सुदूरपश्चिममा बालबालिकामा कोरोना सङ्क्रमण बढ्दै


प्रकाशित मिति : असार १६, २०७७ मंगलबार

सुदूरपश्चिम प्रदेशमा हालसम्म १७५ जना नौ वर्षमुनिका बालबालिकामा कोरोना सङ्क्रमण देखिएको छ । सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार सुदूरपश्चिममा बालबालिकामा पनि कोरोना सङ्क्रमण बढ्दै गएको देखिएको हो ।

एक साताअघि प्रदेशभरिमा ६१ बालबालिकामा कोरोना सङ्क्रमण देखिए पनि सो सङ्ख्या बढ्दै गएको निर्देशनालयका निर्देशक डा गुणराज अवस्थीले बताए । “सङ्क्रमण देखिएका सबै बालबालिका बुवाआमासित भारतबाट फर्किएकाहरु हुन्”, उनले भने ।

कोरोना सङ्क्रमणबाट बाजुरामा केही समयअघि दुई वर्षीया बालिकाको समेत मृत्यु भइसकेको छ । त्यसैगरी कञ्चनपुरको भीमदत्तनगरस्थित महाकाली अस्पतालबाट ११ महिने बालक कोरोना जितेर फर्किसकेका छन् । मङ्गलबार साँझसम्म सुदूरपश्चिमका नौवटै जिल्लामा गरी दुई हजार ४८३ जनामा कोरोना सङ्क्रमण देखिएको निर्देशनालयले जनाएको छ । तीमध्ये ५७३ महिला सङ्क्रमित छन् ।

“महिलाहरु पनि प्रायः श्रीमान्सँगै भारतबाटै फर्किएका र रोजगारीबाट फर्किएका नै बढी सङ्क्रमित छन्”, उनले भने, “समुदायमा महिला सङ्क्रमित सङ्ख्या न्यून छ ।” कोरोनाबाट यहाँ हालसम्म पाँचको मृत्यु भइसकेको छ भने ४७९ सङ्क्रमित निको भइसकेका छन् । यहाँ सबैभन्दा बढी कैलालीका ५९७ र सबैभन्दा कम दार्चुलामा ४३ जनामा सङ्क्रमण देखिएको निर्देशनालयले जनाएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

निर्देशक डा अवस्थीले कोरोना परीक्षणको दायरा बढाउन सुदूरपश्चिममा तीन जिल्लामा पिसीआर मेसिन जडानको काम थालिने बताए । “डोटी, बैतडी र कैलालीमा गरी तीन ठाउँमा जडान हुने प्रयोगशालाका लागि सामान आउने क्रम शुरु भइसकेको छ”, अवस्थीले भने, “सात/दश दिनमा सबै सामान आइसक्छ ।”

क्वारेन्टिनलाई आइसोलेसनमा परिणत गरिँदै

सुदूरपश्चिम प्रदेशमा पछिल्ला केही दिनयता सङ्क्रमणको दर तीव्र भएपछि सङ्क्रमितको उपचारका लागि यहाँ स्थापना गरिएका क्वारेन्टिनलाई आइसोलेसन कक्षमा परिणत गरिँदैछ । सुदूरपश्चिमका ८८ वटै स्थानीय तहमा हालसम्म एक हजार ९३४ स्थानमा करिब ७४ हजार ४३४ श्ययाको क्वारेन्टिन रहेको छ ।

यहाँका क्वारेन्टिनमा १३ हजार १७८ बसिरहेका छन् । बितेको एक महिनामा सुदूरपश्चिमका सीमानाका हुँदै एक लाख १५ हजार नागरिक भारतबाट स्वदेश भित्रिएको तथ्याङ्क छ । तीमध्ये अधिकांश क्वारेन्टिन बसेर घर फर्किसकेका छन् । सरकारले नै सङ्क्रमण पुष्टि भए पनि लक्षण नदेखिएसम्म होम क्वारेन्टिनमा बसेर सतर्कता अपनाउन भनेपछि यहाँका आइसोलेसन कक्ष खाली छन् ।

त्यसैगरी स्वास्थ्य निर्देशनालयका अनुसार सुदूरपश्चिममा १५ स्वास्थ्यकर्मीसहित अग्रमोर्चामा खटिने २४ जनामा सङ्क्रमण देखिएको छ । निर्देशक डा अवस्थीले सङ्क्रमित बढेपछि क्वारेन्टिनलाई आइसोलेसन कक्ष बनाउन थालिएको बताए । “पहिले पनि केही स्थानीय तहले आइसोलेसन कक्ष बनाएका थिए”, उनले भने, “सङ्क्रमित बढ्न थालेपछि क्वारेन्टिनलाई नै आइसोलेसन कक्ष बनाउन थालिएको हो ।”

उनले १४ दिन क्वारेन्टिन बसेकालाई होम क्वारेन्टिन पठाएर आइसोलेसन बढाउन लागेको बताए । यहाँका प्रादेशिक तथा अस्पतालमा स्थापना गरिएका आइसोलेसन कक्षमा ८२ सङ्क्रमित र ३० शङ्कास्पद बिरामी उपचारत छन् । “होम क्वारेन्टिन र क्वारेन्टिनमा सङ्क्रमित रहे पनि स्थानीय तहका सबैजसो स्वास्थ्यकर्मीहरुसित उहाँहरु समन्वयमै हुनुहुन्छ”, अवस्थीले भने, “लक्षण देखिएर स्वास्थ्यमा समस्या देखिए अस्पताल ल्याएर उपचार गर्ने भनेका छौँ ।”

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com