निशुल्क कोरोना परीक्षण सामाग्री घरमा पठाउन सरकारी वेवसाइटबाट सेवा सुरु, यसरी गर्नुहोस् अर्डर


प्रकाशित मिति : माघ ४, २०७८ मंगलबार

बुधबारदेखि औपचारिक रुपमा सरकारी वेवसाइटबाटै निशुल्क कोरोना परीक्षण सामाग्री घरमा मगाउन सकिने सेवा सुरु गर्ने घोषणा गरेको बाइडेन प्रशासनले मंगलबारदेखि नै वेवसाइट खुला गरिसकेको छ । अर्थात् आजैदेखि सरकारी वेवसाइटबाट निशुल्क कोरोना परीक्षण किट घरमा मगाउन सकिने भएको छ ।

निशुल्क कोरोना परीक्षण सामाग्री घरमै मगाउन यहाँ क्लीक गर्नुहोला ।

वेवसाइटमा गएर नाम र ठेगानामात्र हालेपछि कोरोना परीक्षण सामाग्री मगाउन सकिनेछ । अमेरिकी सरकारले ५ सय मिलियन कोरोना परीक्षण सामाग्री खरिद गरिसकेको  छ र हरेक ठेगानामा ४ वटासम्म परीक्षण सामाग्री पठाइने छ ।

अनलाइनबाट अर्डर गरेको ७ देखि १२ दिनभित्र कोरोना परीक्षण सामाग्री घरमा पठाइसकिनेछ । बिहिबार अमेरिकी राष्ट्रपति जो बाइडेनले थप ५ सय मिलियन कोरोना परीक्षण सामाग्री खरिद गरिने घोषणा गरेका थिए । जसको अर्थ सरकारसँग १ बिलियन कोरोना परीक्षण सामाग्री उपलब्ध हुनेछ ।

यसरी मगाइएका कोरोना परीक्षण सामाग्री अमेरिकाको सरकारी हुलाकले पठाउनेछ । त्यसका लागि सरकारी हुलाक प्रणालीसँग सहकार्य गरिएको अधिकारीहरुले जनाएका छन् । इन्टरनेट नभएकाहरुले फोन गरेर पनि कोरोना परीक्षण सामाग्री घरमा मगाउन सक्नेछन् ।

अमेरिकामा कोरोनाको ओमिक्रोन भेरियन्टको संक्रमण तीब्र बनिरहँदा सरकारले परीक्षणलाई ब्यापक बनाउन यो योजना ल्याएको हो । जनवरी १५ देखि लागु हुने गरी निजी इन्सुरेन्स हुनेहरुले मासिक ८ वटासम्म कोरोना परीक्षण सामाग्री निशुल्क मगाउनसक्ने व्यवस्था पनि गरिसकिएको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com