अमेरिकामा आज चुनाव, सबैको ध्यान केन्टकी, मिसिसिपी र भर्जिनियातिर


प्रकाशित मिति : कार्तिक १९, २०७६ मंगलबार

अमेरिकामा आज चुनावको दिन हो । विभिन्न राज्यमा विभिन्न पदका लागि आज चुनाव भइरहेको छ । कैयन सिटीहरुले मेयर छान्दैछन् भने कतिपय स्थानमा राज्य संसदको चुनाव भइरहेको छ ।

आजको चुनावमा धेरैको ध्यान केन्टकी, मिसिसिपी र भर्जिनियामा केन्द्रीत छ । भर्जिनियामा आज राज्य संसदका १४० सिटमा चुनाव भइरहेको छ । त्यहाँको प्रतिनिधिसभामा रिपब्लिकनहरुको बहुमत रहेको छ ।

भर्जिनियाको राज्य संसदको तल्लो सदनमा रिपब्लिकनहरुको ५१ सिट र डेमोक्र्याट्सहरुले ४८ सिट रहेको छ । त्यस्तै राज्यको सिनेटमा रिपब्लिकनको २० र डेमोक्र्याट्सको २१ सिट रहेको छ । भर्जिनियामा बेलुका ७ बजे चुनाव सकिनेछ ।

त्यस्तै मिसिसिपीमा गभर्नरका लागि चुनाव भइरहेको छ । रिपब्लिकनका तर्फबाट टेट रिभ्स र डेमोक्र्याट्सका तर्फबाट जीम हुड मैदानमा रहका छन् । दुबैजनाबीच कडा प्रतिस्पर्धा भइरहेको जनाइएको छ ।

त्यस्तै केन्टकीमा पनि गभर्नरका लागि चुनाव भइरहेको छ । रिपब्लिकनका तर्फबाट मेट वेभिन र डेमोक्र्याट्सका तर्फबाट एण्डी बेसियर चुनावी मैदानमा रहेका छन् । सन् २०१४ मा वेभिन अमेरिकी सिनेटमा उठेपनि आफ्नै पार्टीका उम्मेदवार मिच म्याकोनेलबाट प्राइमरीमा पराजित भएका थिए ।

केन्टकीमा सन् २०१५ को चुनावमा गभर्नरमा रिपब्लिकन उम्मेदवारले चुनाव जितेका थिए भने त्यो भन्दा अगाडि अहिलेकै डेमोक्रेटिक उम्मेदवारका पिताले चुनाव जितेका थिए । मिसिसिपीमा सन् २०१२ देखि लगातार रिपब्लिकनले गभर्नर चुनाव जित्दै आएका छन् ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com