लामाको रगतमा कोरोनाभाइरसबिरुद्ध लड्ने एन्टीबडी, कोरोनाबिरुद्ध हतियार बन्नसक्ने आशा
प्रकाशित मिति : बैशाख २४, २०७७ बुधबार
शोधकर्ताहरुले चकलेट रंगको लामाको रगत कोरोना भाइरसबिरुद्धको हतियार हुनसक्नेभन्दै अनुसन्धान सुरु गरेका छन् । लामा जिराफको जस्तो लामो घाँटी भएको र अन्य भाग भेंडाजस्तै देखिने एकप्रकारको जनावर हो ।
शोधकर्ताहरुले वीन्टर नामको पोंथी लामामा शोध सुरु गरेका छन् । यो जनावर बेल्जियमको रिचर्स फार्ममा अरु यस्तै १३० जनावरसँग रहेको छ । वीन्टर नाम गरेको लामाले विशेष प्रकारको रोगप्रतिरोधात्मक एन्टीबडी उत्पादन गर्ने गरेको र ल्याब टेस्टका क्रममा उक्त एन्टीबडीले नयाँ कोरोनाभाइरसलाई प्रवेश गर्न र सेलहरु संक्रमित बनाउनबाट रोक्ने गरेको पाइएको छ ।
मंगलबार प्रकाशित एउटा शोधमा उक्त लामाको रगतबाट निकालिएको एन्टीबडी नयाँ एन्टीबडी विकाशका लागि प्रयोग गरिएको थियो जसले कोरोना भाइरसको सतहलाई ध्वस्त पारेको थियो । यो अध्ययन अत्यन्तै प्राथमिक चरणको रहेको जनाइएको छ । तर यो कोभिड १९ को सम्भावित उपचार हुनसक्नेतर्फ शोधहरु सुरु गरिएको छ ।
अमेरिकाका अस्पतालहरुले कोभिड १९ लाई जितेकाहरुको रगतको प्लाज्मामार्फत बिरामीको उपचार गर्नमा कदम चालिसकेका छन् । उक्त प्लाज्मामा कोरोनाबिरुद्ध लड्ने एन्टीबडी हुने र त्यसले जीवन बचाउन सक्ने अपेक्षा गरिएको छ ।
कोरोनाबिरुद्धको भ्याक्सिन आउन अझै एकबर्षभन्दा लामोसमय लाग्ने अनुमान गरिएको छ । त्यसैले कैयन विज्ञहरुले एन्टीबडी उपचारलाई तत्कालका लागि कोरोनाबिरुद्ध लड्ने हतियारका रुपमा हेरिरहेका छन् ।
लामाबाट निकालिएको एन्टीबडी मानिसमा परीक्षणका गर्नका लागि भने लामोसमय लाग्नसक्ने जनाइएको छ । बेल्जियमका शोधकर्ताहरुले मुसामा यसको प्रिक्लिनिकल परीक्षण सुरु गरिरहेका छन् ।





