गार्सियालाई जेलबाट रिहा गर्न अदालतको आदेश,तत्काल डिपोर्टको सम्भावना टर्यो
प्रकाशित मिति : मंसिर २५, २०८२ बिहीबार
अमेरिकी अदालतले किल्मार अब्रेगो गार्सियालाई जेलबाट रिहा गर्न आदेश दिएको छ । गार्सियालाई कानुनविपरीत थुनामा राखिएको ठहर गर्दै न्यायाधीशले उनलाई रिहा गर्न आदेश दिएको उनका वकिलले बताएका छन् ।
अमेरिकी अदालतले सरकारसँग अब्रेगो गार्सियालाई तत्कालै देशनिकाला गर्न आवश्यक ‘रिमुभल अर्डर’ नभएको ठहर पनि गरेको छ । यो आदेशले उनलाई तत्काल डिपोर्ट (देशनिकाला) हुनबाट जोगाएको छ ।
अमेरिकी नागरिक महिलासँग विवाह गरेका उनी धेरै वर्षदेखि मेरिल्यान्डमा बसिरहेका छन् । उनी किशोरावस्थामा बिनाकागजात अमेरिकामा आएका थिए । गत मार्चमा उनी गल्तीवश पुनः एल साल्भाडोर पठाइएका थिए । पछि अमेरिकी प्रशासनले आपराधिक मुद्दा चलाउन उनलाई पुनः अमेरिकामा फर्काएको थियो ।
तर, अदालतको आदेश अन्तिम फैसला नहुने सम्भावना भने कायम रहेको छ । किनकि न्याय मन्त्रालयले यसलाई चुनौती दिने अपेक्षा गरिएको छ ।
उनका वकिलले गार्सिया इमिग्रेशन एन्ड कस्टम्स इनफोर्समेन्ट (आइस) को हिरासतबाट बाहिर रहेको बताएका छन् । अमेरिकी जिल्ला न्यायाधीश पाउला जिनिसको आदेशले गार्सियालाई आफ्नो परिवारसँग मेरिल्यान्ड फर्कन अस्थायी अनुमति दिएको छ ।
डिपार्टमेन्ट अफ होमल्यान्ड सेक्युरिटीका प्रवक्ताले भने यो आदेशको आलोचना गर्दै “ओबामाद्वारा नियुक्त न्यायाधीशले गरेको नाङ्गो न्यायिक सक्रियता” भनेर टिप्पणी गरेकी छिन् ।
यो मुद्दा ट्रम्प प्रशासनको आप्रवासन कडाइको केन्द्रबिन्दु बनेको थियो । विशेषतः मार्चमा २०१९ को अदालत आदेशले रोक लगाएको भए पनि गार्सियालाई एल साल्भाडोर डिपोर्ट गरिएको थियो ।
२०१९ मा उनलाई मेरिल्यान्डमा अन्य तीन पुरुषसँगै पक्राउ गरी संघीय आप्रवासन निकायले हिरासतमा राखेको थियो । त्यसबेला एक न्यायाधीशले उनी आफ्नै देशमा ग्याङबाट उत्पीडनको जोखिममा पर्ने भन्दै डिपोर्ट रोक्न आदेश दिएका थिए ।
तर, ट्रम्प प्रशासनले मार्चमा एल साल्भाडोरबाट सर्वोच्च अदालतको आदेशपछि जुनमा अमेरिकामा फर्काएर उनलाई मानव तस्करीको आरोपमा टेनेसीमा थुनामा राखिएको थियो । उनले सबै आरोपमा निर्दोष भएको दाबी गरेका छन् ।
टेनेसीबाट रिहा भएपछि पनि बाल्टिमोरमा रहेको अनिवार्य आप्रवासन बैठकमा बोलाइएपछि उनलाई फेरि निगरानीमा लिइएको थियो ।






