को हुन् न्युयोर्कमा गुपचुप मृत्यु भएका राई ? तीनसातासम्म दाहसंस्कार हुनसकेन शव


प्रकाशित मिति : बैशाख ६, २०७७ शनिबार

न्युयोर्कमा नेपालीको  एउटा मृत्यु जो कसैले पनि वास्ता गरेका छैनन् । न उनको नाममा कसैका फेसबुकमा श्रद्धाञ्जली देखियो न त उनको मृत्युबारे कसैले सोधीखोजी नै गरे ।

मार्च २७ मा न्युयोर्कको एल्महस्र्ट अस्पतालमा एकजना राई थरका व्यक्ति विते । तर उनको मृत्युबारे न्युयोर्कको नेपाली समुदायले पत्तो पाएन । खसोखासले भने उनको मृत्युबारे अनुसन्धान सुरु गरेको थियो ।

झण्डै २ सातासम्मको अनुसन्धानपछि गत विहिबार पत्तो लाग्यो, मार्च २७ मा एल्महस्र्ट अस्पतालमा बितेका व्यक्ति रहेछन् बिष्णुकुमार राई । उनी त्यसको केहीदिन अगाडि एल्हमस्र्ट अस्पतालमा भर्ना भएका रहेछन् ।

‘मार्च २७ मा एल्महस्र्ट अस्पतालमा निधन भएका व्यक्ति बिष्णुकुमार राई रहेछन् । अस्पतालको डेढ नोटिफिकेशन विभागले यसको पुष्टी गरेको छ । विभागका अनुशार उनको शव मेडिकल इक्जामिनरको कस्टडीमा राखिएको छ ।’ –  मेरिल्याण्ड राज्यको संसदमा प्रतिनिधित्व गर्ने सांसद ह्यारी भण्डारीले पुष्टी गरे ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

राईको मृत्युपछि खसोखासले उनका बारेमा थप विवरणहरु पत्ता लगाएर ह्यारी भण्डारीलाई सम्पर्क गरेपछि भण्डारीले डेढ नोटिफिकेशन विभागमा पटकपटकको सम्पर्कपछि राईको मृत्यु भएको पुष्टी गरे । उनी भन्छन् – ‘व्यक्तिको मृत्यु भएको पुष्टी गर्न पनि अहिले निकै गाह्रो रहेछ । म जनप्रतिनिधि भएको हैसियतले अलिकति सहज भयो ।’

उनको शव दाहसंस्कारका लागि जिम्मा लिने कोही व्यक्ति अमेरिकामा नभएका कारण अहिलेसम्म उनको शव कसैले पनि दावी गरेको छैन । निश्चित समयसम्म दावी नगरिएको खण्डमा न्युयोर्कमा अन्क्लेम शवहरु सामुहिक चिहानमा लगेर दफनाउने गरिएको छ ।तर परिवारका सदस्यहरु वा हकवाला कोही भएकोखण्डमा र उनीहरुले स्वीकृति दिएको खण्डमा शव दाहसंस्कारका लागि आफूहरुले सहयोग गर्नसक्ने भण्डारीले बताएका छन् ।

को हुन् बिष्णु राई ?

बिष्णु राई को हुन् भन्ने विषयमा पारिवारिक पृष्ठभूमि खुलेको छैन । तर उनी केहीबर्ष अगाडि आप्रवासीको अधिकारका लागि कृयाशिल संस्था अधिकारको सम्पर्कमा आएका थिए । अधिकारले उनलाई टीपीएस दिलाउनका लागि सहयोग गरेको थियो ।

उनको वर्क परमिट कागजातमा उनको जन्ममिति १९४८ अप्रिल २५ उल्लेख गरिएको छ । जस अनुशार उनी आगामी साता ७२ बर्ष पुग्न लागेका थिए । उनको वर्क परमिटमा उनको जन्मदेश नेपाल उल्लेख गरिएको छ ।  तर उनी कहिले र कसरी अमेरिका आए भन्नेबारे केही खुलेको छैन ।

लामोसमय होमलेस सेल्टरमा बसेका उनले सन् २०१७ को फरबरी देखि अधिकारकै सहयोगमा नर्सिङ होम प्राप्त गरेका थिए । रकवे केयर सेन्टरको कागजात अनुशार उनी सन् २०१७ को फरबरी २४ देखि एल्महस्र्ट अस्पतालबाट रकवे केयर सेन्टरमा भर्ना भएका थिए ।

केयर सेन्टरको कागजात अनुशार राई मृगौलाका बिरामी थिए । उनले नियमित रुपमा डायलासिस गराउँदै आएका थिए । साताको तीनपटक उनको डायलासिस गराउँदै आइएको थियो ।

एल्महस्र्टको ब्रोडवे डायलासिस सेन्टरका अनुशार राईले सन् २०१२ को मार्च देखि नै उक्त डायलासिस सेन्टरमा डायलासिस गराउँदै आएका थिए । सन् २०१२ को मार्च २२ देखि उक्त सेन्टरमा राईको डायलासिस सुरु गरिएको खसोखासलाई प्राप्त कागजातमा उल्लेख छ ।

उनले हरेक मंगलबार, बिहिबार र शनिबारगरी हप्तामा तीनपटक डायलासिस गराउँदै आएका थिए । एकपटकको डायलासिसमा ४ घण्टा लाग्ने गरेको ब्रोडवे डायलासिस सेन्टरले जनाएको छ । कागजातमा उल्लेख भए अनुशार उनमा निको नहुने प्रकारको क्रोनिक स्वास्थ्य अवस्था रहेको थियो ।

उनले बेलाबेलामा रक्तश्राव, बान्ता, कमजोरी, रिंगटा लाग्ने लगायतका समस्याहरु समेत भोग्दै आएका थिए । होमलेस सेल्टरमा बस्ने क्रममा उनी बिरामी भएर अस्पतालमा भर्ना भएर फर्कदा उनका सामानहरु मिल्काइने लगायतका समस्या उनले भोग्दै आएका थिए ।

उनले आफ्ना कुनै परिवारका सदस्यहरु नरहेको बताउँदै आएका थिए । टीपीएसभन्दा अगाडि उनको जीवन अत्यन्तै दर्दनाक रहेकोमा टीपीएस पाइसकेपछि भने उनले नर्सिङ होम पाएका कारण केही सहज भएको थियो ।

बाँच्नका लागि लागि लामो समयदेखि संघर्ष गर्दै आएका उनको स्वास्थ्य अवस्था अत्यन्तै कमजोर रहेका कारण र उनी मुटुको समेत रोगी भएका कारण उनी कोरोनासँग भने जुध्न सकेनन् । मार्चमा अस्पतालमा भर्ना भएका उनी मार्च २७ मा यो संसारबाट बिदा भए ।

उनको मृत्युको खबर अहिले भारतमा रहेका उनका आफन्तहरुले पाइसकेका छन् । तर उनका आफन्त दावी गर्नेहरुसँगको उनको सम्बन्ध के हो भन्नेबारे केही खुलेको छैन ।

उनका आफन्त दावी गर्ने केही व्यक्तिले न्युयोर्कमा रहेको नेपाली कन्सुलेट र वासिंटन डिसीमा रहेको नेपाली दूतावासमा इमेलमार्फत सम्पर्क गरेको कार्यवाहक महावाणिज्यदूत पुष्पराज भट्टराईले जानकारी दिए । उनका आफन्तहरुले शव नेपालमा लैजान चाहेको भन्दै दूतावासमा इमेल गरेका थिए ।

उनका आफन्त दावी गर्नेहरु आफ्नो सम्पर्कमा आएको न्युयोर्कमा सामाजिक व्यक्तित्व केशवराम राईले जानकारी दिए । उनीहरुले मृत्यु हुने व्यक्ति उनीहरुकै आफन्त भए नभएको पुष्टी गर्न खोजेका थिए । तर फोटो, जन्ममिति, मृतकको सामाजिक सुरक्षा नम्बर लगायतका आधारमा मृतक बिष्णु कुमार राई नै भएको पुष्टी भएको छ ।

परिवारमा को छ ?

राई नेपालको काठमाडौंमा रहँदा बाँसबारीमा बस्दै आएको र नविल बैंकमा सेक्युरिटी अफिसरका रुपमा काम गरेको उनकी भान्जी सपनादेवी राईले जानकारी दिएकी छिन् । भान्जीका अनुशार बिष्णुकुमार राई २७ बर्षअगाडि नेपाल छाडेर विदेशीएका थिए ।

दुई दाजुभाई र एकबहिनीमा बिष्णुकुमार राई जेठा थिए । राईले कहिले पनि विवाह नगरेको जनाइएको छ । उनका भाईले विवाह गरेको तर बच्चा नजन्मिदै भाईको निधन भएकाले भाईकी श्रीमतिले अर्कैसँग विवाह गरेर गएको जनाइएको छ । राईकी बहिनीले पनि बच्चा जन्माएपछि अन्यत्रै गएकाले आमासँग आफ्नो सम्पर्क नरहेको भान्जी सपनादेवीले जानकारी दिइन् ।

उनले भनिन् – ‘आमापनि मलाई जन्माएपछि अन्यत्रै विवाह गरेर जानुभयो । म हजुरबा र हजुरआमासँग हुर्कें । हजुरबा भारतीय सेनामा हुनुहुन्थ्यो । आमाले अन्तै विवाह गरेपछि मेरो अभिभावकका रुपमा मामा बिष्णुकुमार राई नै हुनुहुन्थ्यो । उहाँको निधनले स्तब्ध भएकी छु । उहाँको सतगद राम्रोसँग भए हुनेथियो ।’

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com