सर्वेक्षण: बाइडेन अपेक्षा गरेभन्दा खराब राष्ट्रपति, अधिकांश दोश्रो कार्यकालको विपक्षमा
प्रकाशित मिति : कार्तिक २२, २०७८ सोमबार
नयाँ सर्वेक्षणले अमेरिकी राष्ट्रपति जो बाइडेनको लोकप्रियता उल्लेख्य रुपमा घटेको देखाएको छ । मुलुकका सबैभन्दा महत्वपूर्ण मुद्दाहरुमा बाइडेनले ध्यान नदिएको मतदाताहरुले धारणा राखेका छन् । झण्डै आधा मतदाताहरुले बाइडेन अपेक्षा गरेभन्दा खराब राष्ट्रपति भएको विचार व्यक्त गरेका छन् भने अधिकांश बाइरडेनको दोश्रो कार्यकालको विपक्षमा देखिएका छन् ।
झण्डै ५८ प्रतिशत अमेरिकनहरुले मुलुकका मुख्य मुद्दाहरुमा बाइडेनको ध्यान नगएको धारणा व्यक्त गरेका हुन् । एसएसआरएसबाट संचालित सीएनएन सर्वेक्षणमा बाइडेनले राष्ट्रपतिका रुपमा अपनाएको तौरतरिकालाई अधिकांशले अस्वीकार गरेका छन् । ५२ प्रतिशतले बाइडेनको कार्यशैली अस्वीकार गरेका हुन् ।

त्यस्तै युएसए टुडे र सफल्क युनिभर्सिटीको सर्वेक्षणमा पनि बाइडेनको अस्वीकृति दर ५९ प्रतिशत रहेको छ । ३७ दशमलव ८ प्रतिशतलेमात्र बाइडेनलाई स्वीकार गरेका छन् । उक्त सर्वेक्षणमा ४६ प्रतिशतले बाइडेन अपेक्षा गरेभन्दा खराब राष्ट्रपति भएको धारणा व्यक्त गरेका छन् भने ६४ प्रतिशतले बाइडेनको दोश्रो कार्यकालको विपक्षमा रहेका छन् ।





