नोबेल शान्ति पुरस्कार विजेता भागेर पुगिन् नर्वे, तर छोरीले थापिन् पुरस्कार


प्रकाशित मिति : मंसिर २४, २०८२ बुधबार

फोटो: एपी/रासस

नोबेल शान्ति पुरस्कार विजेता भेनेजुएलाकी चर्चित विपक्षी नेतृ मारिया कोरिना माचाडो भागेर नर्वे पुगेकी छिन्। उनी डुङ्गामार्फत भेनेजुएलाबाट भागेर गोप्य रूपमा राजधानी ओस्लो पुगेकी हुन्।

गत ११ महिनादेखि काराकासमा लुकिरहेकी माचाडो बुधबार मध्यराति ओस्लोको प्रसिद्ध ग्रान्ड होटलको बाल्कोनीमा देखा परेकी बताइएको छ।

होटलको बाहिर जम्मा भएका दर्जनौँ समर्थकहरूले माचाडोलाई “साहसी” र “स्वतन्त्रता” को प्रतीक भन्दै चिच्याएर समर्थन जनाएका थिए।

यो माचाडोको लगभग एक वर्षपछि पहिलो सार्वजनिक उपस्थिति थियो। भेनेजुएलाका शासक निकोलस मदुरोले २०२४ को जुलाईमा भएको राष्ट्रपतिको चुनाव धाँधली गरेर जितेपछि उनीमाथि दमन बढाएपछि माचाडो लुक्न बाध्य भएकी थिइन्।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

बाल्कोनीमा देखिएपछि केही मिनेटमै ५८ वर्षीया माचाडो सडकमा झरिन् र धातुको बार चढेर आफ्ना समर्थकहरूलाई अङ्गालो हालेकी थिइन्।

माचाडो समयमै नर्वे पुग्न नसक्दा, ३४ वर्षीया छोरी आना कोरिना सोसा माचाडोले आमाको तर्फबाट नोबेल शान्ति पुरस्कार ग्रहण गरेकी थिइन्।

नर्वेजियन नोबेल समितिका अध्यक्ष जोर्गेन वाटने फ्रिडनेसले मदुरोलाई पद त्याग्न आग्रह गरेका थिए। किनकि गत वर्षको चुनावमा उनी माचाडो समर्थित उम्मेदवार एडमुन्डो गोन्जालेजसँग हारेका थिए।

राजनीतिक कारणले स्वदेशबाट पुरस्कार ग्रहण गर्न नसकेका अन्य नोबेल विजेताहरू (चिनियाँ असन्तुष्ट लियु शियाओबो, म्यानमारकी आङ सान सु ची, र पोल्याण्डका लेक वालेसा) को सूचीमा अब माचाडो पनि थपिएकी छिन्।

माचाडोले क्यारेबियन टापु कुरासाओतर्फ गोप्य रूपमा डुङ्गा चलाउँदै देश छोड्ने प्रयास गर्दा खराब मौसमका कारण ढिलाइ भएको थियो।

मदुरो सरकारले भने माचाडोलाई नोबेल पुरस्कार दिइएकोप्रति आक्रोश व्यक्त गरेको छ। उपराष्ट्रपति डेल्सी रोड्रिगेजले नोबेल समारोहलाई “पूर्ण असफलता” भनेकी छिन्।

काराकासमा आयोजित र्‍यालीमा बोल्दासमेत, मदुरोले उनको शासन परिवर्तन गर्न सक्रिय भएको आरोप लगाउँदै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनलाई “अवैध र क्रूर हस्तक्षेप” अन्त्य गर्न चेतावनी दिएका थिए।

यदि ट्रम्प सफलतापूर्वक मदुरोलाई सत्ताच्युत गर्न सक्षम भए भने माचाडो भेनेजुएलाको नेतृत्व सम्हाल्ने सबभन्दा बलियो व्यक्तित्व मानिएकी छन्।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com