अमेरिकामा रहेका नेपालीबारेका नक्कली समाचारप्रति आक्रोश


प्रकाशित मिति : माघ २४, २०७३ सोमबार

कतिपय अनलाइनहरुले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको कार्यकारी आदेशपछि नेपालीलाई नेपाल फिर्ताजान भनेको, स्थायी रुपमा बसोबास गरिरहेका नेपालीहरुलाई पनि अप्ठ्यारो अवस्था आएको, कागजपत्रबिहिन नेपालीलाई एकसाथ डिपोर्ट गर्ने जस्ता समाचारहरु प्रकाशन गरेकोप्रति अमेरिकामा रहेका कैयन नेपालीहरुले आक्रोश व्यक्त गरेका छन् । राष्ट्रपति डोनाल्ड ट्रम्पको कार्यक्रम नेपालीलाई मात्र लक्ष्यित नभएपनि नेपालीलाईमात्र लक्ष्यित गरेर ट्रम्पका कार्यकारी आदेशहरु आएको र नेपालीलाई लक्ष्यित गरेर ट्रम्पले अभिव्यक्ति दिएको भन्दै सम्प्रेषित गलत समाचारहरुप्रति अमेरिकामा रहेका नेपालीहरु आक्रोशित भएका हुन् ।

राष्ट्रपति ट्रम्पको कार्यकारी आदेश वा अभिव्यक्ति नेपालीमात्र लक्ष्यित नभएको तर समग्रमा विश्वभरका कागजपत्रबिहिन आप्रवासीहरु प्रभावित हुँदा अल्पसंख्यक आप्रवासीका रुपमा रहेका कागजपत्रबिहिन नेपालीहरुपनि प्रभावित हुने स्पष्ट भएपनि मास डिपोर्टेशनको हल्ला चलाएकोमा मिडियाप्रतिको आक्रोश सामाजिक सञ्जालहरुमा व्यक्त भइरहेको छ । ट्रम्पको नीतिले अमेरिकामा अपराधमा संलग्न र सिमाक्षेत्रबाट गैरकानुनी रुपमा अमेरिका छिर्ने क्रममा समातिएकाहरुलाई पनि डिपोर्टेशनको प्रकृयामा प्राथमिकतामा राख्ने कानुनविदहरुको भनाई छ । तर कानुनी प्रकृया अनुशार अगाडि बढ्नुपर्ने भएकाले मास डिपोर्टेशन सम्भव नभएको र ट्रम्प आफैले मास डिपोर्टेशनको कुरा नगरेको कानुनविदहरुको विश्लेषण छ । अमेरिकामा कागजपत्रको प्रकृयामा रहेका, ग्रिनकार्ड भएका, वैध भिसामा रहेका वा कुनै अपराधमा संलग्न नभएकाहरुलाई ट्रम्पको नीतिबाट खास असर नपर्ने स्पष्ट छ । अमेरिकामा झण्डै १० हजार नेपालीहरुलाई टीपीएसमार्फत पनि संरक्षित छन् ।

न्युयोर्क निवासी एक विद्यार्थी आफ्नो फेसबुकवालमा लेख्छन् – ‘मलाई नेपालबाट साथीहरु र आफन्तले अमेरिकामा रहेका सबै आप्रवासी नेपालीहरुले अमेरिका छाड्नुपर्ने हल्ला के हो भन्दै सोधिरहेका छन् । अहिले केही व्यक्तिलाई अमेरिकाबाहिर तत्कालका लागि यात्रा नगर्न सुझाव दिइएको छ । तर अहिलेसम्म कुनै पनि नेपालीलाई दुख दिइएको छैन । कसैलाई पनि घरवेटीले घरमा नेपाल फर्क भनेर सुचना टाँसेका छैनन् । ट्रम्पका कारण ग्रिनकार्ड भएका नेपालीहरु कोही पनि डिपोर्ट भएका छैनन् ।’

कतिपय अनलाइनहरुले अमेरिकामा रहेका नेपालीका नेपालमा रहेका आफन्तहरुमाझ अन्यौलको अवस्था सृजना गरेकोमा उनीहरुले आक्रोश व्यक्त गरेका छन् । ट्रम्पको कार्यकारी आदेशपछि अहिलेसम्म ग्रिनकार्ड भएका विश्वभरकै दुईजनालाईमात्र विमानस्थलबाट फिर्ता पठाइएको छ । उनीहरुमध्ये एकजना अपराधमा संलग्न व्यक्ति थिए भने अर्का एकजनाले क्यानडा फर्कने भन्दै आफैले ग्रिनकार्ड रद्द गरेका थिए । तर उनीहरु नेपालीहरु भने होइनन् ।

अहिलेसम्मको अवस्थामा ट्रम्पको कार्यकारी आदेशपछि अपराधमा संलग्न भएको अवस्थामा बाहेक विश्वको कुनै पनि देशको पासपोर्ट बोक्ने ग्रिनकार्ड भएको व्यक्तिलाई अमेरिका बाहिर गएर आउनमा रोक लगाइएको छैन । त्यस्तै अपराधमा संलग्न नभएसम्म अमेरिकाभित्र रहेका कागजपत्रबिहिनहरुलाई पनि पक्राउ गर्ने र देशनिकाला गर्ने इमिग्रेशन एण्ड कस्टम इन्फोर्समेन्टको प्राथमिकतामा रहेको छैन ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com