२३ कार्तिक २०८३, सोमबार| Monday, November 9, 2026
अमेरिका

अमेरिकामा सोमबारदेखि भ्याक्सिन वितरण

अमेरिकाको खाद्य तथा औषधी प्रशासनले कोरोनाबिरुद्धको फाइजर भ्याक्सिन स्वीकृतिका लागि तीब्र गतिमा काम गरिरहेको बताउँदै अमेरिकामा सोमबारदेखि भ्याक्सिन लगाउने काम सुरु हुने अपेक्षा गरेको छ । शुक्रबार विहान एफडीएले भ्याक्सिनको आपतकालिन प्रयोगको अनुमतिका लागि अन्तिम तयारी भइरहेको जनाएको छ ।

फाइजरको कोभिड १९ भ्याक्सिन अमेरिकामा प्रयोगको स्वीकृति पाउने पहिलो भ्याक्सिन हुने भएको छ । स्वास्थ्यमन्त्री एलेक्स आजरले पनि फाइजरको भ्याक्सिनको पहिलो शटहरु छिटोमा सोमबार लगाउन सम्भव हुने बताएका छन् । अमेरिकाले आगामी मार्चभित्र १ सय मिलियनलाई भ्याक्सिन लगाउने योजना बनाएको छ ।

एफडीएले भ्याक्सिन उत्पादक, सीडीसी र संघीय भ्याक्सिन कार्यक्रमलाई समयमै भ्याक्सिन वितरणको काम सुरु गर्नसक्ने जानकारी दिइसकेको छ । अमेरिकाले डिसेम्बरभित्र २० मिलियन, जनवरीमा ३० मिलियन र फरबरीमा ५० मिलियन भन्दा बढी फाइजर र मोडेर्नाका भ्याक्सिनका डोजहरु प्राप्त गर्ने भएको छ । हरेक राज्यहरुले भ्याक्सिन वितरणका आआफ्ना योजनाहरु बनाउन सक्नेछन् ।

बिहिबारमात्र अमेरिकाको खाद्य तथा औषधी प्रशासनको भ्याक्सिनसम्बन्धि सल्लाहकार प्यानलले कोरोनाबिरुद्धको फाइजर भ्याक्सिन प्रयोगको स्वीकृतिका लागि एफडीएलाई सिफारिस गरिसकेको छ । प्यानलमा भएको मतदानमा १७ जनाले स्वीकृतिको पक्षमा, ४ जनाले विपक्षमा मतदान गरेका थिए भने एकजना तटस्थ बसेका थिए ।

भ्याक्सिनको ९५ प्रतिशत प्रभावकारितालाई एफडीएले सुनिश्चित गरिसकेको छ । भ्याक्सिनका दुईवटा डोजहरु दिनुपर्ने र २१ दिनको अन्तरमा दुईवटा डोज प्रदान गरिने भएको छ । एउटामात्र डोजपछि भ्याक्सिनले कोरोना संक्रमण हुनबाट ८२ प्रतिशतसम्म रोक्न प्रभावकारी हुने जनाइएको छ । तर दुबै डोज दिएपछि भने ९५ प्रतिशतसम्म प्रभावकारी हुनेछ ।

फाइजर र बायोएनटेकको खोपले आनुवंशिक कोडहरूलाई प्रयोग गरेर रोग प्रतिरोधी प्रतिक्रिया निम्त्याउँछन् र यसलाई एमआरएनए खोप भनिन्छ। यसले मानव कोषमा फेरबदल गर्दैन बरू शरिरलाई कोभिड विरुद्ध प्रतिरोधी हुन तयार रहने हिसाबको निर्देशन दिन्छ।

खोपका कारण रोग लाग्दैन। बरु तोकिए बमोजिमका सङ्क्रमण पहिचान गर्न र त्यससँग जुध्न उनीहरूले हाम्रो शरिरको रोग प्रतिरोधी प्रणालीलाई सिकाउँछन्।

खसोखासका समाचार नछुटाउनुहोस्Follow Khasokhas for immigration, green card, tax and community news.Facebook मा Follow गर्नुहोस् →

केही व्यक्तिहरूलाई खोप लगाएपछि मांसपेशी दुख्ने वा ज्वरो आउने जस्ता मध्यम खालका लक्षण देखिएको जनाइएको छ । यो रोग नभइ खोपका कारण शरिरमा उत्पन्न प्रतिक्रिया हो। खोपका कारण अरू एलर्जीहरू देखा पर्नु एकदमै दुर्लभ हो।

मोडेर्नाले उत्पादन गरेको भ्याक्सिन प्रयोगको स्वीकृतिका लागि पनि आवेदन दिइएको छ । मोडेर्नाको भ्याक्सिन डिसेम्बरको तेश्रो साता स्वीकृत हुने अपेक्षा गरिएको छ । मोडेर्ना भ्याक्सिन फाइजरको तुलनामा भण्डारण र वितरणमा सहज हुने जनाइएको छ ।

 

लेखक खसोखास अमेरिका ब्यूरो

Khasokhas Weekly is published Weekly and read by thousands of Nepalese and Nepalese speaking in the USA. There are more than 250,000 (unofficial data) Nepali people in the USA. According to the 2010 US Census, there are 59,490 Nepalese in the USA. The actual numbers…

यस लेखकका थप समाचार →