सीडीसीले थप्यो कोरोना भाइरस संक्रमणका थप ६ लक्षण
प्रकाशित मिति : बैशाख १५, २०७७ सोमबार
अमेरिकाको सेन्टर फर डिजिज कन्ट्रोल एण्ड प्रिभेन्सन सीडीसीले कोरोना भाइरस संक्रमणका ६ लक्षण थप गरेको छ । यस्ता लक्षणहरु भाइरस संक्रमण भएको २ देखि १४ दिनभित्र देखिने सीडीसीले जनाएको छ ।
थप लक्षणहरुमा जाडो हुने, जाडोले शरिर काप्ने, मांसपेशीहरु दुख्ने, टाउको दुख्ने, घाँटी दुख्ने, सुघ्ने र स्वाद लिने क्षमता गुम्ने रहेका छन् । यसअगाडि सीडीसीले तीनवटा लक्षणहरु ज्वरो आउने, स्वास फेर्न गाह्रो हुने र खोकी लाग्नेलाई लक्षणका रुपमा सुचिकृत गरेको थियो ।
कोरोना संक्रमित बिरामीहरुमा अरु ६ लक्षणहरुपनि एकदमै धेरै मात्रामा देखिएको सीडीसीले जनाएको छ । खासगरी सुघ्ने र स्वाद लिने क्षमता गुम्ने लक्षण बिरामीहरुमा मार्चको मध्यदेखि देखिन थालेको थियो ।
एउटा इरानी अध्ययनले कोरोना संक्रमित ७६ प्रतिशत बिरामीमा सुघ्ने र स्वाद लिने क्षमता गुमेको जनाएको छ । खसोखाससँगको कुराकानीमा कैयन कोरोना संक्रमित नेपालीहरुले सुघ्ने र स्वाद लिने क्षमता गुमाएको बताएका छन् । कतिपयलाई यो क्षमता फिर्ता हुन एकमहिनाभन्दा पनि लामो समय लागेको छ ।






