आमासहित ९ को एम्बुसमा मृत्युपछि ६ जनालाई लुकाएर सहयोग खोज्न ६ घण्टा हिडे बालक


प्रकाशित मिति : कार्तिक १९, २०७६ मंगलबार

अमेरिका र मेक्सिकोको सिमाक्षेत्रमा पर्ने मेक्सिकन भूभागमा आमासहित ९ जनाको एम्बुस आक्रमणमा मृत्यु भएपछि एकजना १३ बर्षका बालक आफ्ना भाईबहिनीलाई झाडीमा लुकाएर सहयोग खोज्न ६ घण्टा हिडेका थिए । एम्बुस आक्रमणमा ६ बालबालिकासहित ९ जना अमेरिकनको मृत्यु भएको थियो ।

१३ बर्षका डेभिन ब्लाक ल्यांगफोर्डले आफ्ना ६ जना भाईबहिनीहरुलाई झाडीमा लगेर रुखका हाँगाले छोपेर लुकाएका थिए । त्यसपछि उनी सहयोग खोज्न झण्डै ६ घण्टा हिडेका थिए । बालककी आमा डावना रे ल्यांगफोर्डले तीनवटामध्ये एउटा गाडी चलाएकी थिइन्, जुन गाडीहरु एम्बुस आक्रमणमा परेका थिए ।

सोमबार राती मेक्सिकोको सोनारामा भएको घटनामा डावनाका साथमा अरु दुई आमाहरुले गाडी चलाएका थिए । उनीहरु तीनैजनाको ४ जना साना बालबालिका र २ जना शिशुका साथमा निधन भएको थियो ।

आफ्नी आमा र दुई भाईहरुको मृत्यु भएको देखेपछि डेभिन झण्डै १४ माइल हिडेर घटनाबारे खबर गरेका थिए । त्यसपछि डेभिनका काकाहरुले हतियार बोकेर अरु केटाकेटीहरु खोज्न निस्किएका थिए । लुकाइएका ती केटाकेहीहरुमध्ये केही घाइते भएका थिए ।

डेभिनले झाडीमा लुकाएका ६ जना केटोकेटीहरुमध्ये ५ जनालाई स्थानीय अस्पतालमा लगिएको थियो । छैठौं बच्चा डेभिनकी बहिनी त्यहाँबाट हराएकी थिइन् । उनलाई झण्डै दुईघण्टापछि आफन्तर मेक्सिकन सिपाहीहरुले फेला पारेका थिए ।

तीनवटा गाडीमा आपराधिक समुहले एम्बुस आक्रमण गरेको अनुसन्धानकर्ताहरुले बताएका छन् । आपराधिक समुहले झुक्किएर ती गाडीहरुमाथि आक्रमण गरेको हुनसक्ने अनुमान गरिएको छ ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com