हराएको एन्ड्रोइड फोन पत्ता लगाउने उपाय


प्रकाशित मिति : २९ असार २०७४, बिहिबार

– आभास अधिकारी

तपाईंले चलाएको एन्ड्रोइड अपरेटिङ सिस्टमयुक्त स्मार्ट मोबाइल फोन अकस्मात हरायो । मोबाइल फोन त हरायो नै, त्यसभित्र रहेका सम्पर्क नम्बरदेखि आफूले राखेका सुरक्षित डाटाहरूसमेत फोनसँगै हराउँदा जो–कसैलाई थप पीडा हुन्छ ।

यद्यपि आफूले कतै छुटाएको वा हराएको फोन कुन ठाउँमा छ भनेर आफैंले पत्ता लगाउन सकिन्छ । आफ्नो हराएको फोन आफ्नो कम्प्युटरको मद्दतले फेला पार्न सकिनेछ । यसका लागि आफ्नो गुगल एकाउन्टमा लग इन गरेर एन्ड्रोइड डिभाइस म्यानेजरमा जानुपर्ने हुन्छ । गुगल सर्चमा ‘एन्ड्रोइड डिभाइस म्यानेजर’ टाइप गरियो भने यसको लिंक प्राप्त हुनेछ । प्राप्त लिंकमा क्लिक गरेर एन्ड्रोइड डिभाइस म्यानेजर भित्र प्रवेश गर्न सकिन्छ ।

एन्ड्रोइड डिभाइस म्यानेजरभित्र पस्नासाथ त्यहाँ हराएको फोनको साथमा गर्न मिल्ने तीनवटा कुरा देख्न सक्नुहुनेछ । ‘प्ले साउन्ड’ भन्ने अप्सन थिच्नुभयो भने तपाईंको फोन साइलेन्ट मोडमै भए पनि ५ मिनेटसम्म बज्नेछ र त्यो आवाजको सहायताले आफ्नो फोन फेला पार्न सकिन्छ ।

त्यसैगरी तपाईंसँग दोस्रो अप्सन उपलब्ध छ ‘लक’ को । आफ्नो फोन जुन मान्छेसँग छ, उसलाई फोन लक गरेर संदेश छोड्न सकिन्छ । यसका लागि एन्ड्रोइड डिभाइस म्यानेजरमा ‘लक’ क्लिक गरेर आफ्नो फोन लक गर्दै लक स्क्रिनमा केही सन्देश छोड्नुपर्ने हुन्छ । यहाँ आफ्नो अर्कै फोन नम्बर पनि हाल्न सकिन्छ । यसरी फोन लक भैसकेपछि फोन भेट्ने व्यक्तिले आफ्नो सन्देश र आफूले दिएको नयाँ फोन नम्बर प्राप्त गरेर फोन फिर्ता गर्न सक्छ ।

यसैगरी एन्ड्रोइड डिभाइस म्यानेजरमै आफ्नो फोन कहाँछ भनेर गुगल म्यापमै पनि फोनको लोकेसन फेला पार्न सकिन्छ, जसले गर्दा आफ्नो फोन कहाँ हराएको थियो भन्ने कुरा पत्ता लाग्छ अथवा कसैले उक्त फोन फेला पारेर कुन ठाउँमा पु¥याएको छ भनेर समेत जानकारी प्राप्त गर्न सकिन्छ ।

यदि कुनै पनि तरिकाले हराएको फोन भेटिदैन जस्तो लाग्छ तर तपाईंको फोनमा गोप्य अनि महत्वपुर्ण डाटाहरू छन् भने पनि चिन्तित हुनु आवश्यक छैन । यसका लागि ‘इरेज’ भन्ने अप्सन दिएको छ डिभाइस म्यानेजरले । इरेज गरिसकेपछि आफ्नो फोनका डाटाहरू स्थायी रूपमै मेटिनेछन् र इरेज गरेको समयमा उक्त फोन अफलाइन छ भने, अनलाइन भएको समयमा इरेज हुन थाल्नेछ ।

ध्यान राख्नुपर्ने कुरा के छ भने यदि हराएको फोन भेट्ने व्यक्तिले फेला पर्नेबित्तिकै ‘फ्याक्ट्री रिसेट’ गरिदियो भने माथि उल्लिखित कार्य गर्न सकिनेछैन । यसका साथै हराएको फोन अफ छ भने पनि समस्या हुनेछ तर अफ हुनुभन्दा अघिसम्मको फोनको लोकेसन चाहिं प्राप्त गर्न सकिनेछ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com