घरमै प्राप्त गर्नुहोस् कोरोना परीक्षण सामाग्री, कोरोना परीक्षणको मासिक ९६ डलरसम्म क्षतिपूर्ति


प्रकाशित मिति : पुस ३०, २०७८ शुक्रबार

शनिबारदेखि अमेरिकामा घरमै निशुल्क कोराना परीक्षण सामाग्री प्राप्त गर्न सकिनेछ । अमेरिकाभर कोरोना परीक्षण तीब्र बनाउने बाइडेन प्रशासनको योजनाको भाग अनुरुप घरमै कोरोना परीक्षणको सामाग्री प्राप्त गर्न सकिने भएको हो ।

निजी हेल्थ इन्सुरेन्स भएकाहरुले कोरोना परीक्षण सामाग्री अनलाइन वा स्टोरबाट खरिद गरेर इन्सुरेन्स कम्पनीसँग खरिद रकम दावी गर्न सक्नेछन् । त्यसका लागि खरिद गरेको रसिद राख्नुपर्नेछ । कोरोना परीक्षण सामाग्री किन्दा लागेको रकम इन्सुरेन्स कम्पनीले पूरै प्रदान गर्नेछ ।

इन्सुरेन्स कम्पनीहरुले कोरोना परीक्षण सामाग्री प्राप्त गर्ने स्टोर, फार्मेसी र अनलाइन बिक्रेताको नेटवर्क बनाउन सक्नेछन् । उक्त नेटवर्कबाट सुरुमै कुनै रकम नतिरी लिन सकिनेछ । तर नेटवर्क बाहिरबाट किन्नुपरेमा पनि इन्सुरेन्स कम्पनीले त्यसको क्षतिपूर्ति दिनेछन् । एउटा परीक्षण सामाग्रीको १२ डलर क्षतिपूर्ति दिने जनाइएको छ ।

ग्राहकहरुले आफ्नो इन्सुरेन्स कम्पनीमा फोन गरेर सुरुमा नै निशुल्क प्राप्त गर्ने वा किनेर पछि क्षतिपूर्ति प्राप्त गर्ने भन्नेबारे जानकारी प्राप्त गर्न सक्नेछन् । निशुल्क परीक्षण सामाग्री प्राप्त गर्नका लागि डाक्टरको सिफारिस आवश्यक पर्दैन । इन्सुरेन्सहरुले मासिक ८ वटासम्म परीक्षणको रकम बेहोर्नेछन् । अर्थात् ९६ डलरसम्म क्षतिपूर्ति पाइनेछ । ४ जनाको परिवारले ३२ वटासम्म परीक्षण निशुल्क पाउनेछन् ।

शनिबारभन्दा अगाडि किनेका परीक्षण सामाग्रीको क्षतिपूर्ति पाइने छैन । अर्थात् जनवरी १५ पछि किनेको परीक्षण सामाग्रीको मात्र क्षतिपूर्ति प्राप्त हुनेछ । मेडिकेयर अन्तरगत मेडिकल पेशाकर्मीको सिफारिसमा ल्याबमा गरिएको कोरोना परीक्षणका लागि शुल्क तिर्नु पर्दैन भने घरमा कोरोना परीक्षण सामाग्री प्राप्त हुने नहुने सन्दर्भमा आफ्नो इन्सुरेन्स योजनामा बुझ्नुपर्छ । मेडिकेटका सन्दर्भमा भने घरमा गरिने परीक्षणलाई पनि कभर गर्नेछ ।

यदि इन्सुरेन्स छैन भने पनि आत्तिनुपर्दैन । बाइडेन प्रशासनले संघीय खर्चमा आफै पनि कोरोना परीक्षण सामाग्री वितरणको योजना बनाएको छ । बाइडेन प्रशासनले त्यसका लागि वेवसाइट बनाउँदैछ । त्यसमा हटलाइन नम्बरमा फोन गरेर वा अनलाइनमार्फत आफ्नो ठेगानामा निशुल्क परीक्षण सामाग्री मगाउन सकिनेछ । थप जानकारी आगामी साता उपलब्ध हुनेछ ।

त्यस्तै इन्सुरेन्स नहुनेहरुले सामुदायिक स्वास्थ्य केन्द्रहरुबाट पनि निशुल्क परीक्षण सामाग्री प्राप्त गर्नेछन् । बाइडेन प्रशासनले सामुदायिक स्वास्थ्य केन्द्रहरुलाई ५० मिलियन कोरोना परीक्षण सामाग्री उपलब्ध गराउँदैछ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com