भ्याक्सिन नलगाउने न्युयोर्क सिटीका ९ हजार कर्मचारी वेतलवी विदामा
प्रकाशित मिति : कार्तिक १५, २०७८ सोमबार
कोरोनाबिरुद्धको भ्याक्सिन लगाउन नमान्ने न्युयोर्क सिटीका झण्डै ९ हजार कर्मचारीहरु सोमबारसम्म बेतलवी विदामा रहेका छन् । न्युयोर्क सिटीका कर्मचारीहरुका लागि भ्याक्सिन अनिवार्य गरिएपछि झण्डै ९ हजार कर्मचारीहरुले भ्याक्सिन लगाउनुको साटो वेतलवी विदामा बस्ने विकल्प रोजेका हुन् । न्युयोर्क सिटीका कर्मचारीहरुमा अक्टोबर २९ को बेलुका ५ बजेपछि भ्याक्सिन अनिवार्य गरिएको हो ।
झण्डै ३ लाख ७८ हजार कर्मचारीहरुमध्ये बेतलवी विदामा बसेकाहरुमा अग्नीनियन्त्रकहरु, प्रहरीहरु र अन्य कर्मचारीहरुले काममा फर्कनका लागि कम्तीमा एकडोज भ्याक्सिन लगाएको प्रमाण पेश गर्नुपर्नेछ । सोमबारसम्म न्युयोर्क सिटीका झण्डै २३ सय अग्नीनियन्त्रकहरु विदामा बसेका छन् । उनीहरुले बिरामी विदा लिएर बसेका हुन् ।

न्युयोर्कका मेयर बिल ब्लाजिओले न्युयोर्क सिटीका ९१ प्रतिशत कर्मचारीहरुले भ्याक्सिन लगाएको बताएका छन् । भ्याक्सिन अनिवार्यको नियमले न्युयोर्क सिटीको सेवामा कुनै अवरोध उत्पन्न नभएको मेयर ब्लाजिओको भनाई छ । न्युयोर्क सिटी प्रहरीमा ८४ प्रतिशतले कोरोनाबिरुद्धको भ्याक्सिन लगाएका छन् । अक्टोबर २० मा यो दर ७० प्रतिशत थियो ।

न्युयोर्क सिटीको फायर डिपार्टमेन्टमा भ्याक्सिन लगाएको दर ७७ प्रतिशत रहेको छ । भ्याक्सिन अनिवार्य गराउनु अगाडि यो दर जम्मा ५८ प्रतिशत रहेको थियो । सेनिटेसन विभागमा भ्याक्सिन लगाएको दर ८३ प्रतिशत रहेको छ । अक्टोबर २० यता न्युयोर्क सिटीका २२ हजार ४ सय ७२ कर्मचारीले भ्याक्सिन लगाएका छन् । शुक्रबार बेलुका ५ बजेको डेडलाइन कटिसकेपछि पनि ३ हजार ५ सय ६४ कर्मचारीले कम्तीमा एकडोज भ्याक्सिन लगाएका छन् ।





