Follow @khasokhasmag

डा. केशव पौडेल : नेपालको टिचिङ हस्पिटलदेखि अमेरिकामा ‘हेल्थ केयर हिरो’


प्रकाशित मिति : श्रावण २५, २०७६ शनिबार

-विष्णुप्रसाद पौडेल 

स्कुलकै फुच्चे केटो । तर पढाइमा अब्बल । जो कोहीसँग पनि निर्धक्क बोलिहाल्ने स्वभाव । गणितको हिसाबकिताबमा रुचि । अंग्रेजी ग्रामर पनि उस्तै मनपर्ने । झन् कसैले च्यालेन्ज ग¥यो भने त्यो फेस गर्न मन लागिहाल्ने । स्कुलमा प्रतियोगिता भयो कि भाग लिइहाल्ने । फस्ट भइहाल्ने । सधैं फस्ट भएर अरुले चान्स नपाएपछि १० कक्षा पढदाताका सरहरुले एक दिन त्यो फुच्चेलाई भने, ‘बाबु तैंले प्रतियोगितामा भाग नलेल बरु कार्यक्रम सञ्चालन गर ।’

उनले त्यसै गरे । रेडक्रसमा पनि लागेका थिए । जुनियर रेडक्रस सर्कलको ३ पटक नेतृत्व गरे, अध्यक्ष भए । उनको नेतृत्वकालमा स्कुल जिल्लाभरिमै उत्कृष्ट भयो रेडक्रसमा । जापान जाने अवसर आयो तर गएनन् । पढाइमा सेकेन्ड भएनन्, सधैं फस्ट । तै पनि आफ्नै बाबाचाहिँ अरु नजान्ने भएर छोरो जान्नेजस्तो देखिएको भनेर जिस्काइरहन्थे । एसएलसी गरेपछि त गाउँमा बाबाले भनेजस्ता थोरैसँग मात्रै कम्पिटिसन भएन देशैभरिकासँग प्रतिस्पर्धा गर्नुपर्यो । प्रतिस्पर्धा गरे त्रिचन्द्र क्याम्पसमा विज्ञान पढ्ने गरी नाम निकाले । त्योभन्दा कठिनचाहिँ डाक्टरी पढ्न नाम निकाल्न हुन्थ्यो ।

एमबिबिएसको प्रवेश परीक्षा हाडे ओखर हुन्छ भनेरै मेहेनत गरे । नाम निस्कियो । तर उनैलाई पत्यार लागेन । भन्छन्, ‘आफ्नै नाम निस्केको पनि ३ चोटि हेर्न गएँ । पहिला नाम हेरें फेर्किएँ । होइन होला भनेर फेरि दोस्रोचोटि गएर नाम ठेगाना दुवै हेरें र फर्किएँ । फेरि तेस्रोचोटि पनि गएर नाम, ठेगाना र सिरियल नम्बर पनि देखेपछि हो रैछ भन्ने भयो ।’

महाराजगन्जमा एमबिबिएस पढ्दा पनि साथीभाइको नेतृत्व गरे । संगठनहरुमा सक्रिय भए । त्यही बेला एमबिबिएस गरिसकेपछि पनि जाँच दिएरमात्रै डाक्टरको लाइसेन्स लिनुपर्ने नयाँ नियम आयो । अरु विद्यार्थीले त्यसको विरोध गरे । फोरम फर टेक्निकल स्टुडेन्ट को अध्यक्ष र नेविसंघको केन्द्रीय सदस्य भइसकेका थिए । आन्दोलनको नेतृत्व गर्न उनलाई उकासे । उनले चाहिँ लाइसेन्स लिने नियमको स्वागत गरे । अरुले उकासेर उकासिएनन् ।

डाक्टरको लाइसेन्स लिएर टिचिङ हस्पिटलमै काम गर्न थाले । डाक्टर भइसकेपछि नै सन् २००३ मा बिहे गरे । दुवैको सल्लाह मिल्यो । अनि अमेरिका आए । सधैं फस्ट, सधैं फस्ट हुँदै आएको विद्यार्थी, जो पछि डक्टर भयो र काठमाडौंमा सेवा गर्दै थियो ।

परिस्थितिले उ अमेरिका हानियो, जो अहिले यहाँ अमेरिकामा पनि उत्तिकै नेतृत्वदायी भूमिकामा सक्रिय छ । सामाजिक क्रियाकलापमा क्रियाशील छ । राजनीतिक चेतनासहित नेपालका गतिविधिमा चासो राखिरहन्छ । हो उनी केशव पौडेल हुन् ।

सन् २००५ को जुलाईदेखि उनी यता छन् । श्रीमतीको विश्वविद्यालयमा न्युमेक्सिोमा र केशवको चाहिँ सिकागोमा जाँच थियो । श्रीमतीका मामाचाहिँ सियाटल बस्ने । सिकागोमा जाँच सकेरमात्रै श्रीमान्श्रीमती न्युमेक्सिकोमा जुटे । विश्वविद्यालय खोज्नेक्रममा न्युयोर्क आइपुगे । श्रीमती पनि पढाइसकेदेखि न्युयोर्क नै आइन् । सन् २०१० सम्म न्युयोर्कमा भयो उनीहरुको बसाइ । ‘न्युयोर्कमा धेरै ट्राफिक जाम र धेरै अप्ठेरो लागेर अपस्टेट गयौं सजिलो खोज्नलाई,’ उनी भन्छन्, ‘अनि सन् २०१४ तिर फेरि घुम्दै फिर्दै रुम्जाटार भनेजस्तो न्युमेक्सिको आइयो ।’

गैरआवासीय नेपाली महासंघमा खगेन्द्र जिसी अमेरिका अध्यक्ष हुदा केशव सल्लाहकार थिए । पछि चाहिँ उनी अध्यक्ष भए ।

सोसाइटी अफ हस्पिटल मेडिसिनमा ३५ हजार डक्टर छन् । सोसाइटीको न्युमेक्सिको च्याप्टर अध्यक्ष भए केशव । जता गयो उतै नेतृत्व । अमेरिकन कलेज अफ फिजिसियनमा पनि न्युयोर्क छँदै आवद्ध थिए । उक्त संस्थाले भोलेन्टेरिज्म एन्ड कम्युनिटी सर्भिस अवार्ड पनि केशवलाई सन् २०१५ मा दिएको थियो । सोसाइटी अफ हस्पिटल मेडिसिनले सबैभन्दा राम्रो काम गरेको फिजिसियन भनेर एक्सिलेन्ट अवार्ड सन् २०१६ मा सुम्पियो ।

हेल्थ केयर हिरो उनले पाएको अर्को उपाधि हो । ‘लभलेस हेल्थ सिस्टस’, जहाँ उनले सन् २०१४ बाट काम गरेका थिए, त्यसले हेल्थ केयर हिरोको अवार्ड २०१७ मा दिएको थियो । कुनै निर्णायकले भन्दा पनि बिरामी लगायत अरु स्टाफको सिफारिसबाट उनले त्यो अवार्ड पाएका थिए ।

त्यसो त २००३ मा टिचिङ हस्पिटल काठमाडौंमै उनलाई बेस्ट मेडिकल अफिसर अवार्ड प्राप्त भएको थियो । केशव अहिले लभलेस हेल्थ सिस्टममा निर्देशक छन् । उनको नेतृत्व क्षमताको पारख पनि धेरैतिर भइसक्यो । उनलाई प्राप्त मेरिल्यान्ड ककस अफ एसियन अमेरिका एन्ड प्यासिफिक आइसल्यान्ड आउटस्ट्यान्डिङ लिडरसिप अवार्ड २०१९ त्यसको एउटा उपज हो ।

त्यसो त सन् २०१२ मै उनलाई युनाइटेड हेल्थ सर्भिस हस्पिटल बिङ्घमटन न्युयोर्कबाट लिटरसिप अवार्ड प्राप्त भइसकेको थियो । डाक्टर हुने केशवको सपना थिएन । परिवारको सपना पनि थिएन । बाबा शिक्षक भएको हुँदा उनी भन्थे, ‘तँ प्रोफेसर हुनुपर्छ ।’ अरुले भन्थे, ‘होइन गाउँबाट प्रोफेसर पनि भएका छन्, इन्जिनियर पनि भएका छन्, डक्टर भएका छैनन्, तँ डक्टर हुनुपर्छ ।’ केशवलाई डक्टरै हुन्छु भन्ने कन्फिडेन्स त्यो बेला थिएन । तर मनमनले चाहिँ प्रयास गर्छु भन्ठानेकै थिए । नभन्दै मेहेनतले डक्टर बनायो पनि ।

तनहुँको व्यास नगरपालिका वडा नम्बर ९ जहाँ केशव जन्मिए । अहिले नगरपालिका भएको त्यो ठाउँ पहिला गाविस थियो—सतिस्वाँरा गाविस । त्यही सतिस्वाँराको सिस्नेरी गाउँ हो केशवको । कलेस्ती नामले परिचित छ त्यो ठाउँ, कलेस्ती ठूलो इलाका हो, सिस्नेरीचाहिँ सानो गाउँ । धनकी देवी लक्ष्मीको नाममा गाउँमै स्कुल थियो—लक्ष्मी प्राथमिक विद्यालय, जहाँ केशवले भने विद्याकी देवी सरस्वतीसँग साक्षात्कार गरे । अक्षरहरु छिचोले, शब्दहरु पर्गेले ।

कलेस्ती खोलाको नामबाट ठाउँ परिचित छ । जुन खोला मादी नदीमा गएर मिसिन्छ । जसरी कलेस्ती मादी नदीतिर बग्दै जान्छ, त्यसै गरी घरछेउको विद्यालयबाट थोरै पल्तिर मादी नदीको नामबाट चलेको विद्यालयमा केशव पुग्छन् ४ कक्षा पढ्न ।

मादीलाई संस्कृत भाषामा माहेन्द्री भनिँदो रहेछ भन्नेचाहिँ केशवले त्यही स्कुल पुगेर पत्तो पाए । बाबा बालचन्द्र पौडेलले त्यही स्कुलमा पढाउँथे । छोरालाई पनि त्यतै लगे, अचेलजस्तो आफूले सामुदायिक विद्यालयमा पढाउने र छोराछोरी निजी बोर्डिङ स्कुल पठाउने जमाना कहाँ थियो र जसै वरिपरिका डाँडाकाँडाबाट भलपानी बग्दै कलेस्तीमा मिसिन आउँथे उसै गरी केटाकेटीहरु पनि पढ्न कलेस्तीतिर ओरालो झर्थे ।

केशवले एसएलसी माहेन्द्री माविबाटै गरे । उनी पढाइमा दोस्रो भएनन् । तर बाबा भन्थे, ‘अरु कोही छैनन्, लाटो देशमा ………तन्नेरी भाछ, फस्ट हुन्छ सधैं ।’ एउटा दुर्योग के प¥यो भने उनले एसएलसी दिनेवेलामा आमानै गुमाए । भन्छन्, ‘त्यो बेला के भएको भन्ने खास थाहा थिएन, तर अल्सर भएको भन्ने पछि थाहा पाइयो ।’

भारत भेल्लोर सम्म पु¥याउँदा पनि आमाको रोग सञ्चो भएन । पछि आफैं डक्टर भएका केशवलाई आमा बिरामी पर्दा र निको नहुँदासम्म पनि डाक्टर बन्छु भन्ने आत्मविश्वास थिएन । कल्पना पनि थिएन ।

डक्टर बनेको सपना पनि देखेका थिएनन् । सन् १९९० ताका हो केशवले एसएलसी दिएको । एसएलसी दिएपछि काठमाडौं हानिए । त्रिचन्द्र क्याम्पसमा भर्ना भए । सँगसँगै नरदेवी क्याम्पसमा पनि भर्ना भए । त्रिचन्द्रमा विज्ञानतिर भर्ना भएका थिए । त्यसको केही समयपछि नरदेवी गएका थिए । ‘जताबाट भए पनि डाक्टर हुनुप¥यो भन्ने थियो, गाउँमा सबैले हाम्रो गाउँमा डाक्टर कोही छैन, हुनुप¥यो भन्थे,’ केशव सम्झन्छन्, ‘निकै मेहनत गरेर एमबिबिएसमा नाम निकालें ।’

नेपालमा डक्टरको मानमनितो उत्पातै हुने । विश्वभरि नै त्यस्तै होला भन्ने थियो केशवलाई । जब अमेरिका आए त्यस्तो रहेनछ भन्ने भेउ पाए । ‘३ वर्ष नेपालमै काम गरेको थिएँ, अमेरिकामा आएका साथीहरुलाई सोध्दा पनि राम्रै छ भन्थे,’ केशव सम्झन्छन्, ‘तर होइन रहेछ, न सोसल एक्टिभिटिज छ न लाइफ छ, यस्तो थाहा पाएको भए आउन्नथें भनें ।’ उनलाई आकाश जमिनको फरक लाग्यो ।

सामाजिक स्वभावका केशव तर अमेरिका त इन्डिभ्युलस्टिक सोसाइटी । ३ वर्ष एमडी पढेर फर्किन्छु भन्ने सोच्थे । भन्छन्, ‘अमेरिका आउने बाटो फराकिलो छ, तर फर्किने बाटोचाहिँ एकदमै साँघुरो ।’

त्यो किन भने अवसरहरु प्रशस्त भएकाले अमेरिका आउन सजिलो छ र तिनै अवसरहरु भएकैले फर्किन कठिन छ भन्ने केशवको बुझाइ हो । भौतिकरुपमा रुपमा जती नै खुशी भएपनी अमेरिकामा साँस्क्ृतीक, आध्यत्मिक , समाजिक लगायत अन्य कुरा नहुँदा खासै खुशीका लहर छचलकिन पाँउदैन । हुन पनि अमेरिका आएकाहरु कोही व्यक्तिगत कारण फर्किन चाहन्न । कोही परिवारका कारण फर्किन चाहन्न । कोही केटाकेटीका कारण फर्किन चाहन्न । कोही अवसरका कारण फर्किन चाहन्न ।

केशव पनि यिनैयिनै कारणहरुको घेराउमा पर्न किन बाँकी रहन्थे । रहेनन् । व्यथा उस्तै छन् । कथा उस्तै छन् । सबैले जस्तै उनी पनि भन्छन्, ‘अमेरिका बस्दा पनि खुसी त छैन तर पनि फर्किन पाएको छैन ।’

फर्केर पनि के गर्नु रु यो प्रश्नको उत्तर भेट्न मुस्किल छ ।

कसरी आयो थाहा छैन उनैलाई तर अरुलाई सहयोग गर्नुपर्छ भन्ने भावना सानैदेखि आयो । रेडक्रसमा हुँदा सामाजिक भावना हुने भइहाल्यो । रेडक्रसका शिक्षक भन्थे, ‘आफूलाई खान पुगेपछि अरुलाई सहयोग गरेको राम्रो ।’

हुन पनि अरुका लागि केही गर्न सके भित्रैदेखि आनन्दित हुन्छन् उनी । नसक्ने त केही हुन्न जिन्दगीमा भन्ठान्थे तर पनि पढाईमा र अरु क्रियाकलापमा बढ्ता समय दिन रुची हुदा खेलकुदमा रुचि हुदा हुदै पनि समय दिन सकेनन त्यसैले पनि उनले खेल गतिविधिमा त्यती लागेनन् ।

अरुभन्दा फरक देखिने मनचाहिँ भइरहने स्वभावैले पनि विभिन्न गतिविधिमा लाग्ने र आफूलाई अब्बल सिद्ध गर्ने कोसिस गरिरहे । असफलता कमै ब्यहोरे । भन्छन्, ‘पहिला आफ्नो घर हेर्नुप¥यो, त्यसपछि आफ्नो घर दॉया बायॉका छिनेकीलाई हेर्नुप¥यो, हेल्पै गर्नु पर्दा पनि अरुले भन्दा धेरै हेल्प गर्न पाए हुन्थ्यो भन्ने लाग्छ ।’

पहिला आफ्नो घर हेर्नुप¥यो, त्यसपछि आफ्नो घर दॉया बायॉका छिमेकी लाई हेर्नुप¥यो, हेल्पै गर्नु पर्दा पनि अरुले भन्दा धेरै हेल्प गर्न पाए हुन्थ्यो भन्ने लाग्छ ।’

एकजनाले एकजनालाई सहयोग गर्नुभन्दा संस्थामा लागेर एकै चोटी धेरैलाई सहयोग गर्न सकिन्छ भन्ने भावनाले नै संस्थाहरुमा लागेको केशव बताउँछन् । भन्छन्, ‘डक्टरमात्रै हुँदा एकजना बिरामीलाई हेर्न सकियो भने हस्पिटलको डाइरेक्टर भएपछि धेरै डक्टरलाई परिचालित गरेर थुप्रै बिरामी हेर्न सकियो जस्तो लाग्छ ।’

संस्थामा लाग्ने रुचि त थियो तर अमेरिका आउनसाथ भने लागेनन् । अमेरिका आइसकेपछि चिनेजानेका साथीहरुले संस्था खोल्न भनेका थिए । तर पढाइमै ध्यान लगाए । काममा ध्यान लगाए । आफूलाई स्टाबलिस गर्नपट्टि लागे । जब पढाइ सकियो, काममा पनि राम्रो अनुभव हाँसिल गरे र सेटल भएको अनुभूति गरे अनि एउटा मञ्चको खोजी गरे ।

त्यसपछि लाग्यो नेपालसँग जोडिने पनि र अराजनीतिक पनि हुने भन्ने ठानेर एनआरएनतिर लागे । २ कार्यकाल एनआरएन अमेरिकाको अध्यक्ष भए ।  आफूले गरेको कामबाट सन्तुष्ट छन् उनी ।

डा पौडेल भन्छन् “म कुनै असाधारण ब्यक्ति कदापी होइन तर म मा कुनै पनि काममा लागेपछि मेहनत गर्ने बानी सगै लगाब भएका कारण पनि म हरेक कुरामा सफल भएर नै छाडेको छु ।”

नेपालयमा प्रकाशित रिपोर्ट सामान्य सम्पादनसहित प्रकाशित गरिएको छ ।

© 2022 KHASOKHAS®. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com