कोरोना भाइरस: महामारी लामो समय रहने विश्व स्वास्थ्य संगठनको चेतावनी
प्रकाशित मिति : जेष्ठ ८, २०७७ बिहीबार
कोरोना भाइरसबाट दैनिक नयाँ संक्रमित हुनेको संख्या अहिलेसम्मकै उच्च पुगेको विश्व स्वास्थ्य संगठनले जनाएको छ । विश्व स्वास्थ्य संगठनले दैनिक नयाँ संक्रमितको संख्या बढ्ने क्रम अहिलेसम्मकै उच्च भएको जनाएको हो । संसारभर संक्रमित हुनेकाे संख्या बुधबार एक लाख ६ हजार पुगेको संगठनले जनाएको छ ।
संगठनका प्रमुख महानिर्देशक टेड्रोस अडानोम गेबेरियससले कोरोना भाइरस निर्मूल हुन लामो समय लाग्ने चेतावनी फेरि दिएका छन् । गरिब मुलुकमा संक्रमितको संख्या बढ्दै जानु झनै चुनौतीपूर्ण रहेको उनले बताएका छन् ।
त्यस्तै विज्ञहरूले संक्रमितको संख्या अझै बढी हुन सक्ने बताएका छन् । गरिब मुलुकहरूमा उच्च परीक्षण हुन सक्दा कोरोना संक्रमितको ठूलो संख्या गणनामा नआएको विज्ञहरूले बताएका हुन् ।
अहिले कोरोना संक्रमितको सबैभन्दा उच्च संख्या रहेको देशका रूपमा अमेरिका रहेको छ । त्यहाँ १५ लाखभन्दा बढी मानिस संक्रमित भएका छन् भने ९० हजारभन्दा बढीको मृत्यु भएको छ ।
अमेरिकी सबै राज्यहरू माहामारीबीच खुल्न थालेसँगै संगठनका प्रमुखले महामारी निर्मूल हुन अझै लामो समय लाग्ने चेतावनी दिएका हुन् ।त्यस्तै, पछिल्लो समय कोरोना भाइरस र मलेरियाको औषधि हाइड्रोक्सी क्लोरोक्वाइनको चर्चा भइरहेको छ ।
संगठनका आपतकालीन प्रमुख डा. माइकल रायनले भने क्लोरोक्वाइन कोरोनाविरुद्ध प्रभावकारी नरहेको बताएका छन् । उनले अहिलेसम्म कुनै पनि औषधि कोरोना भाइरसविरुद्ध प्रभावकारी पुष्टि नभएको बताएका हुन् । (एजेन्सी)