चिट्ठा परेको भन्दै, ठगी गर्नेहरु पक्राउ


प्रकाशित मिति : जेष्ठ ३०, २०७६ बिहीबार

सामाजिक सञ्जाल इमो मार्फत ठगी गर्ने दुई जनालाई मोरङ प्रहरीले पक्राउ गरेको छ । गएको पुस १५ गते चिट्ठा परेको छ भनी ठगी गर्ने विराटनगर ११ का २३ वर्षीय निरज मरिक र धनपालथान गाप ६ का ३६ वर्षीय श्रवण मलाहलाई पक्राउ गरेको हो ।

उनीहरुले इमोमा २५ लाखको चिठा परेको भनेर इलामको माइनगरपालिका ८ का पाँसाङ शेर्पासँग पटक पटक गरेर १ लाख २० हजार ठगी गरेको गरेको मोरङ प्रहरीले जनाएको छ ।

प्रहरीकाे अनुसार शेर्पालाई एक अपरिचित व्यक्तिले इमो मार्फत म्यासेज पठाएर तपाइँलाई २५ लाख रुपैयाँ चिट्ठा परेको छ भनी फोन गरे । तर उनलाई त्याे रकम लिनको लागि ४५ हजार रुपैयाँ जम्मा गर्नु पर्ने शर्त राखियाे ।

त्यस बापत लाग्ने रकम पासाङको ग्लोबल आईएमइ बैंकको खातामा पठाइ दिनु भनेपछि शेर्पाले रकम पठाइ दिए । ती अपरिचित व्यक्तिले करिब एक घण्टापछि फेरि फोन गरेर कम्प्युटरमा लक लागेको छ, अरु ७५ हजार पठाइदिन भनेपछि शेर्पाले त्यो रकम पनि पठाइदिए ।

उनले एकैदिन माग गरिए अनुसारको एकलाख २० हजार रुपैयाँ पठाएपछि चिट्ठा पर्‍याे भन्ने व्यक्ति सम्पर्कविहीन भए । त्यसपछि शेर्पाले जिल्ला प्रहरी कार्यालयमा उजुरी दर्ता गरे ।

शेर्पाले दिएको उजुरीका आधारमा प्रहरीले विराटनगर महानगरपालिका ११ बस्ने वर्ष २३ को निरज मरिकलाई पक्राउ गर्यो । बुधवार पक्राउ परेका मरिकसँगको प्रारम्भिक अनुसन्धानको क्रममा मरिकको नाममा रहेको खाता नम्बरमा रकम पठाउन लगाउने व्यक्ति मोरङकै धनपालथान गाउँपालिका-६ बस्ने ३६ वर्षीय श्रवण मलहालाई बिहीबार नै पक्राउ गर्यो ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com