२० कार्तिक २०८३, शुक्रबार| Friday, November 6, 2026

महाभूकम्पपछिको त्यो विपद् र कोरोना महामारीको यो विपद्

– किशोर नेपाल

बिहान ‘कम्पन’ पढदै थिएँ । म कतै तुलनाको खोजीमा पनि थिएँ होला – बिपत्तिको तुलना । तर, २०१५ अप्रिलको भुईचालो र २०१९ को जनवरीमा शुरु भएर २०२० को अगष्टको अन्त्यमा पनि उत्कर्षतिर बढी रहेको कोरोना महामारीका बीच कुनै समानता खोज्न मिल्दैन । एउटा बिपदले तत्काल ज्यान लिएको थियो जनताको, अर्कोले अलिकति समय लगाएर ज्यान लिन्छ । अलिकति खर्चपनि बढाउँछ । यति हो, उतिबेला भुईचालोमा परेर ज्यान गुमाउनेहरु, भुईंचालोबाट जोगिएर घरबास गुमाउनेहरुको कोलाहल चारैतिर गुन्जिएको थियो देशभरि । मानिसको त्यो कोलाहललाई सम्बोधनगर्न भारत, चीन, युरोप र अमेरिकाका सहयोगीहरु देशको डाँडाकाँडामा पुगेका थिए । भुईंचालोको कोलाहल र तरंग अहिले पनि छ । तर, शान्त छ ।

बिपत्तिको तुलना हुने रहेनछ । उतिबेला जे गुमाएपनि यतिबेला मानिसले साहस गुमाएकोछ । उ एक अर्कासंग सुख दुःख बाँडन सक्ने अवस्थामा छैन । दुइ मिटरको दूरीमा चोचोमोचो मिलाएर कुरागर्न सकिदैन । कसरी बाँड्नु दुःख सुख । काठमाडौं शहरमा सय रुपैयाँ मूठो रायोको साग किनेर गुर्जुको पल्टनले खाने जस्तो खानाखानु त साहै« नहुने कुरा हो । आठ महिनादेखि शहरमा दिनभर पसल खुल्न पाएका छैनन । उद्योग र ब्यापार क्षेत्रका शेखर गोल्छा, सौरभ ज्योति, दिनेश श्रेष्ठ लगायतका नेताहरु रनभुल्लमा देखिन्छन । शिक्षा र स्वास्थ्य क्षेत्रको त्यही हाल छ । कोरोनाले सबैलाई घुमाएकोछ । यस्तो बेला सन्तान जन्मिनुपनि आमाबाबु दुबैलाई घाँडो । आफै मर्नेबाँच्ने ठेगान छैन, कसरी बचाउनु सन्तानलाई ?

शहरमा मास्क अनिवार्य गरिएकोछ । सरकारी निर्देशन अनुसार प्रत्येक नागरिक, बूढा हुन वा बालक, प्रौढ हुन वा युवक, महिला हुन वा पुरुष सबैले मास्क अनिवार्य लगाउनै पर्छ । जसले लगाउँदैन उसलाई पुलिसले समात्छ र एकसय रुपैयाँ जरिवानागर्छ । ‘मास्क नलगाएर मरिन्छ भने म नै मर्ने हूँ तपाईं होइन’ भन्न पाउनु हुनेछैन । अझ कोरोना बिरुध्दको अभियान शुरु भएका बेलामा त पुलिसहरु जनतालाई स्यानिटाइजर खल्तीमा बोकेर हिंडने सल्लाह दिन्थे । त्यो सल्लाह प्रभावकारी भएन । मानिसहरु स्यानिटाइजरको प्रयोग गर्नुभन्दा साबुन–पानीले मिचीमिची हात धुनै मन पराउँछन । पाँचसय मिलिलिटर स्यानिटाइजर किन्ने पैसाले त एक दर्जनभन्दा बढी ‘वास्ना आउने’ साबुन किन्न सकिन्छ ।

साना ब्यापारीहरु आत्तिएका छन । शहरमा निषेधाज्ञा जारी गर्नुभन्दा पहिले जिल्लाका प्रमुख अधिकारीले जनताको नाममा प्रकाशित गरेको सूचनामा किराना पसलहरु बिहान ६ बजेदेखि ९ः३० बजेसम्म खुल्ला राख्न पाइने कुरा लेखिएको थियो । तर, सूचना स्थानीय तहमा आइपुग्दासम्म पुलिसहरुले त्यसको उल्टो ब्याख्यागरेर समयको गति ठप्प पारी दिएछन । ९ बज्दा नबज्दै उनीहरु सडकमा हतारिदै आउँछन र सिठी बजाउँदै पसल बन्द गराउन थाल्दछन ।

बिहान आफनै टोलमा साग र स्यानिटाइजर बेच्ने सुमित्रा बहिनीेलाई पुलिससंग भनाभन गरिरहेकोदेखे म आफैले । उनले पसल बन्दगर्ने समय ९ः३० बजे समातेकी थिइन । पुलिस भन्दै थियो ‘होइन, ९ बजे हो ।’ त्यसपछि पुलिसले थप केही भनेन । खुरुक्क पसलमा राखेको सामान जोख्ने डिजिटल तराजु उठायो र मोटर साइकिल चढेर कुद्यो । सरसर्ती यो घटनामा केही थिएन । तर, भित्रबाट नियालेर हेर्दा यसमा दुःखमात्रै थियो । अब ती बहिनी पुलिस थाना जानुपर्यो । हुनसक्छ पुलिसको हाकिमले उनको नाममा तराजुको परल मूल्यभन्दा बढी जरिवाना तोकोस । त्यसो गरेपनि सहनै पर्यो । सानो भएपनि स्थायी किराना पसल हो । लाइसेन्सवाला भएपछि पुलिसले बोलाएपछि थानामा जानै पर्यो । थाना भन्यो कि जरिवाना । यो त सामान्य मानिसको नियति नै बनी सक्यो । जहिले सुकै । जहाँ सुकै ।

बाह« क्लासको जाँच पर्खेर बसेको छ लक्काजवान केटो सुजन । उसको त एसएलसीको जस्तो जाँचै नदिइ अथवा ११ क्लासको जस्तो बिद्यार्थीको भविष्य कलेजको जिम्मामा धरौटी राखेर पासहुने कुरा भएन । नक्कली पास हुनुभन्दा जाँचै दिएर पासहुने ढिपी कसेर बसेका छन तन्नेरीहरु । सुजन दिनहूँ मोवाइलमा सरकारले गर्ने कोरोना अपडेट हेर्छ ।

उसलाई थाह छ – बितेको २४ घण्टामा देशभर कोरोना संक्रमितको संख्या १०६९ थियो । ११ जनाको मृत्यु भयो । सबैभन्दा कम उमेरका कोरोना संक्रमित मृतक थिइन चारबर्षकी बालिका । सबैभन्दा बढी उमेर ८० बर्षका बृध्द पनि कोरोनाका शिकार भए । राजधानी उपत्यकामा ४८१ संक्रमित फेला परे भने ३५ र ७० बर्षका दुई ब्यक्तिको मृत्यु भयो । अथाह जनसंख्या भएको देशका लागि यो संख्या तुलनात्मक हिसावले केही नहोला । तर, नेपालका लागि यो चर्को संख्या हो ।

खसोखासका समाचार नछुटाउनुहोस्Follow Khasokhas for immigration, green card, tax and community news.Facebook मा Follow गर्नुहोस् →

यो संख्याले निराशा बाँडेकोछ । किनभने यो संख्या घटदो गतिमा होइन, उर्लिदो बेगका रुपमा बढदैछ । मानिसहरु भन्छन – महामारीमा सरकारमात्र सुखी छ । सरकारका कामका बारे जनता न बिरोध जनाउने मनस्थितिमा छन, न सामान्य टिप्पणी नै गर्न चाहन्छन । करौडो मानिसको यस्तो मौन क्षोभले कहाँ पुर्याउँछ सरकारलाई ? यसको चिन्ता कसैलाई छैन ।

किनभने सरकार जनताको सुख सुबिधाका लागि होइन, जनता सरकारको सुख सुविधाका लागि भएकाछन । सबै मानिस मुख थुनेर बसेका छैनन । तर, सरकार कान थुनेर बसेको छ । प्रतिपक्ष त झन मुखमा पट्टी बाँधेरै बसेकोछ । बडो बिचित्रको अवस्था बिकसित हुँदैछ देशमा । कोरोना सानालाई कहर नै रहेछ । साँच्चैमा यो मानव जीवनका लागि जहर नै रहेछ ।

तपाईंको प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल प्रकाशित हुँदैन। सबै प्रतिक्रिया सम्पादकको स्वीकृतिपछि मात्र देखिन्छन्।