प्लाज्माबाट कोरोना संक्रमितको उपचार सफलभएको निष्कर्ष, अमेरिकामा एफडीएबाट स्वीकृति प्रदान
प्रकाशित मिति : भाद्र ७, २०७७ आईतबार
अमेरिकामा खाद्य तथा औषधी प्रशासन एफडीएले प्लाज्माबाट कोरोना संक्रमितको उपचारका लागि आपतकालिन स्वीकृति प्रदान गरेको छ । एफडीएले अहिलेसम्म ७० हजारभन्दा बढी कोरोना संक्रमितको प्लाज्माबाट उपचार गरिएको जनाएको छ ।
यो पद्धति अनुशार कोरोना संक्रमणबाट निको भएकाहरुको रगत प्रयोग गरेर बनाइएको कोन्भालेसेन्ट प्लाज्माबाट बिरामीहरुको उपचार गरिन्छ । संक्रमणबाट निको भएकाहरुको रगतमा एन्टीबडीको विकाश हुने भएकोले त्यसको प्रयोगबाट संक्रमितलाई निको बनाउन सकिने विश्वास गरिदै आएको छ ।
यसैबीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भनेका छन् – ‘चाइना भाइरसबिरुद्धको हाम्रो युद्धमा असंख्य जीवन वचाउनसक्ने वास्तवमै ऐतिहासिक घोषणा गर्न पाउँदा म आज निकै हर्षित भएको छु । आजको यो कदमले उपचारको पहुचमा नाटकीय बृद्धि हुनेछ ।’
गतसाता ट्रम्पले प्लाज्माको उपचारलाई आपतकालिन स्वीकृति प्रदान सन्दर्भमा स्वास्थ्य अधिकारीहरुले राजनीति गरेको आरोप लगाएका थिए । आइतबार एफडीएले अतिरिक्त तथ्यांकहरुको पुनरावलोकन गरेर प्लाज्माविधिबाट कोरोना संक्रमितका उपचारका लागि स्वीकृति दिएको हो ।
गत मार्चको अन्त्यमा एफडीएले बैज्ञानिकहरुलाई प्लाज्माबाट उपचारको अध्ययनका लागि बाटो खोलिदिएको थियो । तर रगतजस्तै प्लाज्माको पनि आपूर्ति सिमित भएकाले र दाताबाट आउनुपर्ने भएकाले यसबाट सिमित बिरामीको मात्र उपचार गर्नसकिने देखिएको छ ।
प्लाज्माबाट उपचारका लागि एफडीएको आपतकालिन स्वीकृति नेशनल इन्स्टीच्युट अफ हेल्थका अधिकारीको हस्तक्षेपका कारण रोकिएर राखिएको न्युयोर्क टाइम्सले रिपोर्ट प्रकाशित गरेको थियो । अमेरिकाका बरिष्ठ चिकित्सकहरुले उपचारको तथ्यांक कमजोर रहेको तर्क गरेपछि आपतकालिन स्वीकृति दिइएको थिएन ।
एफडीएको आपतकालिन स्वीकृतिका लागि पूर्ण स्वीकृतिमा जस्तो सबै मापदण्डहरु पूरा गर्न आवश्यक हुँदैन । यद्यपी बृहत रुपमा सुरक्षित रहेको निष्कर्षपछि आपतकालिन स्वीकृति प्रदान गरिन्छ । स्वीकृतिपछि प्लाज्माको माग अत्याधिक बढ्ने अनुमान गरिएको छ ।
गत जुनमा मायो क्लिनिकले निकालेको निष्कर्षमा प्लाज्माको उपचारविधि सुरक्षित रहेको जनाइएको थियो । जसमा २० हजार बिरामीमा गरिएको उपचारपछि निष्कर्ष निकालिएको थियो । गत अगस्त १३ मा सिकिस्तै बिरामी भएका संक्रमितलाई समेत प्लाज्मा उपचारबाट बचाउन सकिएको रिपोर्ट सार्वजनिक भएको थियो ।
विगतमा हाइड्रोक्सीक्लोरोक्वीनको प्रयोगमा पनि आपतकालिन स्वीकृति दिइएको थियो । तर पछि त्यस्तो स्वीकृति फिर्ता लिइएको थियो ।





