निशुल्क कोरोना परीक्षण सामाग्री घरमा पठाउन सरकारी वेवसाइटबाट सेवा सुरु, यसरी गर्नुहोस् अर्डर
प्रकाशित मिति : माघ ४, २०७८ मंगलबार
बुधबारदेखि औपचारिक रुपमा सरकारी वेवसाइटबाटै निशुल्क कोरोना परीक्षण सामाग्री घरमा मगाउन सकिने सेवा सुरु गर्ने घोषणा गरेको बाइडेन प्रशासनले मंगलबारदेखि नै वेवसाइट खुला गरिसकेको छ । अर्थात् आजैदेखि सरकारी वेवसाइटबाट निशुल्क कोरोना परीक्षण किट घरमा मगाउन सकिने भएको छ ।
निशुल्क कोरोना परीक्षण सामाग्री घरमै मगाउन यहाँ क्लीक गर्नुहोला ।
वेवसाइटमा गएर नाम र ठेगानामात्र हालेपछि कोरोना परीक्षण सामाग्री मगाउन सकिनेछ । अमेरिकी सरकारले ५ सय मिलियन कोरोना परीक्षण सामाग्री खरिद गरिसकेको छ र हरेक ठेगानामा ४ वटासम्म परीक्षण सामाग्री पठाइने छ ।
अनलाइनबाट अर्डर गरेको ७ देखि १२ दिनभित्र कोरोना परीक्षण सामाग्री घरमा पठाइसकिनेछ । बिहिबार अमेरिकी राष्ट्रपति जो बाइडेनले थप ५ सय मिलियन कोरोना परीक्षण सामाग्री खरिद गरिने घोषणा गरेका थिए । जसको अर्थ सरकारसँग १ बिलियन कोरोना परीक्षण सामाग्री उपलब्ध हुनेछ ।
यसरी मगाइएका कोरोना परीक्षण सामाग्री अमेरिकाको सरकारी हुलाकले पठाउनेछ । त्यसका लागि सरकारी हुलाक प्रणालीसँग सहकार्य गरिएको अधिकारीहरुले जनाएका छन् । इन्टरनेट नभएकाहरुले फोन गरेर पनि कोरोना परीक्षण सामाग्री घरमा मगाउन सक्नेछन् ।
अमेरिकामा कोरोनाको ओमिक्रोन भेरियन्टको संक्रमण तीब्र बनिरहँदा सरकारले परीक्षणलाई ब्यापक बनाउन यो योजना ल्याएको हो । जनवरी १५ देखि लागु हुने गरी निजी इन्सुरेन्स हुनेहरुले मासिक ८ वटासम्म कोरोना परीक्षण सामाग्री निशुल्क मगाउनसक्ने व्यवस्था पनि गरिसकिएको छ ।