमा अन्यौल कायम हुन नदिन नागरिकता ऐनमा थप प्रावधानहरुको व्यवस्था गर्न आवश्यक छ ।

पहिलो, विदेशको नागरिकता लिइसकेपछि नेपालको नागरिकता स्वत रद्द हुने प्रावधान राखिएको खण्डमा विदेशको नागरिकता त्यागेपछि नेपालको नागरिकता स्वत प्राप्त हुने प्रावधान राख्नुपर्छ । यदि विदेशको नागरिकता त्यागेपछि नेपालको नागरिकता स्वत प्राप्त हुने प्रावधान राख्न सकिदैन भने विदेशको नागरिकता लिइसकेपछि नेपालको नागरिकता स्वत रद्द हुने प्रावधान पनि खारेज गरिनुपर्छ । त्यसको साटो विदेशको नागरिकता लिइसकेपछि त्यसबारे नेपाल सरकारलाई अनिवार्य रुपमा जानकारी दिनुपर्ने र पुरानो नेपाली नागरिकताको प्रमाणपत्रमै रद्द गरिएको छाप लगाउनुपर्ने वा सरकारले नै खिचेर लिनुपर्ने व्यवस्था गरिनुपर्छ । साथै कुनै नेपाली पासपोर्ट भएको खण्डमा पनि त्यसमा रद्द भएको छाप लगाउनुपर्ने व्यवस्था हुनुपर्छ ।

यसो गरिएको खण्डमा नेपालको स्वत रद्द भएको नागरिकता वा पासपोर्ट प्रयोग गर्नका लागि कानुनी लुपहोल नै बन्द हुनेछ । कोही व्यक्ति भविश्यमा कानुनी झण्झटमा फस्ने सम्भावना हुनेछैन । यदि यसो नगरिएको खण्डमा विदेशको नागरिकता लिनेहरुले जान अन्जानमा आफूसँग भएको पुरानो नेपाली नागरिकता पनि कुनै न कुनै ठाउमा प्रयोग गरिरहनेछन् । नेपालको सरकारसँग यसरी प्रयोग भएको नागरिकता स्वत रद्द भएको हो वा होइन भनेर जाँच्ने कुनै डिजिटल संयन्त्र नभएका कारण पनि त्यस्तो पुरानो नागरिकता प्रयोग भइरहनसक्ने लुपहोल रहन्छ ।

यदि नयाँ नागरिकता ऐनमा यो व्यवस्था नभएमा विदेशको नागरिकता लिएकाहरुले आफूसँग भएको वंशजको आधारको स्वत रद्द भएको पुरानो नेपाली नागरिकता पनि आफूसँगै राखिरहनेछन् । पुरानो नागरिकताले काम गरिहाल्छ, एनआरएन नागरिकता किन लिने ? भन्ने मानसिकताले पनि उनीहरुमा काम गर्नसक्छ । त्यसैले विदेशको नागरिकता लिएकाहरुलाई एनआरएन नागरिकता लिने मानसिकता श्रृजना गर्नका लागि पनि यो व्यवस्था गर्न आवश्यक हुन्छ । अन्यथा स्वत रद्द हुने प्रावधानले भविश्यमा विदेशमा बस्ने नेपालीहरुलाई फसाउने पाशोका रुपमा काम गरिरहनेछ ।

विदेशको नागरिकता लिएका केही नेपालीहरुले त विदेशको पासपोर्ट वा नागरिकता छँदाछँदै नेपालको पासपोर्ट लिएर समेत राखेका छन् । किनभने नेपाल सरकारसँग व्यक्तिको नागरिकता स्वत रद्द भए नभएको परीक्षण गर्ने कुनै संयन्त्र नभएका कारण सरकारले स्वत रद्द भएको नागरिकताकै आधारमा उनीहरुका नाममा पासपोर्ट समेत जारी गदै आएको छ । नागरिकता स्वत रद्द भए नभएको जाँच्ने संयन्त्रको अभावमा स्वत रद्द भएको नागरिकताकै आधारमा राष्ट्रिय परिचयपत्र बनाउन र मतदाता नामावलीमा नाम लेखाउन समेन सकिने भएकाले रवि लामिछानेका सन्दर्भमा यस्तो अवस्था सृजना भएको हो । पुरानो नेपाली पासपोर्टमा रद्दको छाप लगाउने प्रावधान नभएका कारण केही नेपालीहरुसँग विदेशको पासपोर्ट लिइसकेपछि पनि म्यादसहितको नेपाली पासपोर्ट अझै रहेको छ । अबको नागरिकता ऐनमा पाशोका रुपमा काम गरिरहेको यो छिद्र बन्द गर्नुपर्छ । पुरानो नागरिकताको फोटोकपी समेत प्रयोग हुनसक्ने कुरालाई मध्यनजर गरेर नागरिकता खारेज भए नभएको जाँच्ने डिजिटल संयन्त्र पनि सरकार आफैले बनाउनुपर्छ ।

त्यस्तै नेपालमा ट्याक्स नतिरेर, ठगेर वा कुनै कसुर गरेर नेपाल छाडेकाहरुले पनि कुनै तरिकाले विदेशको नागरिकता लिएपछि नेपालको पुरानो नागरिकता स्वत रद्द हुने प्रावधानले त्यस्ता अपराधहरुबाट उन्मुक्ति पाउदै आएका छन् । नेपालमा कसुर गरेर अमेरिकी नागरिकता लिएर बसेकाहरुको पनि संख्या पनि अमेरिकामा उल्लेख्य छ । त्यसैले विदेशी नागरिकता लिएपछि नेपालको नागरिकता रद्द हुनु अगाडि तिर्न बाँकी रहेको कर वा कुनै कसुरबाट उन्मुक्ति हुने वातावरण तयार नहुनेगरी यो प्रावधान नागरिकता ऐनमा हुन आवश्यक छ । उदाहरणका लागि अमेरिकी नागरिकता परित्याग गर्दा अमेरिकाले लिखित रुपमा आवेदन प्राप्त भएपछि कुनै कर तिर्न बाँकी नरहेको वा कुनै कसुर नगरेको प्रमाणित भएपछिमात्र अमेरिकी नागरिकता परित्याग गर्न अनुमति दिन्छ । अन्यथा कसुरमा सजाय भोगेपछि वा ट्याक्स तिरेपछिमात्र अमेरिकी नागरिकता त्याग्न पाइन्छ ।

विदेशमा बस्ने आम नेपालीहरुको चाहना त एकपटकको नेपाली सधैको नेपाली हुनुपर्छ भन्ने नै हो । विदेशको नागरिकता लिएपनि वंशजको आधारमो पहिले कै नागरिकताको निरन्तरता हुनुपर्छ भन्ने हो । यस्तो प्रावधान विश्वका ६० भन्दा धेरै देशमा कायम पनि रहेको छ । भविश्यमा राज्यले यसबारे गम्भिरताका साथ सोच्न आवश्यक छ । तर उक्त व्यवस्था नहुन्जेलका लागि भने विदेशको नागरिकता लिएका नेपालीहरुलाई फसाउने पाशोका रुपमा रहेका छिद्रहरु आगामी नागरिकता ऐनमा बन्द गर्नुपर्छ । स्पष्ट कानुनी व्यवस्था नभएमा विदेशमा बस्ने नेपालीहरुलाई नेपालको राज्य संयन्त्रले झस्काइरहनेछ । नेपालमा आएर केही राम्रो काम गर्छु भन्नेहरुलाई निरुत्साहन भइरहनेछ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com