नेपालमा पछिल्लो २४ घण्टामा थप ८८४ जनामा कोरोना संक्रमण, १२ जनाको मृत्यु
प्रकाशित मिति : भाद्र १३, २०७७ शनिबार
नेपालमा पछिल्लो २४ घण्टामा थप ८८४ जनामा कोरोना भाइरस (कोभिड १९) को संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय पुष्टि गरेको छ । योसँगै नेपालमा कुल संक्रमितको संख्या ३७ हजार ३४० पुगेको छ।
मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार संक्रमितमध्ये हालसम्म कोरोना जितेर घर फर्किनेको संख्या २० हजार ५५५ पुगेको छ । पछिल्लो २४ घण्टामा थप ३१३ जना उपचारपछि डिस्चार्ज भएका छन् । ५५ प्रतिशत संक्रमित निको भएका छन् ।
हाल नेपालमा १६ हजार ५७८ संक्रिय संक्रमित छन् । आज नेपालमा ११ हजार ५१६ जनाको पिसिआर विधिबाट नमूना परिक्षण गरिएको छ । अहिले क्वारेन्टाइनमा ८ हजार ३५ रहेका छन् । होम आइशोलेशनमा ६ हजार ४४५ रहेका छन् ।
काठमाडौं उपत्यकामा आज भेटिए १८६ कोरोना संक्रमित
काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा थप १८६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार काठमाडौंका १५५जना, ललितपुरका १९ जना र भक्तपुरका १२ जनामा कोरोना संक्रमण देखिएको हो । शुक्रबार मात्र काठमाडौँ उपत्यकामा ४१५ जनामा कोरोना देखिएको थियो । संक्रमितहरु कुन स्थानको भन्नेबारे मन्त्रालयले खुलाएको छैन ।
थप १२ जनाको मृत्यु
नेपालमा कोरोना संक्रमणबाट थप १२ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । मृत्युहुनेमा ३ जना महिला र ९ पुरुष रहेका छन् । योसँगै नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या २०७ पुगेको छ ।





