नेपालीबिरुद्ध अमेरिकामा राष्ट्रिय सुरक्षामा खतरा र आतंकवादको मुद्दा (एक्सक्लुसिभ)


प्रकाशित मिति : असार ६, २०७६ शुक्रबार

अमेरिकामा नेपालीबिरुद्ध राष्ट्रिय सुरक्षामा खलबल र आतंकबादसम्बन्धि मुद्दा दायर गरेर देशनिकालाको प्रकृयामा हालिएको खुलासा भएको छ । अध्यागमन अदालतमा देशनिकालाका लागि दायर गरिएका मुद्दाको रेकर्ड अनुशार आर्थिक बर्ष २०१९ मा एकजना नेपालीबिरुद्ध राष्ट्रिय सुरक्षामा खलबल र आतंकवादको मुद्दा दायर गरिएको छ ।

यसरी मुद्दा दायर गरिएका नेपाली को हुन् भन्ने विषय भने सार्वजनिक गरिएको छैन । तर मुद्दा भने क्यालिफोर्नियाको सान फ्रान्सिस्कोमा रहेको अदालतमा दायर गरिएको खुलासा भएको छ ।

एक्ज्युकेटिभ अफिस फर इमिग्रेशन रिभ्युका अनुशार यस अगाडि सन् २००३ र सन् २००८ मा पनि एकएकजना नेपालीहरुलाई राष्ट्रिय सुरक्षामा खतरा र आतंकबादसँग सम्बन्धित मुद्दामा देशनिकालाको प्रकृया अगाडि बढाइएको थियो । सन् २००३ मा मिनेसोटाको ब्लुमिंगटनमा र सन् २००८ मा केन्टकीको लुईभिलमा नेपालीबिरुद्ध यस्तो अभियोगमा देशनिकालाको मुद्दा दायर गरिएको थियो ।

 

सन् १९९२ देखि अहिलेसम्मकै इतिहास हेर्दा अमेरिकामा तीनजना नेपालीबिरुद्ध राष्ट्रिय सुरक्षामा खतरा र आतंकबादसँग सम्बन्धित मुद्दामा देशनिकालाको प्रकृया अगाडि बढाइएको छ । सन् २००८ देखि यस्तो मुद्दा नपरेको भएपनि ११ बर्षपछि नेपालीबिरुद्ध राष्ट्रिय सुरक्षामा खतरा र आतंकबादसँग सम्बन्धित मुद्दा दायर गरिएको छ ।

अमेरिकामा राष्ट्रिय सुरक्षामा खतरा र आतंकवादसम्बन्धि मुद्दालाई निकै गम्भिरतापूर्वक लिने गरिन्छ । आर्थिक बर्ष २०१९ को अहिलेसम्म त्यस्ता मुद्दामा विश्वका १७ देशका ३४ जनाबिरुद्ध देशनिकालाको प्रकृया अगाडि बढाइएको छ । जसमा सबैभन्दा धेरै मेक्सिकोका १२ जना, भेनेजुएलाका ४ जना, ग्वाटेमाला, इराक र क्वुबाका दुई दुईजना र अन्य देशका एकएकजना रहेका छन् ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com