टेक्सासमा ५० हजार भन्दा धेरै उपस्थीत संगीत समारोहमा हुलदंगा, कम्तीमा ८ को मृत्यु, कैयन घाइते
प्रकाशित मिति : कार्तिक २०, २०७८ शनिबार
टेक्सासको ह्युस्टनमा शुक्रबार राती एक संगीत समारोहमा हुलदंगा हुँदा कम्तीमा ८ जनाको ज्यान गएको छ । कलाकार ट्राभिस स्कटको प्रस्तुती भइरहँदा दशौं हजारको भींड स्टेजतिर अगाडि बढेपछि हुलदंगा भएको थियो ।
कार्यक्रममा ५० हजार भन्दा धेरै दर्शकहरु उपस्थीत रहेका थिए । के कारणले दर्शकको भींड स्टेजतिर अगाडि बढेको थियो भन्नेबारे केही स्पष्ट भएको छैन । दर्शकहरु स्टेजको नजिक थु्रपिन थालेपछि कैयन लडेका थिए भने कैयन अचेत भएका थिए ।
१७ जनालाई अस्पतालमा लगिएको थियो । ती मध्ये ११ जनालाई हृदयघात भएको थियो । घटनामा कैयन दर्शकहरु घाइते भएको प्रहरीले जनाएको छ ।
कार्यक्रम आयोजकहरुले कार्यक्रमस्थलमा मेडिकल टिमको व्यवस्था गरेका थिए । तर भींड बढेपछि मेडिकल टिमले थामिनसक्नु भएको थियो । प्रत्यक्षदर्शीहरुले यो आफूहरुले देखेको सबैभन्दा बढी अस्तवस्त संगीत कार्यक्रम रहेको बताएका छन् ।
के कारणले घटना भएको हो भन्नेबारे अहिले नै कुनै निष्कर्षमा नपुग्न तथा घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । मृत्यु भएका ८ जना अस्पताल लगेका १७ जनामध्येका हुन् वा होइनन् भन्नेबारे केही स्पष्ट छैन । कैयनको कार्यक्रम स्थलमा नै उपचार गरिएको थियो । कम्तीमा ३ सयजनाको घटनास्थलमा नै परीक्षण गरिएको जनाइएको छ ।





