पुस्तक कम्पनबारे बुटवलमा अन्तरसम्बाद : सुरक्षामापदण्ड विना बनाइएका भवन बन्न सक्छन् धराप


प्रकाशित मिति : भाद्र ८, २०७६ आईतबार

महाभूकम्पपछिको असर र पत्रकार किशोर पन्थीद्वारा लिखित पुस्तक कम्पनबारे रुपन्देहीमा अन्तक्र्रिया गरिएको छ ।

कार्यक्रममा विभिन्न क्षेत्रका व्यक्तिहरुले मुलुकमा गएको महाभुकम्प, त्यसको क्षति र पुनर्निर्माणको अवस्थालाई हेर्दा विपद पुर्वतयारीको अवस्था कमजोर देखिएको बताएका छन् । उनीहरुले कुनैपनि विपद सूचना दिएर नआउने भएपनि यसको पुर्व तयारी सबैभन्दा महत्वपूर्ण रहेको भन्दै त्यसका लागि राज्यका संयन्त्रहरु प्रभावकारी बन्न नसकेको पनि स्वीकारेका छन् ।

कार्यक्रममा बोल्दै प्रदेश पाँचका सामाजिक विकासमन्त्री सुदर्शन बरालले महाभुकम्पलगायतका कुनैपनि विपद पुर्व सूचना दिएर नआउने भन्दै यसका लागि योजनाबद्ध तयारी गरिए क्षति न्युनीकरणमा सहयोग पुग्ने बताए । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले महाभुकम्पले सिंगो मुलुकलाई विपदबाट जोगिने उपायको गतिलो पाठ छोडेर गएको भन्दै यसलाई सम्झन र बिर्सन समेत नसकिने बताए ।

महाभुकम्पपछिको उद्दार र राहतको कार्यमा प्रहरी संगठनले खेलेको भूमिकाबारे आफ्नो अनुभव सुनाउँदै खनालले पत्रकार पन्थीद्वारा प्रकाशित पुस्तक विपदको पुर्वतयारीका लागि समेत काम गर्न सहयोगी हुने धारणा राखे । उनले ठूलाठूला भवनहरु बनाउने प्रतिस्पर्धा चलिरहेको सन्दर्भमा त्यस्ता भवनहरु बनाउनुपूर्व सुरक्षाका न्युनतम मापदण्डहरु पूरा गर्नुपर्ने बताए । अन्यथा महाविपत्तिको बेलामा त्यस्ता भवनहरु धराप बन्न सक्नेतर्फ खनालले सचेत गराए ।

कार्यक्रममा प्रेस स्वतन्त्रता सेनानी एवं स्तम्भकार अर्जुन ज्ञवाली, अर्का वरिष्ठ पत्रकार मदनलाल पौडेल, लेखक तथा विश्लेषक मनिकर कार्की लगायतले पुस्तकको बारेमा चर्चा गरेका थिए । कार्यक्रममा पुस्तकका लेखक पन्थीले पुस्तकको बारेमा प्रकाश पार्दै हरेक प्रकारका विपत्तिको सामना गर्दा आशा र परस्पर सहयोग महत्वपूर्ण हुने बताए । कार्यक्रमको सहजीकरण संचारकर्मी भवानीप्रसाद पाण्डेले गरेका थिए ।

कार्यक्रममा पुस्तकका बारेमा तथा महाभुकम्पपछि नेपालको पर्यटनसहित विभिन्न क्षेत्रमा परेको असरका बारेमा छलफल भएको थियो । एक दशक देखि अमेरिकामा बसेर पत्रकारिता गर्दै आएका पत्रकार पन्थीले लेखेको पुस्तकमा भुकम्पका बेला भोग्नु परेका पीडा देखि विभिन्न पक्ष समेटिएको छ ।

महाभूकम्पपछिको आर्तनाद र आशामा आधारित रहेर लेखिएको पुस्तकमा महाभूकम्पमा वियोग र वेदना भोग्नेहरुका वास्तविक कथाहरु, मृत्युको मुखबाट बाँच्नेहरुको बयान, रेस्क्यु अपरेशनमा खट्ने सेना, प्रहरी लगायतको अनुभव, भूकम्पपछि घाइते हुनेहरुको उपचारमा संलग्न डाक्टरहरुको अनुभव, देशविदेशबाट राहत लिएर आउनेहरुको भोगाई र अप्ठ्यारो अवस्थामा समेत संचारकर्ममा सकृय पत्रकारका कथाहरु समेटिएको छ ।

पुस्तक २५२ पृष्ठको रहेको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com