टोकियोको ट्रेनमा यात्रुहरुमाथि चक्कु प्रहारपछि आगजनी, १७ जना घाइते, तीनको अवस्था गम्भिर
प्रकाशित मिति : कार्तिक १४, २०७८ आईतबार
जापानको टोकियोमा एकजना चक्कुधारीले यात्रुहरुमाथि प्रहार गरेको घटनामा कम्तीमा १७ जना घाइते भएका छन् । घाइतेहरुमध्ये तीनजनाको अवस्था गम्भिर रहेको छ ।
उक्त व्यक्तिले सुरुमा चक्कु हानेको थियो भने पछि ट्रेनमा आगजनी गरेको थियो । त्यसपछि ट्रेनमा रहेका यात्रुहरुबीच भागदौड मच्चिएको थियो । घटनापछि ट्रेनमा रहेका यात्रुहरु झ्यालबाट हामफालेका थिए ।
घाइतेहरु सबैजनामाथि चक्कु हानिएको थिएन । कतिपय भागदौडका क्रममा घाइते भएका थिए । अधिकांश घाइतेहरुको अवस्था सामान्य रहेको जनाइएको छ ।
२० बर्षको हाराहारीको आक्रमणकारीलाई घटनास्थलमा नै तुरुन्त पक्राउ गरिएको थियो । उक्त व्यक्तिबिरुद्ध हत्याको प्रयास गरेको अभियोगमा अनुसन्धान भइरहेको छ । के कारणले घटना गराइएको हो भन्नेबारे अझैसम्म स्पष्ट छैन ।
आक्रमणकारीले प्रहरीलाई दिएको बयानमा उदाहरणका लागि आफूले विहानैको ट्रेनमा छुरा प्रहारको घटना गराएको बताएको जनाइएको छ । हरियो सर्ट, निलो सुट र बैजनी कोट लगाएको उक्त व्यक्ति कमिक बुकको पात्र जस्तो देखिएको र हेलोवीन पार्टीमा जादै गरेको जस्तो देखिएको प्रहरीको भनाई छ ।
घटना कोकुर्यो स्टेशन नजिकै केयो ट्रेनमा भएको अधिकारीहरुले बताएका छन् । सुरुमा चक्कु हानेपछि उक्त व्यक्तिले प्रज्वलनशील तेल खन्याएर आगो लगाएको थियो । आगजनीबाट ट्रेनका केही सिटहरु जलेका छन् ।
आगो लागेपछि यात्रुहरु आत्तिएर ट्रेनको झ्यालबाट भाग्दा प्लेटफर्ममा खसेर घाइते भएका थिए । ट्रेनको ढोका बन्द भएकाले उनीहरु झ्यालबाट भाग्न खोजेका थिए । टोकियोको ट्रेनमा दुईमहिनाको अन्तरमा भएको यो दोश्रो चक्कु प्रहारको घटना हो ।
गत अगस्तमा एकजना ३६ बर्षको व्यक्तिले ट्रेनमा १० जनामाथि चक्कु हानेको थियो । उक्त व्यक्तिले पछि खुशी देखिएका महिलाहरुमाथि आक्रमण गर्न चाहेको बयान दिएको थियो । जापानमा गोलीकाण्डका घटनाहरु दुर्लभ मानिएपनि पछिल्ला बर्षहरुमा ठूला ठूला चक्कु प्रहारका घटनाहरु भएका छन् ।
सन् २०१९ मा टोकियो नजिकै विद्यालय जान बस कुरेका छात्राहरुको समुहमा दुईवटा चक्कु बोकेको व्यक्तिले आक्रमण गर्दा २ जनाको मृत्यु भएको थियो भने १७ जना घाइते भएका थिए । आक्रमणकारीले आफैलाई पनि चक्कु हानेर ज्यान लिएको थियो ।
東京調布市を走行中の京王線車内で
男が刃物振り回してガソリンまいて火つけたらしい…
こわすぎるpic.twitter.com/tjtJ3L1Sz6— 臨死のうみちゃん@固ツイでコラボちゅう (@umiuminemui) October 31, 2021
सन् २०१८ मा बुलेट ट्रेनमा एकजनाले चक्कु हानेर एकजना यात्रुको ज्यान लिएको थियो भने दुईजना घाइते भएका थिए । सन् २०१६ मा जापानमा अशक्त आश्रमको पूर्व कर्मचारीले चक्कु हानेर १९ जनाको हत्या गरेको थियो भने २० जनाभन्दा बढी घाइते भएका थिए ।





